श्रीमान शर्माको अखण्ड यात्रा
– भूपाल राई
खण्ड खण्ड मासुहरुको एक आलम्ब हो
श्रीमान शर्माको कार्यकारी सरीर
तर ऊ सोँच्छ
बिलकुल अखण्ड छ उसको मांसल भूगोल
सोँच्छ – एउटै हो यो देशको भूगोल र उसको सकल शरीर
श्रीमानलाई गर्व छ
त्यो सनातन रङ्गको ऐनासङ्ग
जो भर्खरै मात्र कुँदिएको हो
संबिधानको मूल प्रस्तावनामा
जहाँ नउक्किनेगरि टाँस्सिएको छ
उसको नवराष्ट्रवादी अनुहार
र एकथान अखण्ड राष्ट्र
र , यतिखेर
त्यही राजकिय गर्वका साथ
हिमवत खण्डको सांस्कृतिक डाँडोबाट
ऊ निस्किएको छ अन्तरिक्ष यात्रामा
कि हेर्नू छ उसलाई
अन्तरिक्षबाट अखण्ड राष्ट्रको विहङ्गम तस्बिर
माथि , धेरै माथि
उचाइको सीमातित आकासबाट
दूरविन सोझ्याउँछ उँध्धो पृथ्वितिर
हावामा कुनै बालकले
फुकेर छाडेको बेलुन जस्तै
देख्छ एउटा अखण्ड पिण्ड
ऊ सोँच्छ – यहि हो उसको उन्मादको खेलौना
उसको नास्ताको लागि राखिएको अण्डाको रानी
जहाँ न कुनै जलेको कैलाली छ
न ढलेको मधेस
अब ऊ बिस्तारै झरिरहेछ
उचाइबाट केही तलतिर
बिस्तारै खण्डित हुँदै जान्छ दृश्य
देख्छ एक अंश पानीको नीलो फाँट
अर्को अंश जमिनको सतह
जहाँ न पारुहाङले ताछेको कुनै धनुकाण छ
न पेङदोर्जेको डम्फु
केही तल
देख्छ अखण्ड बेलुनको ठाउँमा
खण्ड खण्ड महासागर
खण्ड खण्ड महादेश
जहाँ कहिल्यै खोजेको छैन उसले
तरुनी साइमाको हराएको बुलाकी
मैचाको फाटेको हाकुपटासी
अझै तल
क्रमश टुक्रीदै जान्छन
महासागरहरु नदिमा
महादेशहरु देशमा
र , अन्तिममा
जब कैद हुन्छ दूरविनको लेन्सभित्र
उसको आफ्नै एक टुक्रा देश
फेरि ऊ सोँच्छ
यहि हो उसले हेर्न खोजिरहेको त्यो सनातन ऐना
जहाँ न एलम्बरले टेकेको पाइलाको छाप छ
न लखन थापाको भत्किएको चिहान
देशबाट सहर
शहरबाट धावनमार्ग
र त्यही धावनको सानो रेखामा
अवतरण गर्छ उसले आफ्नो अन्तरिक्षयान
र, त्यहिँबाट छुट्टिन्छ
फेरि उसको घरको बाटो
बाटो हुँदै बस्ति
बस्ति हुँदै टोल
टोल हुँदै घर
र घर हुँदै जब ऊ प्रवेष गर्छ आफ्नो कोठामा
फ्यात्त फ्यालेर घाँटिमा झुण्डिरहेको दूरविन
बिसाउँछ आफ्नो लामो यात्रा
आफ्नै निजि ओछ्यानमा
त्यसपछि ढल्किन्छ आफ्नै निजि सिरानिमा
अखण्ड यात्रामा निस्किएको श्रीमान शर्मा
यसरी खण्डित हुँदै फर्किन्छ आफ्नो गन्तव्यमा
पृथ्वी, हावा, पानी, घाम
यहाँसम्म कि उसको ओछ्यान, सिरानी
सबथोक खण्डित छ
तैपनी ऊ भन्छ – अखण्ड छ उसको राष्ट्र
किनभने ऊ सोँच्छ
एउटै हो देशको भूगोल र उसको कार्यकारी शरीर
अखण्डवाद
त्यसैले एउटा रोगी बिचार हो
पदार्थको नियमभन्दा ठिक विपरित
ज्ञानको दुनियाँमा
बिलकुल विज्ञानविरोधी ज्ञान हो ।।