Logo

धुर्मुस सुन्तलीलाई बिप्लवको धम्की : रंगशाला निर्माणमा विवाद


धुर्मुुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला एक पछि अर्को विवादमा पर्दै गएको छ ।

निर्माण घोषणा गरे देखिनै विभिन्न विवाद र प्रश्नहरुको घेरामा रहेको रंगशालामा पछिल्लो समय थप विवाद बढिरहेको छ । जेठ १५ गते विहानै स्थानिय नेकपाका नेता प्रकाश कँडेलको नेतृत्वमा गएको समुहले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा डोजर चलाएपछि यस बिषयले देशैभरी सनसनी मच्चीएको छ ।

सुरुवाती दिन देखिनै अपेक्षाकृत सहयोग रकम नउठेर तनावमा रहेका धुर्मुस सुन्तलीलाई पछिल्लो डोजर काण्डले थप झस्काइदिएको छ ।

फाउण्डेसनले रंगशाला निर्माणको घोषण गरेको दिनदेखिनै यस्ता प्रोजेक्ट सरकारले बनाउँने की व्यक्तिले बनाउँने भन्ने प्रश्नको सामना गरिरहेको फाउण्डेसन पछिल्लो समय राजिनितिक दाउपेचको पनि सिकार भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले अहिले सम्म पुरा गरेको प्रोजेक्ट भन्दा यो प्रोजेक्ट सबैभन्दा ठुलो रकमको हो । ३ अर्ब लागत लाग्ने मा मंहगी बढ्दा उक्त रकम अझै बढ्न सक्छ । हालसम्म अत्यन्तै न्युन मात्र सहयोग रकम संकलन भएकोमा रंगशालामा अनेकौँ विवाद र दाउपेच चलिरहँदा सहयोगी दाताहरु पनि सशंकित भएका छन् । रंगशाला बन्ने होकी नबन्ने हो भन्ने शंका उब्जिएको छ ।

धुर्मुस सुन्तली आफैले सहयोग उठेन भने र स्थानियले नै सहयोग गरेनन् भने रंगशाला बनाउँन नसकिने अभिव्यक्ति दिइरहेका छन्।

जेठ १५ गतेको डोजर काण्ड पछि कुञ्जना घिमिरे सुन्तलीले दिएको अभिव्यक्तिका कारण पनि सहयोगी दाताहरु केहि भाँडिएका छन् यधपी यस विषयमा धुर्मुसले कसैमा चोट पुगेको भए माफी मागी सकेका छन् ।

भरतपुर महानगरपालीकाकी मेयर , चितवनका जनप्रतिनिधी , स्थानिय राजनितिक दलका प्रतिनिधी , स्थानिय अगुवा लगायतको पहलमा समस्या समाधान गरि निर्माण कार्य फेरी प्रारम्भ गरिएको छ तर प्रतिबन्धीत विप्लव नेकपाले धुर्मुस सुन्तली फाउण्डेसनलाई तत्काल रंगशाला निर्माण कार्य रोक्न अल्टीमेटम दिएकोले रंगशाला निर्माणमा थप समस्या आईपरेको छ ।

विप्लवले विश्वविधालयको जग्गामा कुनै हालतमा रंगशाला निर्माण गर्न नदिने भन्दै धम्कीपुर्ण विज्ञप्ती जारी गरेको छ । विप्लवको विज्ञप्तीबाट अवस्था थप बिग्रन सक्ने सम्भावना छ उक्त पार्टीले अटेर गरेर काम गरिरहे जे पनि हुन सक्ने आशयको धम्कीपुर्ण विज्ञप्ती जारी गरेको छ ।

यस विषयमा फाउण्डेसनका अध्यक्ष धुर्मुुुसले आफुले पनि विज्ञप्ती पढेको तर यस विषयमा अहिले केहि नबोल्ने प्रतिक्रिया दिए ।

अनेकौँ विवादमा रंगशाला परिरहँदा सहयोगी दाताहरुलाई धुर्मुस सुन्तलीले रिझाउँन सक्लान् त ?

यो पनि पढ्नुहाेस् 

रङ्गशालाबारे यस्तो आयो अपिल !

नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभुती प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली भाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं ।

धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिका बिच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधिन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउँन चाहान्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाइ गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।

रंगशालाको डिपिआर आइ नसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तिन तिर जस्ताले बेरबार गरेपनि सो साइडतिर स्थानियकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन् । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानिय टोल बिकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमती अनुसार नै घेराबारा गरिएको थियो ।

र स्मरण गराउँन चाहान्छौं, कृषि तथा बन बिज्ञान विश्वबिद्यालयले सो ठाउँमा पहिलेनै काँडे तारको बार लगाएको थियो । सो भन्दा १ मिटर भित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डिपिआर आईसकेपछि मात्रै कुन बाटो पराकिलो बनाउँने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माण स्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानियको सल्लाह बमोजिमनै जस्ताको बार लगाउन सुरु गरेका थियौं ।

बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परि केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।

हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हु्न्छ । हामीले आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो ।

स्थानिय प्रति हाम्रो केही गुनासो छैन् । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटी भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानताबस भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ । हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमती भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौँ ।

हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।

हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् ।

कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं । सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ । काममा बाधाव्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौँ । ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौँ । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैँमा आग्रह गर्दछौँ ।

अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।

साथै स्थानिय महानुभावहरुले हामीलाई बार लगाईदिने र काम सुचारु गर्न बातावरण तयार गर्ने प्रतिबद्धता जनाईसक्नु भएकाले गर्दा स्थानिय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण श्रृजना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहान्छौं ।

कुञ्जना घिमिरे सुन्तलीको सामाजिक सञ्जाल फेसबुकबाट साभार

यी नै हुन् गौतमबुद्ध रंगशालामा डोजर लगाउने ‘नाइके’, गर्यो पार्टीले निलम्बित

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु-याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गरेकी छन् ।साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

नेकपाको विरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरको छ । जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार विज्ञप्ति जारी गर्दै तारवार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताएका छन् ।

विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ ।

नेपाली काँग्रेस चितवनको ध्यानाकर्षण

यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही अराजक र उदण्ड समूहले भत्काई निर्माण कार्यमा अवरोध गरेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले विहीबार विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काउनेलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै चितवनका अन्य पार्टीहरुले पनि घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको तीव्र विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गेरका छन् ।

यो पनि पढ्नुहोस्

धुर्मुसको प्रतिक्रिया हेरेर काे-काे भावुक भए ?

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राखे ।

चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? उनले प्रश्न गरे ।

तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताए ।

याे पनि पढ्नुहाेस्

धुर्मुसको पीडा : गरिबका रगत पसिनामाथि डोजर चलाइयो, डोजर चलाउने रेणु दाहालको मान्छे

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

पहिले अबिर जात्रा गरे, अहिले डोजर लगाए

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।

“निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।

को हुन् प्रकाश कँडेल ?

स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ ।

‘रेणु दाहाललाई मतपत्र च्यातेर मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।

तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

धुर्मुसका अनुसार एउटा झुण्ड शुरूदेखि नै रंगशालाको विपक्षमा छ । उक्त झुण्डले कहिले ठेकेदार परिचालन गरेर निर्माण सामग्री आफूसँग लिन दबाब दिन्छ भने कहिले डोजर, जेसीबीलगायत निर्माणयन्त्र आफूले भनेकै व्यक्तिको लिनुपर्छ नत्र रंगशाला बन्नै दिन्न भन्दै धम्क्याउँछ ।

“हामीले उनीहरूसँग निर्माण सामग्री लिन नखोजेका पनि होइनौँ । तर, भनेको बेलामा उपलब्ध नगराउने । अत्तो थापिरहने गर्न थाले । उनीहरूको योजना रंगशाला बन्नै नदिने देखियो,” धुर्मुसको भनाइ छ । धुर्मुसका अनुसार स्थानीय केहीले फाउन्डेशनका कर्मचारीलाई पटकपटक धम्क्याउँदै आएका छन् । बुधबार बिहान पनि उनीहरूले कर्मचारीलाई तथानाम भन्दै धम्क्याएको भिडियो स्थानीयलेनै खिचेका थिए ।

तर, भिडियो डिलिट नगरे जे पनि हुन सक्ने भन्दै धम्क्याएपछि रंगशाला बन्नुपर्ने पक्षमा रहेका स्थानीयबासीले निरिह भएर मोबाइलबाट श्रव्यदृष्य हटाएको धुर्मुस बताउँछन् ।

