Logo

विचार एक नभई संगठन एक हुँदाको दु:ख भोग्दै नेकपा


दिलु पन्त नेपाल कम्युनिष्ट पार्टीकी युवा नेता हुन्। तत्कालीन नेकपा एमालेको युवा संघमा बरिष्ठ उपाध्यक्षसमेत भइसकेकी पन्तले एक वर्षयता पार्टीमा कुनै जिम्मेवारी पाएकी छैनन।

नेकपाको  ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा पन्तको नाम त छ तर निश्चित जिम्मेवारी नतोकिँदा उनी अचेल अन्यौलमा छन्। पार्टीभित्र बैठक र वैचारिक छलफल नहुँदा चिया पसल र सामाजिक सञ्जालमा आफूलाई लागेका कुरा राख्छिन्।

अर्का केन्द्रीय सदस्य ठाकुर गैरे एकीकरण भएर ठूलो बनेको पार्टीमा भव्य वैचारिक बहस होस् भन्ने चाहन्छन्। तर वर्ष दिनदेखि पार्टीभित्र राजनीतिक र वैचारिक बहस भएकै छैन।

‘यो एक वर्षमा पार्टीभित्र सांगठनिक र वैचारिक ढंगले बहस अघि बढ्नु पर्ने हो तर त्यो हुन सकेन्, कहिलेकाहीँ  पीडा हुन्छ,’ गैरेले सेतोपाटीसँग भने।

अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने नीतिगत, सैद्धान्तिक र सांगठनिक अलमलले तलैसम्मका नेता कार्यकर्ता निरास हुनुसँगै बरालिने सम्भावना पनि देख्छन्।

स्पष्ट वैचारिक कार्यदिशा र सघन छलफल नहुँदा नेकपाका दोस्रो पुस्ताका यी केन्द्रीय सदस्यमात्र होइन शीर्ष तहका नेताहरूमा पनि निराशा देखिन थालेको छ।

पार्टीका सचिवालय सदस्य वामदेव गौतमले एकतापछिको एक वर्ष कामविहीन हुँदा आफूमा असाध्यै निराशा उत्पन्न भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्।

लामो रस्साकस्सी र व्यापक छलफलपछि पोहोर जेठ ३ गते आ-आफ्ना पार्टीका विरासत छोड्ने वचनसहित एक भएका हुन नेकपा एमाले र एकीकृत नेकपा माओवादी।

त्यो एकता २००६ सालदेखिको इतिहास भएको कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण र दूरगामी घटना थियो।

तत्कालीन एमालेका पाँच लाख र एमाओवादी झन्डै तीन लाख पूर्णकालीन कार्यकर्ताले पार्टी एकतामा ताली बजाएका थिए, नेतृत्वको वाहवाही गरेका थिए।

तर त्यसपछि मन एकातिर र जीवन अर्कातिर हुँदा नवगठित नेकपाका करिब आठ लाख कार्यकर्ता लाखापाखा छन्। उसका शुभचिन्तक र मतदाताको असन्तुष्टी निरन्तर सार्वजनिक भइरहेका छन्।

यस्तोमा पार्टीलाई कसरी चलाउने भन्ने जिम्मेवारी मुलतः दुई अध्यक्षकै हुनु पर्ने हो, निश्चित मापदण्ड र कार्यशैली अपनाइनु पर्ने हो। दुई अध्यक्षमध्ये कहिले दुईलाई नै र कहिले एकजनालाई मात्रै जे मन लाग्छ त्यही गरिदिँदा नेकपाको राजनीतिक वृत्तमा भरोसाको दियो धिपधिप धिपधिप गरिरहेको छ।

एकता पछि के हुनुपर्थ्यो त?

‘वैचारिक बहस हुनुपर्थ्यो, परिभाषित जिम्मेवारी हुनुपर्थ्यो,’ केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘तर अहिले सैद्धान्तिक र वैचारिक छलफल त शुन्यजस्तै छ।’

यस्तोमा पार्टीले सैद्धान्तिक र राजनीतिक कार्यदिशाको यो अन्यौललाई जतिसक्दो छिटो सक्नु पर्ने थापाको भनाइ छ।

एकीकरणको सुरूमै पार्टीले गम्भीर भुल गरेको  केन्द्रीय सदस्य न्यौपानेको ठम्याइ छ।

‘पहिले पार्टीको स्पष्ट विचार र कार्यदिशा नआई गरेको संगठनात्मक एकता नै पार्टी एकीकरणको उल्टो बाटो हो,’ न्यौपानेले भने।

सार्वजनिक हुन नसकेको राजनीतिक प्रतिवेदन

पोहोर जेठ ३ गते पार्टी एक हुँदा सहमतिको पहिलो बुँदामै जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवादसम्बन्धी राजनीतिक मान्यतालाई परिवर्तित सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवादउन्मुख जनताको जनवादको रूपमा अघि बढाउने उल्लेख छ।

