Logo

के हो ग्रेटर नेपाल ? के छन् आधार ? (भिडियो सहित)


के हो ग्रेटर नेपाल ?

खासमा ‘ग्रेटर नेपाल’ अभियानलाई नेपालमा कसैले गम्भीरतापूर्वक लिएकै छैनन् । धेरैलाई यो एजेन्डा एउटा स्वैरकल्पना जस्तो मात्र लाग्छ । अहिले भएको भूभाग नै जोगाउन गाह्रो परिरहेको बेला गुमिसकेको भूभाग फिर्ता गर्ने कुरा असम्भव र असान्दर्भिक लाग्नु अस्वाभाविक पनि होइन । नेपाली मिडियामा यसलाई ‘चर्चायोग्य’ मानिने गरेको छैन । फणीन्द्र नेपाल पक्राउ परेको बाहेक उनीसँग सम्वन्धित समाचार मिडियामा विरलै आउँछन् ।

केही दिन अगाडि ग्रेटर नेपालका पक्षमा हस्ताक्षर अभियान सुरु गरिँदा भारतीय मिडियाले त्यसलाई कभर गरेका थिए । भारतको सरकारी सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले नेपालको सरकारी अखबार द राइजिङ नेपाललाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारलाई अन्य केही मिडियाले स्थान दिए । तर, नेपालकै मिडियामा भने फणीन्द्रले राष्ट्रसंघको मञ्चमा पुगेर बोल्दा पनि चर्चा खासै भएन । यो चर्चा सामाजिक सञ्जालमै सीमित भयो ।

बेलायतको अंग्रेज फौजले भारतलाई कब्जा गरेर आफ्नो उपनिवेश बनाएको थियो । नेपाललाई पनि उ भारतीय उपनिवेशमा गाभ्न चाहन्थ्यो । त्यसैले अंग्रेजले नेपालमाथि श्रृंखलावद्ध आक्रमण गर्‍यो । युद्ध टुंगोमा नपुगेपछि नेपाल–अंग्रेजबीच सम्झौता भयो, जसलाई सुगौली सन्धी भनेर चिनिन्छ । २ डिसेम्बर १८१५ मा भएको सुगौली सन्धीमार्फत नेपालले आफ्नो भूभागको एक चौथाई हिस्सा गुमाउनुपर्‍यो । उक्त भूभाग भारतीय उपनिवेशमा गाभिए ।

अंग्रेजले सन् १९४७ मा भारतीय उपनिवेश त्यागेर हिँड्दा पनि नेपाली भूभाग फर्काएन । त्यही ६० हजार बर्ग किलोमिटर भूभाग फिर्ता हुनुपर्ने अवधारणा नै ग्रेटर नेपाल रहेको फणीन्द्र बताउँछन् । यो भूभागमा पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म पर्छ ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई उनका उत्तराधिकारीले पूर्वमा टिष्टाभन्दा ७० किलोमिटर टाढा नगरकट्टा भन्ने स्थानसम्म पुर्‍याएका थिए भने पश्चिममा काँगडासम्म । तर, सुघौली सन्धीपछि नेपाल मेची–महाकालीको सीमामा खुम्चिन पुग्यो । पछि जंगबहादुरले लखनउको सिपाही विद्रोहलाई दवाउन सहयोग गरेवापत अंग्रेजबाट चारवटा जिल्ला (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याएको बाहेक सबै भूभाग अहिलेसम्म पनि भारतमै छन् ।

सुगौली सन्धीमा गुमाएको भूभाग फर्काउनका लागि नेपालले कहिल्यै बलियो दावी पेश गरेको देखिँदैन । नेपालमा जुन शासक आए पनि यो प्रयास भएन । अहिलेका राजनीतिककर्मीहरु त सुगौली सन्धीमा गुमेको जमीन फिर्ता गर्ने कुरा सुन्दा हाँस्छन् । आम जनतालाई पनि यो कुरा हास्यास्पद नै लाग्छ । देशको वर्तमान राजनीतिक नेतृत्वले भारतसित यो विषय उप्काउने अपेक्षा गर्नु आफैंमा मूर्खता हुन सक्छ । त्यही भएर ग्रेटर नेपाल यतिबेला फणीन्द्र नेपालको मनोवादमा सीमित हुन पुगेको छ ।

यद्यपि, नेपालले गुमाएका भूभाग नेपालले भारत र बेलायतसँग फिर्ता माग्न सक्ने तार्किक र प्रामाणिक आधारहरु रहेको फणीन्द्र नेपालको दाबी छ ।

के छन् आधार ?