घरबेटी नै परिचालन

रोचक कुरा त रंगशालाको बार–वाल भत्काउन फाउन्डेशनले कार्यालय राखेको घरका धनी सुरेन्द्र विश्वकर्मा नै प्रयोग भएका छन् । “सहयोग पुग्छ भनेर हामीले उहाँको घरमै कार्यालय राखेका थियौँ । उहाँको घर एक तलाको थियो । अर्को तला थपेर साइट अफिस बनाएका थियौँ । तर, बाटो बन्दा आफ्नो जग्गा पनि जान्छ भनेर उफ्रँदै रंगशाला भत्काउन आए,” धुर्मुस आश्चर्य व्यक्त गर्छन् ।

रंगशाला होइन, ज्यानकै सुरक्षा भएन

डीपीआर बनेपछि मात्रै कम्पाउण्ड घेर्ने पक्षमा धुर्मुस थिए । तर, खुला ठाउँ हुनाले निर्माण सामग्री हराउने भय बढ्यो । दुर्व्यसनीहरू दिनदहाडै निर्माणधीन ठाउँमा आउन थालेपछि बाध्य भएर जस्तापाताले छेक्नुपरेको धुर्मुस बताउँछन् । “अनेक धाकधम्की सहँदै चारवटा एकीकृत बस्ती बनाएका थियौँ । बुधबारको घटनाले निकै विक्षिप्त बनाएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले अगुवाइ लिए पनि त्यो चितवनकै गौरवको कुरा थियो । तर, स्थानीयको चाहना रंगशाला बन्न दिने देखिएन,” धुर्मुस बताउँछन् ।

डोजर नै लिएर भत्काउन आइसकेपछि बिनासुरक्षा रंगशाला बनाउन नसकिने धुर्मुसको ठहर छ ।“मेरै ज्यान तलमाथि परे त केही थिएन । तर, फाउन्डेशनका कर्मचारीको ज्यान तलमाथि भए के हुन्छ रु यस्तो अवस्थामा मैले बोल्ड डिसिजन लिनुपर्ने हुन्छ,” धुर्मुसले पीडा पोखे ।

सरकार कहाँ छ ?

नेपाली जनताको इच्छा, क्रिकेट खेलाडी, खेलप्रेमीको चाहनाअनुसार सरोकारवालाको आग्रहअनुसार नै आफू चितवन आएको र विश्वविद्यालयले उपलब्ध गराएको जग्गामा गौरवको आयोजना बनाउन लागेको धुर्मुस बताउँछन् । भरतपुर महानगरपालिकाले विशेष आग्रह गरेर नै धुर्मुसलाई बोलाएको थियो । तर, बनाउन थालेको पहिलो दिनबाटै स्थानीयले पाखुरा सुर्किएपछि रंगशालाको परियोजना सक्न कठिन हुने धुर्मुसको तर्क छ ।

“डीपीआर नै बनेको छैन । आजबाटै स्थानीयको धाकधम्की सहनुपरेपछि काम गर्ने जाँगर कहाँबाट आउँछ ?,” उनको प्रश्न छ । उनले रंगशाला बन्ने क्रममा स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति गराएको थियो । महानगरपालिकाले पनि आश्वस्त पारेको थियो । तर, दिनदहाडै हुलहुज्जत गर्दा, कर्मचारीमाथि हातपातको प्रयास गर्दा पनि प्रशासनबाट यथेष्ट सहयोग नपाएको उनले बताए ।

गरिबका रगतपसिनामाथि डोजर नचलोस् !

झण्डै तीन अर्ब लागत अनुमान गरेको क्रिकेट रंगशाला बनाउन आवश्यक रकमको जुगाड भइसकेको छैन । कहिले मलेसिया, कहिले कतार गएर ‘शीत उभाउनु’ परेको धुर्मुस बताउँछन् । जन्मदिन मनाउन छुट्टयाएको रकम र स्कुले बालबालिकाले टिफिन खर्च जोगाएर रंगशालालाई सहयोग गरिरहेका छन् ।“खाडीमा काम गरिरहेका मजदुरहरूले गास काटेर पठाएको पैसामाथि डोजर चल्दा मेरो मन थामिएको छैन, मैले गम्भीर निर्णय लिनुपर्ने भएको छ,” धुर्मुस भन्छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्