गोलको खडेरी तोडदै अभिषेकको पहिलो गोल : नेपाल र चाइनिज ताइपेइ बराबरीमा
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । नेपाल दुई वटा मैत्रीपूर्ण खेलका लागि वैदेशिक यात्रामा निस्केको थियो । जेठ १९ गते मलेसियासँगको मैत्रीपूर्ण खेल २–० ले गुमाएपछि अर्को खेलका लागि टोली ताइपे पुगेको थियो । प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले खेल्न लागेको यो चौथो खेल हो ।
६४ औं मिनेटमा अभिषेकले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सन्तोष र अभिषेक दुवै पहिलो पटक सुरुवाती रोजाईबाट खेल्दैछन् । अभिषेकले राष्ट्रिय टोलीका लागि दोस्रो खेल खेल्दै गोलको खाता खोलेका हुन् । उनले मलेसियाविरुद्ध अघिल्लो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । यसअघि खेलको ४० औं मिनेटमा नेपाल १-० ले पछाडी परेको थियो ।
नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै नेपाली टोलीका लागि ‘डेब्यू’ गरेका थिए ।
अघिल्ला तीन खेलमा नेपालले जित दर्ता गर्न नसकेको मात्र होइन गोल पनि गर्न सकेको छैन । कुवेतविरुद्धको पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाली टोली टोली खेलमा १–० ले पराजित भएको थियो ।