स्रष्टा अभिनन्दन एवम् विशेष कविगोष्ठी सम्पन्न
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सर्बेश्वरीमार्ग उपभोक्ता समाजको अगुवाईमा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुबेदीलाई अभिनन्दन गरियो।
सर्बेश्वारीमार्ग उपभोक्ता समाजका अध्यक्ष रामप्रसाद पाण्डेयको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यकारद्वयलाई अभिनन्दनपत्र समर्पण गरेका थिए । कार्यक्रममा महेश पौडेलले नेपाली कविताको सम्भावना र चुनौति विषयमा कार्यपत्र पेश गरेका थिएभने उक्त कार्यपत्रमाथि डा. गीता त्रिपाठीले टिप्पणी गरेकी थिईन।
बूढानीलकण्ठ नगरपालिकामा स्थायी रुपले बसोबास गर्ने कविहरु इन्द्रकुमार श्रेष्ठ सरित्, लक्ष्मी उप्रेती ,उद्धव खरेल, डा हरि शर्मा, सन्ध्या पहाडी, आर.एम डंगोल, ज्योति जंगल, उन्नति बोहोरा शिला, वियोगी बुढाथोकी, श्रीराम छेत्रीले कविता वाचन गरेका थिएभने अन्य जिल्लाबाट प्रतिनिधित्व गर्ने कविहरु विवश पोखरेल, केशव शिलवाल, मोमिला, प्रकाश समीर, द्वारिका कुइकेल, मात्रिका पोखरेलले पनि कविता वाचन गरेका थिए ।
प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कवि, लेखक एवम् साहित्यकारहरुलाई सम्मान समर्पण गर्न पाएकोमा खुसी व्यक्त गर्दै बूढानीलकण्ठ क्षेत्रमा राम्रा साहित्यकारहरु प्रशस्त मात्रामा भएकोमा प्रशंसा गर्दै सिर्जना ग्राम बनाएर साहित्य, कला र संस्कृतिको क्षेत्रमा केही अझै राम्रो काम गर्न सुझाव पनि दिए ।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलले आफ्नो मन्तब्य व्यक्त गर्ने क्रममा अब चाडै नै बूढानीलकण्ठमा कवि लेखकहरु शान्त वातावरणमा दुई चार दिन नै शान्त वातावरणमा बसेर आफ्नो सिर्जना गर्न सक्ने स्थलको निर्माणमा आफू लागिपरिसकेको बताए भने नौ नम्बर वडाका वडाध्यक्ष राजेन्द्र सापकोटाले पनि आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सन्दर्भमा कार्यक्रमका संयोजक लक्ष्मी उप्रेतीले प्रकाश पारेकी थिईन । कार्यक्रममा भागीरथी श्रेष्ठ, जलेश्र्वरी श्रेष्ठ, रंजुश्री पराजुली, कृष्णकुमार बोहोरा, ललिता दोषी , शान्ता नाराल , विष्णुबहादुर सिंह, रश्मि रिमाल आदिको उपस्थिति रहेको थियो । कविता वाचन गर्ने सम्पूर्ण कवि एवम् कवयित्रीहरुलाई र कार्यपत्र प्रस्तोता अनि टिप्पणीकारलाई कार्यक्रममा नगद सहित सम्मानपत्र समेत समर्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि, नौ नम्बर वडाका महिला सदस्य सुमित्रा पाण्डे त्रिपाठी र नौ नम्बर वडालाई उक्त कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन इन्द्रकुमार श्रेष्ठ सरित्ले गरेका थिए ।