प्रचण्डलाई पूरानै ‘रोग’ बल्झिने डर !
काठमाडौं । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए।
ओली प्रधानमन्त्रीमा निर्वा्चित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्।
ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्। केहि दिनअघि पार्टी एकता ताका ओली–दाहालले हस्ताक्षर गरेको पाँच बुँदे सहमति पत्र सार्वजनिक भएको छ।
०७५ जेठ २ गते ओली र दाहालसँगै ओलीका विश्वास पात्र विष्णु पौडेल र दाहालका विश्वास पात्र जनार्दन शर्माद्वारा हस्ताक्षरित उक्त सहमति पत्र सार्वजनिक भएपछि नेकपाभित्र राजनीतिक बहस शुरु भएको छ।
उक्त सहमतिपत्रमा ‘बुँदा नम्बर ४ मा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख गरिएको छ।
पाँच वर्षे सरकार सञ्चालनको अवधिमा कति वर्ष ओलीले र कति वर्ष दाहालले सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छैन्। एकताका एक डिजाइनर तथा दाहालका विश्वास पात्रका अनुसार त्यतिबेला आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो।
नाम उल्लेख नगर्ने सर्तमा उनले भने ‘त्यतिबेला कि सरकार आलोपालो चलाउने कि पार्टी नेतृत्व एउटाले लिने देशको नेतृत्व अर्कोले लिने भन्ने सहमति भएको हो। ओली–दाहालले साढे २ वर्ष सरकारको नेतृत्व गर्नेछन्।’ यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।