क्रान्तिको नयाँ बाटो खोज्दै वैद्य
झन्डै दुईतिहाइ बहुमत प्राप्त नेकपा सरकारको नेतृत्वमा छ । त्यही सरकारको टाउको दुखाइ बनेको छ– अर्को नेकपा, जसका गतिविधिमा प्रशासनले प्रतिबन्ध लगाएको छ । अघिल्लो नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्य ‘किरण’ कै साथी हुन् । अनि, प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द पनि उनकै साथी । वैद्य भने दुवै पूर्वसहयात्रीको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको ‘बेग्लै बाटो’ खोजिरहेका छन् । ‘एकातिर कम्युनिस्ट आन्दोलनमा डबल नेकपा छ, जो संसद्वादमा गइसक्यो । यो पुरानो संस्थाको संरक्षक भइसक्यो,’ वैद्यले भने, ‘विप्लवजीको पार्टी पनि अलमलमा छ ।’
दशक लामो माओवादी युद्धमा प्रचण्डपछिको वरियतामा वैद्य थिए । शान्ति प्रक्रियापछि उनी एकीकृत माओवादीको वरिष्ठ उपाध्यक्ष भए । २०६९ मा पार्टी विभाजन हुँदा उनीसँगै थिए रामबहादुर थापा ‘बादल’ र चन्द । वैद्यलाई छाडेर बादल प्रचण्डतिर फर्के, अहिले गृहमन्त्री छन् । चन्दले पनि वैद्यलाई छाडेर नयाँ पार्टी बनाए, अहिले आफैँ महासचिव छन् । तीन–चार दशक सँगसँगै यात्रा गरेका कमरेड तितरबितर भए पनि वैद्यले क्रान्तिको सपना देख्न छाडेका छैनन् । अहिले उनी नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव छन् । उनको पार्टी पछिल्लो संसदीय निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) बनाएर सहभागी भयो । तर, नतिजा शून्य हात लाग्यो ।
क्रान्तिकारी माओवादी विचारमा खरो उत्रन सकेन । सांगठनिक बल पनि कमजोर हुँदै गर्दा वैद्य अलमलमा परेको विश्लेषण हुन थालेको छ । ‘सिद्धान्त रक्षाका लागि वैद्यजीको पार्टीले लिएको लाइन ठिकै हो,’ विश्लेषक तथा लेखक आदित्य अधिकारी भन्छन्, ‘तर तत्काल समाजमा यसले केही असर पु-याउने देखिँदैन ।’
वैद्य भने विचारमा सबैभन्दा स्पष्ट आफूहरू नै रहेको दाबी गर्छन् । उनी पुँजीवादी जनवादी क्रान्ति पूरा नभएको भन्दै जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवाद निर्माणमा अघि बढ्नुपर्ने बताउँछन् । ‘हामी पार्टी संगठन विस्तार र सुदृढीकरणमा छाैँ,’ वैद्यले भने, ‘मेची महाकाली १५दिने जनजागरण अभियान सकेर पार्टी गतिविधि नियमित अघि बढाउँदै लगेका छौँ।’
कम्युनिस्ट विचारधाराको परित्याग गरेर पनि कम्युनिस्ट पार्टीकै आवरणमा जनतालाई भ्रमित तुल्याउनु सबैभन्दा दुःखद हो
दुई नेकपाको मझधारमा क्रान्तिकारी माओवादी
सत्ताधारी नेकपा र विप्लव नेतृत्वको नेकपाबीचको मझधारमा देखिन्छ, क्रान्तिकारी माओवादी । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै विप्लव नेतृत्वको पार्टीले राज्यसँग टकराव लिन खोजेको देखिन्छ । उनीहरूका गतिविधिबाट सरकारले पनि ‘थ्रेट’ महसुस गरेको सरकारकै पछिल्ला कारबाहीबाट पुष्टि हुन्छ ।
अर्कातिर सत्तारुढ नेकपाको नेतृत्व पनि झन्झन् शक्तिशाली हुँदै गएको छ । वैद्य अहिले न राज्यमा कतै उपस्थित छन्, न विरोधी ध्रुवको नेतृत्वमा । माओवादी विरासतका कतिपय पुराना नेता सँगै भए पनि उनको पार्टीको उपस्थिति जनताबीच कमजोर देखिएको छ । संसदीय निर्वाचन उपयोग गर्दै राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्रका समस्यालाई मूल मुद्दा बनाइ सडक संघर्ष गर्ने क्रान्तिकारी माओवादीले बताउँदै आएको छ । ‘अब १० वर्षे जनयुद्धजस्तो सशस्त्र युद्ध सम्भव छैन,’ वैद्यले भने, ‘निर्वाचनलाई उपयोग गर्दै सडक संघर्षलाई तताउनुपर्छ ।’ आवश्यकताका आधारमा निर्वाचन प्रयोग गर्दै अघि बढ्ने उनले जिकिर गरे । दलित, जनजाति, मुस्लिम, मजदुर, किसानलगायत समुदायले अझै हक अधिकार पाएका छैनन् । गरिबी, महँगी, मूल्यवृद्धि, कर वृद्धिलगायत जनजीविकाका समस्या झन् जटिल बन्दै गएका उनले बताए । वैद्यले भने, ‘राष्ट्रिय उद्योग धरासयी हँुदै गएका छन् । दलाल पुँजीवादको दबदबा बढ्दै गएको छ ।’
माओवादी विरासतका कतिपय पुराना नेता सँगै भए पनि पटक–पटकको विभाजनका कारण वैद्य नेतृत्वको पार्टीको उपस्थिति कमजोर हुँदै गएको छ
संसद्मा सात महिना
पहिलो संविधानसभामा वैद्य समानुपातिक सभासद् भए । आफ्नो रुची नभएको भन्दै वैद्यले सात महिनामै राजिनामा दिए । ‘मलाई संसद्मा जान मन थिएन । यति धेरै साथी छन्, सबै संसद्मा जानुपर्छ भन्ने थिएन,’ उनले भने, ‘सबैभन्दा धेरै जोड प्रचण्डजीले गर्नुभयो । उहाँको कुरा काट्न सकिनँ । पछि उहाँसँगै सल्लाह गरेर हटे,’ उनले भने । संसद् आफ्नो बस्ने ठाउँ होइन भन्ने लागेपछि छाडेको उनको भनाइ छ ।
युद्धमा भने प्रचण्डलाई अत्यन्तै विश्वास गरेर ‘प्रचण्डपथ’ स्थापना गरेकामा अहिले उनी आत्मआलोचक छन् । ‘प्रचण्डजीले पार्टीमा सीधा कुरा राख्नु भएन । असाध्यै छलछामपूर्ण ढंगले नेता कार्यकर्तामाथि व्यवहार गर्नुभयो,’ वैद्यले भने, ‘जनविद्रोह गर्ने भन्दै संसद्वादमा लग्नुभयो । हामी पनि दिग्भ्रमित भयौँ ।’ नेता–कार्यकर्तासँग प्रचण्डले राजनीतिक व्यवहार गर्नुपर्नेमा कूटनीतिक व्यवहार गरेको उनको बुझाइ छ ।
राजनीतिमा किरण, साहित्यमा चैतन्य
राजनीतिमा किरण नामबाट चिनिने वैद्यलाई साहित्य र संस्कृतिक क्षेत्रका पाठकले भने चैतन्य नामबाट चिन्छन् । उनका डेढ दर्जनभन्दा धेरै कला–साहित्य र संस्कृतिसम्बन्धी पुस्तक र बुकलेट प्रकाशित छन् । भारतीय लेखक चन्द्रधर शर्माले लेखेको पाश्चात्य दर्शनसम्बन्धी पुस्तकले जीवनमा धेरै प्रभावित हुुनुका साथै परिवर्तन ल्याएको वैद्य बताउँछन् ।
‘त्यो वेला मलाई संस्कृत दर्शनशास्त्रसम्बन्धी मात्र ज्ञान थियो,’ वैद्यले भने, ‘चन्द्रधर शर्माको प्राचीनदेखि हेगेल दर्शनसम्म पढ्दा धेरै छर्लंग भए । ती पुस्तक पढेपछि जीवनले नयाँ मोड पायो ।’ राहुल सांकृत्यायनले लेखेका वैज्ञानिक भौतिकवाद, भागो नंही दुनियाँको बदलो र वोल्गा से गंगालगायत पुस्तकले धेरै प्रभावित पारेको वैद्य बताउँछन् । ‘राजनीतिक कार्यक्रम हुँदा घरमा केही नगरी बस्नै सक्दिनँ, छटपटी हुन्छ,’ वैद्य भन्छन्, ‘फुर्सदमा पुस्तक पढेर र लेख रचना लेखेर बिताउँछु ।’
वैद्यको राजनीतिक उतारचढाव
२०२१ : कम्युनिष्ट पार्टीको सदस्यता
२०२५ :दाङ पक्राउपछि पहिलो पटक जेल
२०२७ : प्युठानमा पक्राउपछि जेल
२०२९ : पोखरा पक्राउपछि जेल
२०३१ : चौमको केन्द्रीय सदस्य
२०४० : चौमको महामन्त्री
२०४१ :नेकपा मसाल महामन्त्री
२०४२ : नेकपा मशालको महामन्त्री
२०४५ : पदबाट राजिनामा, महामन्त्रीमा प्रचण्ड
२०६० : सिलगुढीमा पक्राउ
२०६३ : भारतको जेलबाट रिहा
२०६४ : सविधानसभा सदस्य
२०६९ : पार्टी विभाजनपछि नेकपा–माओवादी गठन
२०७२ : क्रान्तिकारी–माओवादी महासचिव
हाम्रो बाटो चुनावी होइन
एकातिर कम्युनिस्टकै दुईतिहाइको सरकार छ । अर्कातिर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्रोहको बाटो अगालेको देखिन्छ । तपाईं दुवै धाराको आलोचना गर्नुहुन्छ नि ?