ग्रेटर नेपालका अभियन्ता फणीन्द्रका अनुसार सुगौली सन्धीमा गुमेका मेचीदेखि टिष्टा र महाकालीदेखि सतलजसम्मको भूभाग नेपालले दावी गर्ने आधारहरु यसप्रकार छन् ः

१. नेपालसित लडाई गरेको अंग्रेज (बेलायत) ले हो । सुगौली सन्धी नेपाल र बेलायतबीच भएको थियो । सन्धीमार्फत हत्याएको नेपाली भूभाग बेलायतले भारतीय उपनिवेशमा गाभेको हो । बेलायतले भारतीय उपनिवेश उहिल्यै छाडिसक्यो । उपनिवेश नै खारेज भइसकेपछि सम्वन्धित भूभाग तत्–तत् देशले फिर्ता पाउनु सामान्य तर्कशास्त्रको कुरा हो । तर, बेलायतले नेपाललाई जमिन नफर्काई हिँड्यो ।

यदि एकपटक उपनिवेशमा गाभिएपछि झिक्न नमिल्ने कसैले भन्छ भने भारत र पाकिस्तानको उदाहरण हेर्नुपर्ने हुन्छ । पाकिस्तान भारतीय उपननिवेशकै अंग थियो । तर, अंग्रेजले भारत छोड्नुअघि पाकिस्तानलाई छुट्टै देशको मान्यता दियो । हुँदै नभएको देश खडा गरेर जान सक्ने बेलायतले नेपालको भूभाग नेपाललाई किन फिर्ता दिन सकेन ? यसको जवाफ बेलायतसित अहिले पनि खोज्न सकिन्छ ।

३. नेपालले गुमेको जमीन फिर्ता माग्ने सबैभन्दा ठूलो आधार भने १९५० को जुलाई १ मा भारतसँग भएको शान्ति तथा मैत्री सन्धी हो । यो सन्धीको धारा ८ मा प्रष्ट शब्दमा के लेखिएको छ भने ‘यो सन्धीले नेपाल र बेलायतबीच विगतमा भएका सबै सन्धी, सम्झौता एवम् समझदारी रद्द हुन्छन् ।’

यसको अर्थ सुगौली सन्धीलाई पनि १९५० को सन्धीले खारेज गरिदिएको छ । जून सुगौली सन्धीबाट नेपालले आफ्नो जमीन ब्रिटिशलाई सुम्पेको थियो, त्यही खारेज भएपछि जमीन स्वतः नेपालमा फिर्ता आउनुपथ्र्यो । यही सन्धिमा आप्mनो पक्षमा भएका धारा चैं भारतले उपभोग गरिरहने, आठौं धारा चैं लागू गर्न नपर्ने ? भनेर भारतसित सोध्न सकिन्छ ।

भारतका इतिहासकार श्रीमन नारायणले १९५० को सन्धीका विषयमा भनेका छन्, ‘यो भारतको ‘पोलिटकल ब्लन्डर’ हो । जुन दिन नेपालले यो आफ्नो भूमिमाथि दावी गर्छ त्यतिबेला भारतसित शक्ति प्रयोग बाहेक अरु विकल्प रहँदैन ।’

४. नेपाल र बेलायतबीच सन् १९५० को अक्टोबर ३० मा अर्को सन्धी भएको छ । जसको प्रस्तावनामै भनिएको छ, नेपालसित विगतमा भएका सबै सन्धीको औचित्य समाप्त भयो, त्यसैले नयाँ सन्धी गरिएको छ । यसको अर्थ बेलायतका तर्फबाट पनि सुगौली सन्धी खारेज भएको मान्नुपर्छ । नेपाल, भारत र बेलायत तीनै देशले सुगौली सन्धी खारेज भएको स्वीकारिसकेपछि त्यसअन्तरगत गुमेको जमिन फिर्ता लिने आधार त्यसै मजबुत हुनेभयो ।

५. संयुक्त राष्ट्रसंघले सन् १९६० मा ‘संसारभरका उपनिवेशहरु खारेज हुनुपर्छ’ भन्दै एक संकल्प प्रस्ताव पारित गरेको छ । त्यसका आधारमा पनि भारतीय उपनिवेशका रुपमा रहेको भूभाग नेपालले फिर्ता पाउनुपर्छ । भारत र नेपाल दुवै राष्ट्रसंघका सदस्य भएको नाताले उसको निर्णय पालना गर्नु दुवै देशको दायित्व हुन आउँछ ।

