हेटौडा अवस्थित रहेको सय वर्ष पुरानो चुरिया सुरुङमार्गको संरक्षण कार्य प्रारम्भ
दक्षिण एशियाकै पहिलो कार्य प्रारम्भ नव निर्मित दावी गरिएको सुरुङको संरक्षण गर्न थालिएको छ । हेटौडा उपमहानगरपालिकाले मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङको बाहिरी भागको संरक्षण काम थालेको हो ।
हेटौडा उपमहानगरपालिका-१५ मा रहेको सुरुङ संरक्षणको अभावमा पुरिने अवस्थामा पुगेपछि उपमहानगरपालिकाले करिब साढे ५ लाख रुपियाँको लगानीमा स्थानिय चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण समितिमार्फत वाहिरी भागको संरक्षण गर्ने कार्य प्रारम्भ गरेको छ ।
पहिरो गएर ऐतिहासिक सुरुङ पुरिएला भनेर उपमहानगरपालिकाको सहयोगमा संरक्षणको काम गरेको संरक्षण समितीका अध्यक्ष प्रेम भोम्जनले बताए । ‘सुरुङको भित्री भागको काम पुरातत्व विभागले गर्ने भएकाले हामीले वाहिरी काम मात्र गरेका हौं,’ उनले भने ।
सय वर्ष नाघेको सुरुङको संरचना भएकाले सुरुङको भित्री भागको प्राविधीक अध्ययन संरक्षणको जिम्मा पुरातत्व विभागले लिएको छ । उपमहानगरपालिकालाई विभागले पत्र लेखेर सुरुङको भित्री भागको प्राविधिक अध्ययनपश्चात मात्र मर्मत सम्भारको काम गर्ने उल्लेख गरेको छ ।
काठमाडौं उपत्यकाबाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङमार्ग खनेको थियो ।
र, त्यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म पुग्ने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान र्पुयाइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङमार्ग छिचोल्दै पुग्थे ।
तर, प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो ।
सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको केही भाग भने अझै सग्लो अवस्थामा नै छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।
सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । थापा तिनै हुन्, जसले धरहराको पनि डिजाइन गरे । यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो छ ।
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । अब हेटौंडा उपमहानगरपालिकाले उनै थापको अर्ध कदको सालिक पनि यहाँ राख्ने योजना बनाएको छ ।
टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङमार्गबारे चर्चा गरेका छन् ।
उनले यसलाई एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुनसक्ने बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।
जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ ।
पहाड नै खोपेर बनाइएको सुरुङको फिनिसिङ चुनासुर्की लगाएर गरिएको छ । त्यतिबेला सिमेन्ट प्रयोगमा थिएन । सुरुङमार्गको सडकतर्फ भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । यसको पनि वैज्ञानिक प्रयोजन हुनसक्छ ।
पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेको छ । सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ ।