हृदयाघातका कारण निधन भएका पूर्व शिक्षामन्त्री पौडेल : को हुन् पौडेल ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता (केन्द्रीय सदस्य) धनिराम पौडेल अर्थात डीआर पौडेलको आज २०७६ जेठ ३१ गते बिहान करीव ७ बजे हृदयाघातका कारण निधन भएको छ । चितवनको माडीस्थित आफ्नै निवासमा पूर्वमन्त्री पौडेलको निधन भएको हो ।
को हुन् पौडेल ?
स्व. धनिराम पौडेल स्याङ्जा जिल्लाको दरौं गाउँ विकास समितिको कुन्चेबारीमा २०२२ कार्तिक ४ गते जन्मिएका थिए । बुवा हरिप्रसाद हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखमा जन्मिएका धनिराम पौडेल २०३३ सालमा मातापितासँगै चितवन बसाई गरेका थिए । हाल उनी चितवनको माडीमा स्थायी बसोबास गर्दै आएका थिए ।
२०३६ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रिय भएका थिए पौडेल । तत्कालीन अवस्थामा मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेशनको विद्यार्थी संगठनमा सक्रिय उनी २०३९ सालमै उक्त विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य बनिसकेका थिए । उनी विद्यार्थी संगठनमा त सक्रिय थिए नै मातृपार्टी चौथो महाधिवेशनको पार्टी सदस्यता पनि २०३८ सालमै प्राप्त गरिसकेका थिए । सानैदेखि राजनीतिमा सक्रिय नेता पौडेल २०४२ सालमा कलिलो उमेरमै विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्य बन्न सफल भएका थिए । त्यसपछि २०५१ सालमा नेकपा (एकताकेन्द्र) विभाजित भएपछि अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय संयोजकको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरेका थिए ।
२०४२ सालमा तत्कालीन नेकपा (चौम)को सदस्यता लिएका स्व. पौडेल २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य भएका थिए । २०४७ सालमा माडीको शितलपुरमा भएको एकता महाधिवेशनमा प्रतिनिधि रहेका पौडेल २०४७ सालमा अखिल नेपाल जनवादी युवा लिगको संस्थापक केन्द्रीय सदस्य बनेका थिए । २०५१ को पार्टी विभाजनपछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका उनी त्यसयता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आएका थिए ।
स्व. पौडेल २०५० मा पुनः अखिल नेपाल जनवादी युवा लिगको केन्द्रीय सदस्य भएका थिए । उनले लिगको उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । २०६३ सालमा एकता केन्द्र–मसालको केन्द्रीय सदस्य बनेका स्व. पौडेल २०६५ सालमा तत्कालीन नेकपा (माओवादी)सँग पार्टी एकता भएपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । उनी पार्टीको पोलिटव्यूरो सदस्य र सचिवालय सदस्यको भूमिकामा रहे । २०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका पौडेल २०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रित्वकालमा शिक्षामन्त्रीको रुपमा जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका थिए । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको रुपमा क्रियाशील रहेका थिए ।
त्यतिमात्र होइन । उनले नेपाली पत्रकारिता क्षेत्रमा पनि करीव २० वर्ष लामो र प्रेरणादायी योगदान दिएका छन् । उनले लामो समयसम्म पार्टीको वैचारिक मुखपत्रको रुपमा परिचित जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता क्षेत्रमा पनि आफूलाई उत्तिकै अब्बल सावित गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनबाट आइए र माडी माबिबाट एसएलसी उत्तीर्ण गरेका स्व. पौडेलका दुई छोरी र श्रीमती गंगा पौडेल छन् । सादा र सरल जीवनशैली अपनाउँदै आएका पौडेलले हाल स्व. दिवाकर भुसालको स्मृति ग्रन्थको सम्पादन गरिरहेका थिए ।