अमेरिकी भिसामा कडाई : सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने
काठमाडौं । अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो ।
ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो । यस्तो प्रस्तावपछि केही आलोचना समेत भएको थियो । अमेरिकाको नागरिक अधिकारबारे वकालत गर्ने अमेरिकी सिभिल लिबर्टिजले यसको प्रभावकारिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो । त्यसको केही समयपछि कार्यान्वयनमा ल्याइएको यो व्यवस्थाबाट झण्डै एक करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान छ ।
स्टेट विभागका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले आवेदकहरुले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने व्यवस्था बनाएको उल्लेख गरेको छ ।
खासगरी काम र अध्ययनका लागि अमेरिका जान चाहनेका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
तर, केही निश्चित कूटनीतिज्ञ र औपचारिक भिसाका आवेदकको हकमा भने यो नियम लागू हुनेछैन । उनीहरुले सामाजिक सञ्जालको विवरण पेश नगरी पनि भिसा प्राप्त गर्न सक्नेछन् ।
सामाजिक सञ्जाल प्रयोगबारे कसैले झूटो बोलेको भेटिएमा उसले गम्भीर आप्रवासन परिणाम भोग्ने एक अमेरिकी अधिकारीले बताएका छन् ।
यसअघि आतंकवादी समूह नियन्त्रित क्षेत्रका मानिसहरुले मात्र सामाजिक सञ्जालका गतिविधि भिसा लिनुअघि बुझाउनुपर्दथ्यो ।
‘वैध यात्रा र अमेरिकी नागरिकको रक्षाका लागि लगातार स्क्रिनिङ प्रक्रिया सुधारको मेकानिजम पत्ता लगाउन हामी लागिपरेका छौं’, अमेरिकाको स्टेट डिपार्टमेन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विभिन्न देशका नागरिकहरु अध्ययन तथा कामका लागि ठूलो संख्यामा अमेरिका जाने गरेका छन् । कम विकसित देशका लागि अमेरिका रोजाइको पहिलो गन्तव्यमा पर्छ ।
ट्रम्प आप्रवासीप्रति निकै गरम देखिँदै आएका छन् । शुक्रबार मात्रै ट्रम्पले मेक्सिकोका सामानमा कर लगाउने घोषणा गरेका थिए ।
-अनलाईन खबरबाट