‘प्रधानमन्त्रीज्यू ! मेरो पैसा कहिले फिर्ता हुन्छ ?’-एमबीबीएस बिद्यार्थीको पीडित बाबुको चिट्ठी
काठमाडौं । काठमाडौं मेडिकल कलेजले एमबीबीएसका तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै एक अभिभावकले रकम फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । आफ्नो ठेगाना नखुलाई विश्व थापाले प्रधानमन्त्री ओलीलाई खुला पत्रमार्फत् रकम फिर्ताका लागि आग्रह गरेका हुन् ।
उनले दिएको निवदेनमा प्रधानमन्त्री कार्यालयले आवश्यक प्रक्रिया सुरु गरेको छ । उनले निवदेनमा लेखेका छन्, ‘‘काठमाडौंस्थित मेडिकल कलेजले ट्युसन फि (शुल्क) मात्रै ४९ लाख ७३ हजार रुपैयाँ लियो । ३८ लाख ५० हजार होला भनेर घर बेचेर छोरालाई भर्ना गरेँ । ट्युसन फि, होस्टेल चार्ज, खाना र अन्न गरी ६० लाखभन्दा बढी पुग्ने देखियो । अब बचेको सम्पत्तिले पनि नपुग्ने भएपछि हामीलाई मर्नु न बाँच्नु भएको छ ।’’ गत चैत ३ गते थापाले प्रधानमन्त्री ओलीलाई नै सम्बोधन गर्न निवेदन दर्ता गराएका थिए ।
थापाले तोकिएको ३८ लाख ५० हजारभन्दा बढी लिइएको सबै शुल्क फिर्ता गराइदिन आग्रह गरेका छन् । थापाले पत्रमा २०७५ सालमा चिकित्सा शिक्षा विधेयक पास भएपछि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको शुल्क बराबर हुन्छ भन्ने सोचेको तर शुल्क फरक पाइएको गुनासो समेत गरेका छन् ।
थापाले पत्रमा प्रधानमन्त्रीको प्रशंसा गर्दै अगाडि लेखेका छन्, ‘‘हजुरजस्तो प्रधानमन्त्री पाएर हामीमात्रै होइन, देशकै गर्व भएको छ । हजुरजस्तो इमान्दार, सक्षम, पराक्रमी र उच्च बौद्धिकस्तरको प्रधानमन्त्री अब भविष्यमा विरलै होला । हाम्रो जीवनमा आइपरेको समस्यालाई समाधान गरी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’’
प्रधानमन्त्री कार्यालयले थापाको पत्रका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालय र शिक्षा मन्त्रालयलाई आवश्यक निर्देशनसमेत दिएको छ । प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रको आधारमा गृह मन्त्रालयले सत्यतथ्य अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ ।
-बाह्रखरी