यही पृष्ठभूमिमा सचिवालय सदस्य माधवकुमार नेपाल नेतृत्वमा राजनीतिक प्रतिवेदन समिति गठन भयो। समितिले राजनीतिक रिपोर्ट बनाइवरी सचिवालयमा पेस गरेको महिनौं बितिसक्दा पनि सार्वजनिक गरिएको छैन।

प्रतिवेदनले जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवादका सम्बन्धमा व्यापक छलफल गरेर निचोड निकाल्न सुझाएको छ।

प्रतिवेदनले समाजवादउन्मुख जनताको जनवादबारे खास बोलेको छैन।

आफ्नो पार्टीलाई ‘जनआधारित कार्यकर्ता पार्टी’ दाबी गर्ने प्रतिवेदनले वैचारिक बहस तल्लो तहसम्म गरेर निचोड निकाल्नु पर्ने उल्लेख गरेका छ।  कार्यकर्तालाई बलियो बनाउने गरी तयार भएको प्रतिवेदन सार्वजनिक हुनु परको कुरा, त्यो प्रतिवेदनबारे सचिवालयमै समेत छलफल भएको छैन।

नेकपाभित्रकै अहिलेको सबै गन्जागोल हेर्दा अझै केही समय पार्टी नीति र कार्यदिशाका बारेमा छलफल हुने सम्भावना पनि देखिन्न।

जबजकै धङधङी

पूर्वएमालेका नेताहरू मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) छोड्न नसकिने बताइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरलले विभिन्न फोरममार्फत् पार्टीको सैद्धान्तिक नीति जबज नै हुने धारणा सार्वजनिक गरेका छन्।

जबज पूर्ववर्ती एमालेका लगभग सबैजसो नेताहरूलाई एकै ठाउँमा उभ्याउने महत्वपूर्ण आधार पनि हो। भलै उनीहरूबीच अरु धेरै विषयमा मतान्तर छ।  जबज विचारमात्रै नभएर तत्कालीन एमालेको मार्गदर्शक नेता भण्डारीप्रति गहिरो सम्मान पनि हो भन्ने तर्क पूर्वएमाले नेताहरूको छ।

माओवादी पृष्ठभूमिका स्थायी समिति सदस्य राम कार्की सिद्धान्तमात्रै जबज भन्ने तर सैद्धान्तिक कुराहरू केही पनि अनुशरण नगर्ने समस्या नेताहरूमा देखिएको बताउँछन्।

तथापी पूर्वएमाओवादीतिरका नेताहरू सिद्धान्तका बारेमा खुलेर बहसमा उत्रिएको भने उतिधेरै देखिएको छैन। बरू सैद्धान्तिक बहसमा एमाले पक्षधर एक हुँदा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल बारम्बार झस्किइरहन्छन्।

उनले पछिल्लो पटक सार्वजनिक गरेको सत्ता नेतृत्वबारे पुरानो सम्झौताको स्मरण त्यसैको उदाहरण हो।

यसै त एमाओवादी एमालेमा समाहित भइरहेको छ भन्ने आरोप लागिरहेका बेला पार्टीको सिद्धान्त र नीतिमा पनि आफूहरूलाई पाखा सार्न खोजिएको हो कि भन्ने दाहालको आशंका उनकै कोणबाट हेर्दा अस्वभाविक होइन।

पूर्ववर्ती एमाले र एमाओवादीले बोक्दै आएको राम्रा राम्रा विचारधारा समेटेर अघि बढ्ने र त्यही अनुरूपको राजनीतिक कार्यदिशा तय गर्ने मौखिक समझदारी पार्टी एकीकरणको घोषणाताका भएको थियो।

‘भइदियो के भने एमाले र माओवादी दुबैले दुबैका कमीकमजोरीलाई आत्मसात् गरे। दुबैका राम्रा कुरा भने ओझेलमा परे,’ एक नेताले भने।

नवगठित नेकपामा पनि पूर्वएमालेजस्तै नेतैपिच्छेका गुटहरूका उदय भयो। पूर्वएमाओवादीमाजस्तै नेतृत्वको एकल हैकम र निर्णयमा पार्टी सञ्चालन हुन थाल्यो।

अहिले एकातिर तीन महिनामा सक्ने भनिएको कार्यविभाजनको लफडा झन् चुलएको छ अर्कातिर वैचारिक रूपमा पार्टीलाई एक बनाउने कुरा न कसैको कल्पनामा छ, न स्मरणमा।

विचारको एकताबिना गरिएको सांगठनिक एकता पूरा हुन नसकेको मात्र होइन अहिले आएर नेतृत्वको विषय नै बल्झन थालेको छ। -सेतोपाटिबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्