‘सरकारी ज्यादती’ रोक्न विप्लव कडा संघर्षमा उत्रने चेतावनी
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र गृह प्रशासनलाई ‘सरकारी ज्यादती’ रोक्न कडा चेतावनी दिएको छ ।शुक्रबार साँझ सो पार्टीका प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत बम विस्फोटमा परेर घाइते भएका बिरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै चेतावनीस्वरुप त्यस्तो नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिँडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो ।’ त्यसप्रकारको सरकारी अपराधको विरुद्ध भन्दै विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण सुकेधारास्थित ढलाने पुल र अनामनगरस्थित घट्टेकुलोमा बम विस्फोट हुँदा ४ जनाको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए ।
‘घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनुभएको छ । तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नको लागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् ।