हो, सरकारी र सरकारबाहिरका दुवै नेकपाका आ–आफ्नै विचार, राजनीति, कार्यदिशा र बाटा छन् । हामी ती दुवैभन्दा फरक छौँ । त्यस अवस्थामा ती दुवै धाराको सैद्धान्तिक तथा राजनीतिक आलोचना गर्नु स्वाभाविकै हो । हाम्रो आफ्नै सैद्धान्तिक तथा राजनीतिक स्वत्व छ । आफ्नै तरिकाले हामी क्रान्तिको आदर्श, लक्ष्य र बाटोमा हिँडिरहेका छौँ ।
विप्लवहरूमाथि प्रतिबन्धको घटनामा त उनीहरूको पक्ष लिनुभयो नि ?
विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध नितान्त गलत छ । विप्लव नेतृत्वको नेकपा राजनीतिक दल हो र त्यसैले त्यसप्रति राजनीतिक व्यवहार गरिनुपर्छ । सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ । विप्लव समूहले पनि आफूलाई नेकपा भनेकै छ । यस अर्थमा एउटा कम्युनिस्ट दलले अर्को कम्युनिस्ट दलमाथि प्रतिबन्ध लगाएको देख्दा आमजनमानसमा विचित्रको अनुभूति पैदा भएको पाइन्छ । यो प्रतिबन्धको विरोध गर्दा हामीलाई विप्लवको पक्ष लिएको भन्ने प्रश्नलाई तीन दृष्टिले हेर्नुपर्छ । पहिलो, प्रतिबन्धको विरोध हामीले मात्र गरेका छैनौँ । सरकारीबाहेक प्रायः सबै दल र शक्तिले गरेका छन् । दोस्रो, राजनीतिक मुद्दालाई प्रशासनिक र दमनात्मक हिसाबले हल गर्न खोज्नु सामान्य संसदीय अभ्यासभित्र पर्दैन र यसमा फासीवादको अभ्यास देखिन्छ । तेस्रो, ऐतिहासिक झापा विद्रोहका वेला तत्कालीन पञ्चायती सरकारद्वारा गरिएको दमनको विरोधमा उत्रिएको पूर्वमाले र जनयुद्धको प्रक्रियामा विगतका सरकारले अपरेसन चलाएकामा त्यसविरुद्ध उभिएको तात्कालिक माओवादीको एउटा पक्षसमेत सरकारमा हुँदै आफूलाई कम्युनिस्ट बताउने दलले ठिक त्यही दमनको तरिका अपनाउनु निकै अशोभनीय कुरा हो ।
तपाईंहरू नेकपा सरकारको चर्को विरोध गरिरहनुभएको छ । मानिसहरू भन्छन्– कम्युनिस्ट भएर अर्को कम्युनिस्टको विरोध किन गर्नुहुन्छ ?
ओलीजी र प्रचण्डजीले अवलम्बन गरेको राजनीतिक नीति, कार्यक्रम, बाटो र कार्यदिशा कम्युनिस्ट आवरणमा पुरानै सत्ता, व्यवस्था तथा संसद्वादको संरक्षण गर्ने र साम्राज्यवादी तथा विस्तारवादी उत्पीडन एवं हस्तक्षेपलाई यथावतै राख्ने मान्यतामा आधारित छ । यो अग्रगमनविरुद्ध पश्चगमनको यात्रा हो । त्यसैले उहाँहरूको पार्टीको राजनीतिक गतिविधिको हामीले विरोध गरेका हौँ । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टको विरोध किन गरेको भन्ने प्रश्नको जवाफ दुई ढंगले दिन सकिन्छ । पहिलो, विप्लवले नेतृत्व गरेको कम्युनिस्ट पार्टीमाथि ओली र प्रचण्ड नेतृत्वको नेकपाले किन प्रतिबन्ध लगाएको र दमनको बाटो अख्तियार गरेको होला भन्ने कुराको सारतत्वलाई राम्रोसित आत्मसात् गर्न जरुरी हुन्छ । दोस्रो, सक्कली कम्युनिस्टहरूबीच यस्तो हुनै सक्दैन । यस विषयलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।
शक्तिको मापदण्ड संसदीय निर्वाचन मात्र हुन सक्दैन, परिस्थिति हेरी हामी चुनावको उपयोग, बहिष्कार वा अरू केही गर्न सक्छौँ ।
सरकारी र विद्रोही दुवैको आलोचना गर्नुहुन्छ । तपाईंहरूको राजनीतिक लाइनचाहिँ के हो ?
हामीले नेपालमा पुँजीवादी जनवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो भन्ने कुरा मान्दैनौँ । देश अझै अर्धसामन्ती, अर्धऔपनिवेशिक र मूलतः नवऔपनिवेशिक अवस्थामा छ । यस स्थितिमा हाम्रो पार्टी नोकरशाही तथा दलाल पुँजीवाद एवं सामन्तवादद्वारा हुँदै आएको शोषण, उत्पीडन र साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपविरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ । हाम्रो राजनीतिक लाइन मूलतः यही नै हो ।
तपाईंहरू निर्वाचनमा जानुभयो तर जित्न सक्नुभएन । फेरि चुनावमा जानुहुन्छ कि अरू कुनै बाटोमा ?
निर्वाचनको आसपासमा बनाइएको मोर्चा छिट्टै स्थापित हुन नसक्नु, आत्मगत स्थिति कमजोर रहनु र दक्षिणपन्थी अवसरवादी हावाहुरी चलेका कारण चुनावमा हाम्रो मोर्चा बलियो शक्तिमा स्थापित हुन सकेन । यहाँनेर कुन कुरामा ध्यान दिन जरुरी छ भने शक्तिको मापदण्ड संसदीय निर्वाचन मात्र हुन सक्तैन । जहाँसम्म चुनावमा जाने वा अरू कुनै बाटोमा भन्ने प्रश्न हो, हामीले संसदीय निर्वाचनलाई एउटा कार्यनीतिक प्रश्नका रूपमा लिँदै आएका छौँ । त्यसको निर्धारण निर्वाचनकै समयको परिस्थितिको अध्ययनले गर्छ । परिस्थिति हेरी चुनाव उपयोग, बहिष्कार वा अरू केही गर्न सक्छौँ । परन्तु हाम्रो बाटो चुनावी भने होइन ।
कम्युनिस्टहरूको टुटफुटबाट जनता निराशा भएको देखिन्छ । तपाईं अझै शास्त्रीय क्रान्ति र जनसंघर्ष भनिरहनुभएको छ । जनताले कम्युनिस्टलाई नै किन पत्याउनुपर्ने ?
हो, नेपाल कम्युनिस्ट आन्दोलनमा पैदा भएका टुटफुट, विभाजन र विचलनका कारण जनतामा केही निराशा पैदा भएकै छ । यो दुःखद् विषय हो नै । तर, यसभन्दा पनि अझै दुःखद् विषय भनेको त कम्युनिस्ट विचारधाराको परित्याग गरेर पनि कम्युनिस्ट पार्टीकै आवरण र नाममा जनतालाई भ्रमित तुल्याउनु हो । हामीले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसकै तयारीका निम्ति जनसंघर्ष गर्दै जाने नीति अवलम्बन गरेका छौँ ।
यसलाई शास्त्रीय रूपमा क्रान्ति वा जनसंघर्षको कुरा गर्ने भनेर आलोचना गर्न मिल्दैन । क्रान्ति कुनै जादु होइन र क्रान्ति सोच्नेबित्तिकै सम्पन्न भइहाल्ने मनोगत लहड पनि होइन । क्रान्तिका आफ्ना नियम हुन्छन्, यसका आरोह–अवरोहका आफ्नै प्रक्रिया हुन्छन् । क्रान्ति वस्तुगत र आत्मगत परिस्थितिको अनुकुलता, समग्रता र सचेत तयारीमा आधारित हुन्छ । शास्त्रीय माक्र्सवादको विरोध र माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा माक्र्सवादकै भ्रष्टीकरण गर्ने र त्यसको सारतत्वमाथि हमला बोल्ने नवसंशोधनवादबाट नेपाली कम्युनिस्ट आन्दोलन धेरै प्रताडित र दिग्भ्रमित बन्दै आएको यथार्थ हाम्रासामु छ । जनतालाई धोका नदिइ उनीहरूका आशा, अपेक्षा र सपनालाई साकार पार्न निरन्तर क्रान्तिको बाटोमा अगाडि बढ्ने सच्चा कम्युनिस्टलाई जनताले अवश्य नै पत्याउँछन् । यसमा कुनै पनि शंका गर्नु पर्दैन ।
वीरेन्द्र /ओलीदिपेश शाही (नयाँ पत्रिकाबाट साभार)