गुण्डा नाईके नछोडे प्रहरी बिरुद्ध खनिन्छौ-कांग्रेसको तरुण दल
काठमाडौ । प्रहरीले समयसमयमा गुण्डाहरुलाई नियन्त्रणमा लिनको लागि इन्काउन्टर गर्ने गरेको छ । योबीचमा नेपालमा चर्चामा रहेका धेरै डनहरुको प्रहरी कारबाहीमा ज्यान पनि नगएको होईन् ।
अहिले लामो समय देखि गुन्डागर्दीमा संलग्न भएको आरोप झेल्दै आएका नेपाल तरुण दल धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो बीचमा तरुण दलले राज्य सुरक्षा संयन्त्रले नै राधेलाई मार्ने षडयन्त्रमा लागेको आरोप लगाएको छ । तरुण दलले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको भन्दै जीवन रक्षाको माग गरेको हो ।
पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई पक्राउ गरिएको उनले बताए । स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाएर प्रहरीले नियन्त्रणमा लिने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले भण्डारीलाई मार्ने योजना भइरहेको आफूहरुले थाहा पाएको भन्दै जीवनरक्षाको माग गरेको स्पष्ट पारेका छन् । उनले भने, ‘जिल्ला अध्यक्ष, उपाध्यक्षलाई कहिले मार्छु, काट्छु भनेर सिभिल प्रहरीले, कहिले एसपीले दिने, कहिले इन्स्पेक्टरले दिने, कहिले डिएसपीले धम्की दिने । अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ ।
साँच्ची नै पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासन विरुद्ध अगाडि बढ्नुपर्छ । सोझो, इमान्दार मान्छेलाई यसरी समात्ने हो भने हामी कुनै पनि आन्दोलन गर्न तयार छौँ । राधेलाई समात्ने मात्रै होइन कि राधेलाई मार्ने योजनामा पुलिस प्रशासन अगाडि बढेको छ भन्ने हामीले सुनेका छौँ । हामी उहाँको जीवनरक्षको पनि अपिल गर्छौँ ।’
कार्यक्रममा स्थानीय जनक मगरले प्रहरी आफैँले तयार पारेको किटानी जाहेरीमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताए ।