पूर्व एमाले नेता-कार्यकर्ताद्धारा बहिष्कार पूर्व माओवादीको मात्र भो कार्यक्रम
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेको एक बर्ष पूरा भैसकेको छ। पार्टी एकीकरण पछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भए पनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीलाई बनाइएको छ।
तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पनि दुई अध्यक्ष लगायत अन्य शीर्ष नेताका लागि कुर्सी छन्। तर, पार्टी एकीकरण पछि सानादेखि ठुला कार्यक्रम धुम्बाराहीमा हुने गरेका छन्। ती कार्यक्रममा तत्कालीन दुवै पार्टीका नेता कार्यकर्ताको उपस्थित हुने गर्छ।
तर, सोमबार धुम्बाराहीमा भएको एक कार्यक्रमको दृष्य भने अलिक फरक थियो। उक्त कार्यक्रममा तत्कालीन माओवादीका शीर्ष नेता र कार्यकर्ता उपस्थित हुँदा तत्कालीन एमालेका शीर्ष नेता र कार्यकर्ता उपस्थित थिएनन्।

कार्यक्रम थियो जनयुद्धका सहिद रितबहादुर खड्काको १७ औँ स्मृति दिवस। पार्टी एकता पछि सहिद खड्काको स्मृति दिवस मनाउने कार्यक्रमको स्थान फेरियो तर कार्यक्रममा सहभागी पात्र भने पुरानै थिए। कार्यक्रमको मिति तय केही दिन अघिनै भएको थियो।


सोही अनुरुप प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने भन्दै अन्य नेता कार्यकर्ताहरुलाई खबर गरिएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भए पछि प्रमुख अतिथि नेकपा अध्यक्ष प्रचण्ड थिए।
उनको एक छेउमा थिए पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ। कार्यक्रमको अध्यक्षता गरेकी थिइन् पूर्व माओवादी नेतृ देवी खड्काले। त्यस बाहेक पूर्व माओवादीका नेता जनार्दन शर्मा, दिनानाथ शर्मा, मातृका यादव, मणि थापा लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रममा प्रधानमन्त्री त उपस्थित भएनन्, तत्कालीन एमालेका शीर्ष तहका अन्य कोही नेता पनि उपस्थित भएनन्। तत्कालीन एमालेका तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, दोलखाका पशुपति चौलागाइ र सांसद पार्वत गुरुङ् उपस्थित थिए। कार्यालय सचिव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा तत्कालीन एमाले तर्फका नेताहरुलाई पनि खबर भएको थियो।
कार्यलय सचिव श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीलाई कार्यक्रमबारे खबर भएको होइन। पार्टीका अन्य केही नेता कार्यकर्तालाई खबर भएको थियो।’ श्रेष्ठले कार्यक्रम नेकपाकै भए पनि तत्कालीन एमालेका नेता कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेकोे बताए।
तर, तत्कालीन माओवादी तर्फका एक नेता भन्छन्, ‘पार्टी एकता पछि कार्यकर्तामा नकारात्मक सन्देश नजाओस् भनेरनै धेरै कार्यक्रम धुम्बाराही पार्टी कार्यालयमा गर्छौँ। आजको कार्यक्रममा पनि अध्यक्ष ओली उपस्थित हुने भनेर हामीलाई खबर थियो। तर, उहाँ किन उपस्थित हुनु भएन त्यो प्रश्न होला। आजको कार्यक्रम ठुलो नभए पनि विगतका कार्यक्रममा पनि तत्कालीन एमालेका शीर्ष नेता उपस्थित हुने गर्नु भएको छैन। जसले राम्रो सन्देश गएको छैन।’


पार्टी एकता पछि फागुन १ गते नेकपाले धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने कार्यक्रममा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली लगाएतका नेताहरु अनुपस्थित थिए। त्यस्तै पेरिसडाँडामा हुने कार्यक्रममा पनि तत्कालीन एमाले समूहका नेता कार्यकर्ताको उपस्थिति कमै हुने गर्छ।
ती नेता थप अगाडि भन्छन्, ‘पार्टी एकता भए पनि भावनात्मक एकता अझै भएको छैन। अहिले पनि पूर्व माओवादीले गर्ने कार्यक्रममा पूर्व माओवादीका नेता कार्यकर्तालाई खबर हुन्छ। पूर्व एमालेको कार्यक्रममा पूर्व एमालेका नेता कार्यकर्तालाई मात्रै खबर हुन्छ। यो प्रवृति राम्रो होइन। यसले दुवै पक्षबीचका नेता कार्यकर्ताबीच दूरी घटाउने भन्दा पनि दूरी बढाउँछ।’



