गृहमन्त्रीको ठाडो आदेश : माइला लामा पक्राउ गर्नु
काठमाडौं, १९ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न ठाडो आदेश दिएका छन् ।
१२ जेठमा उपत्यकामा भएका विस्फोटको नेतृत्व उनैले गरेको भन्दै प्रहरीलाई बादलले लामालाई नियन्त्रणमा लिन निर्देशन जारी गरेको स्रोतले जनाएको छ ।
विप्लव समूहमा आवद्ध अन्यलाई पनि प्रहरीले धरपकड जारी राखेको छ । यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, महानगरीय अपराध महाशाखा पनि सक्रिय छन् ।
काठमाडौं सीतापाइलाका माइला लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए ।
एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।
प्रहरी स्रोतका अनुसार विस्फोटमा विप्लव समूहले अधिक मात्रामा कुकर बमको प्रयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकालगायतका ठाउँमा १३ जेठका बेला पनि यहि बम फेला परेका थिए ।
प्रहरीले विप्लव समूहमा आवद्ध रहेका कतिपयलाई धरपकड गर्ने क्रममा अधिक संख्यामा बारुद, कुकुर र जिलेटिन तारसमेत जफत गरिरहेको छ ।
विस्फोट भएकै दिन पनि काठमाडौंको कोटेश्वरबाट ७ जनासहित कुकुर, विस्फोट पदार्थ जफत गरिएको थियो ।