सरकारले रेड ब्लुमाथि लगायो प्रतिबन्ध
सरकारले रेड ब्लु को आयातलाई रोक्का गरेको छ। पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार रेड ब्लुको आयात रोक्का गरिएको उद्योग विभाग कानून शाखाका उपसचिव टङ्क बहादुर महतले जानकारी दिए।
रेडबुल आयात गरी बिक्री वितरण गर्दै आएको गोर्खा ब्रुअरीले गोरू जस्तो देखिने चित्र ट्रेडमार्क चोरी भएको भन्दै गत बैशाखमा उद्योग विभागमा उजुरी हालेको थियो।
जेठमा उद्योग विभागले छानविन गरी ट्रेडमार्क चोरी भएको प्रमाणित भएको थियो। त्यसका विरुद्ध रेड ब्लु कम्पनी उच्च अदालत गएर स्टे–अर्डर लिएर आएको उनले जानकारी दिए।
जेठ २४ गते अदालतले पनि उद्योग विभागको प्रमाणलाई सदर गर्दै रेड ब्लु लाई रेड बुलको गोरुजस्तो चित्र प्रयोग गरेर भित्र्याउन नपाउने आदेश दिएको थियो। जुन आदेशपछि विभागलाई रेड ब्लुको बिक्री वितरण बन्देज गर्न बाटो खुलेको हो।
सो ट्रेडमार्क चोरी भएको प्रमाण भएपछि रेड ब्लुसँग ५ हजार जरिवाना लिएको उद्योग विभागले जनाएको छ। बजारमा उस्तै देखिने तर फरक नाम भएका रेड ब्लु, रेड स्टार, रेड बेल, रेड डिमो जस्ता इनर्जी ड्रिकं उपलव्ध छन्।
रेडब्लुको बिक्रीवितरणमा बन्देज लगाइए पनि अन्यलाई भने लगाइएको छैन।
नक्कल गरिएका ट्रेडमार्कका कारण कुन सामान नक्कली वा सक्कली हो भन्ने उपभोक्ताले छुट्याउन नसकेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्। उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष २०७५/०७६ को साउन महिना देखि जेठ २८ सम्ममा ३ सय ४० ट्रेडमार्कको मुद्दा दायर भएका छन्।
पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार कसैको बौद्धिक सम्पत्ति चोरी गरेमा ५ हजार जरिवाना लाग्ने छ। यदि दर्तावालाले वास्तविक सहनुपरेको नोक्सानी देखाउन सके त्यसको समेत क्षतिपूर्ति तिर्नुपर्ने ऐनमा उल्लेख छ। मालसामान जफत हुने कानुनी व्यवस्था भएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन।