६. अन्तर्राष्ट्रिय दृष्टान्तका आधारमा पनि हामी आफ्नो भूमीमा दावी पेस गर्न सक्छौं । सबैभन्दा ताजा उदाहरण हो हङकङ । १८४२ मा बेलायत र चीनबीच सन्धी भएर हङकङ बेलायतमा गाभिएको थियो । उक्त सन्धीमा पनि ‘चीनको बादशाहले बेलायतकी महाराजालाई सदाका निम्ति यो जमिन छाड्छन्’ भनेर लेखिएको छ । तर, हङकङ त बेलायतमा फिर्ता भयो । यति मात्रै होइन, भारत आफैंले दुई सय वर्षदेखि पोर्चुगलको उपनिवेशका रुपमा रहेको गोवा फिर्ता लिएको छ । भने, बेलायती उपनिवेशमा गाभिएको नेपालको भूभाग किन फिर्ता दिँदैन । भारतसित हामीले प्रश्न सोध्न सक्छौं ।

ग्रेटर नेपालबाट के फाइदा ?

ग्रेटर नेपालको मुद्दाबाट नेपाललाई के फाइदा ? फणिन्द्र चार बुँदामा यसको जवाफ दिन्छन् ।

१. नेपालको भूगोल बढेर दुई लाख चार हजार ९ सय १७ वर्ग किलोमिटर पुग्नेछ । भूगोल र जनसंख्या दुवैका आधारमा विश्वका ठूला देशहरुको सूचीमा नेपाल माथि उक्लिनेछ । यसबाट विश्व रंगमञ्चमा हाम्रो प्रभाव बढ्न जान्छ ।

२. नेपालको पूर्वी सीमाना भुटान र बंगलादेशसित जोडिन्छ । टिस्टा नदी नेपालमा पर्छ । टिस्टा बगेर ब्रम्हपुत्रमा मिसिन्छ । ब्रम्हपुत्रबाट समुद्रसम्मको पहुँच हुन्छ । यसरी हाम्रो पारवहनको नयाँ रुट प्राप्त हुन्छ र हामी भारतीय दासता एवं बारम्बार हुने नाकाबन्दीको चक्रब्यूहबाट मुक्त हुन्छौं ।

३. नेपालको आर्थिक उन्नति तीव्र हुन्छ । दार्जीलिङ र सिक्किम पर्यटन र चियाका लागि प्रख्यात छन्, जुन नेपालको अर्थतन्त्रको हिस्सा बन्न सक्छ ।

४. भारतमा दोस्रो दर्जाको नागरिकका रुपमा पिल्सिएर बसेका नेपालीहरु आफ्नो वास्तविक घरमा फर्किनेछन् । उनीहरुको आत्मसम्मान फर्किनेछ । नेपाली रगत तर भारतीय राष्ट्रियताको चक्रब्यूबाट उनीहरु बाहिर निस्किन्छन् । आफूलाई छाती पिटेर नेपाली भन्न सक्नेछन् । दार्जीलिङको कला साहित्य नेपाली कला–साहित्यको मूलप्रवाहमा मिसिने छ । नेपाली कला साहित्य समृद्ध हुनेछ । देशको गुमेको आत्मविश्वास फर्किनेछ । आत्मसम्मान फर्किनेछ ।

को हुन् फणीन्द्र नेपाल ?

सुगौली सन्धीमा गुमेको भूमि फिर्ता लिने विषयमा नेपालमा आजसम्म कहिल्यै गम्भीर बहस भएको छैन । राजनीतिक मात्र नभएर बौद्धिक वृत्तमा पनि यसलाई असान्दर्भिक विषय ठानिन्छ । नेपाली मूलधारको राजनीतिमा चर्चाको विषय नै नरहेको ग्रेटर नेपालको एजेन्डालाई एक्लो वृहस्पतीझैं वर्षौंदेखि एक्लै बोकेर हिँडिरहेका पात्र हुन् फणीन्द्र नेपाल ।

पेशाले एक प्राध्यापक हुन् उनी । उनले दुई दशकभन्दा बढी समयदेखि एक सुरमा ग्रेटर नेपालको नारा अलापिरहेका छन् । उनले ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ नामको संगठन खोलेर अभियान सञ्चालन गर्दै आएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्