पाटन दरबार क्षेत्रमा अवस्थित पसलको एक रुपैया पनि नबुझाई बिचौलियाले गर्छन राज
ललितपुरको मुख्य व्यापारिक केन्द्र पाटन दरबार क्षेत्रमा रहेको पसल कवलमा बिचौलियाको राज छ । गुठी संस्थानको स्वामित्वमा रहेका ४ वटा पसल कवल गोदावरीका एक व्यक्तिले एक दशकदेखि भाडामा सञ्चालन गरिरहेका छन् ।
उनले भाडा भने संस्थानलाई तिर्दैनन् । प्रत्येक महिना बिचौलियालाई बुझाउँछन् । उनले धेरैपटक संस्थानसँग सिधै सम्झौता गरेर भाडामा लिन खोजे । तर, संस्थानकाकर्मचारीले उनको प्रस्ताव सुनेनन् ।
उनी भन्छन्, ‘४ वटा पसल कवल भाडामा लिएबापत् बिचौलियालाई मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । तर, बिचौलियाले भने संस्थानलाई १० रुपैयाँ पनि बुझाउँदैनन् ।’ उनले बिचौलिया र कर्मचारीको मिलेमतोमा राज्यलाई घाटा भइरहेको आरोप लगाए । ‘राज्यका माथिल्लो निकायमा बस्दै आइरहेकाहरूले यसबारेमासत्यतथ्य छानबिन गर्नुपर्यो,’ उनले भने ।
पाटनका अर्का एक व्यक्तिले पनि दरबार क्षेत्रमा ३ वटा पसल कवल सञ्चालन गरेबापत् बिचौलियालाई मासिक ३० हजार रुपैयाँ बुझाउँदै आइरहेका छन् । उनीहरूजस्तै दरबार क्षेत्रमा पसल कवल भाडामा लिएबापत् बिचौलियलाई मासिक १० देखि ५० हजार रुपैयाँ बुझाउने थुप्रै छन् ।
बिचौलियाले भने गुठी संस्थान ललितपुर शाखा कार्यालयलाई भने मासिक १ सय रुपैयाँ पनि बुझाउँदैन । बिचौलियाले भाडामा लगाएर वर्षौंदेखि अस्वाभाविक रूपमा मुनाफा कमाउँदै आएको बारेमा संस्थानलाई जानकारी छ । संस्थानको लगतमा पनि बहालवालामध्ये धेरैजसोले आफूले लिएको पसल कवल अरूलाई बढी रकममा भाडामा दिएको कुरा उल्लेख छ । तर पनि संस्थानका कर्मचारी भने मौन छन् ।