Logo

किन विप्लव बनेर मर्न तयार हुन्छन् मान्छेहरु?


सुकेधारा विष्फोटमा मर्ने विप्लव माओवादीका मध्य–पश्चिम कमाण्डर गोकुल मगर गरीबी, जीवन–देशप्रतिको निराशा र माओवादी नेताबाट पाएको धोकाका कारण मर्न–मार्न तयार थिए ।

पूर्व माओवादी लडाकु गोकुल राना मगरले आफ्नो फेसबुकमा लेखेका रहेछन् – ‘केही गर्न सकिएन जिन्दगीमा….। निरन्तर प्रयासमा छु।’

गोकुलले फेसबुकमा आफूलाई ‘नयाँ युगको खोजीमा हिँडेका एक समरयात्री’ को रुपमा पनि चिनाएका रहेछन्।

तर, उनको ‘नयाँ युग’ खोज्ने यात्रा हठात् टुङ्गियो। काठमाडौंको सुकेधारामा गत जेठ १२ गते भएको बम विष्फोटमा उनको मृत्यु भयो।

त्यही दिन काठमाडौंकै घट्टेकुलोमा पनि विष्फोट भएको थियो। ती दुई विष्फोटमा परी दाङका ३१ वर्षीय गोकुलसहित बझाङका २७ वर्षीय प्रज्वल शाही, कालिकोटका २७ वर्षीय दिपेश विक र निरन्तर मल्ल भनिने एक युवक गरी चार जनाको मृत्यु भएको थियो।

इन्द्रसरा खड्का

‘अनागरिक’

गृहमन्त्री रामबहादुर थापाको शब्दमा गोकुल राना मगर र उनीसँगै ज्यान गुमाउने अन्य तीन नेपाली युवा ‘नागरिक’ थिएनन्, कुनैबेला आफूसँगै ‘जनयुद्ध’ लडेका विप्लवका ‘कार्यकर्ता’ मात्रै थिए।

विष्फोटबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग ‘चार कम्पनी जनसेना’ रहेको पनि बताए। सुरक्षा स्रोतहरूका अनुसार, एक कम्पनीमा कम्तीमा सय लडाकुहरू हुन्छन्।

घट्टेकुलो र कपुरधारामा विष्फोट भएको भोलिपल्ट गोंगबुमा विप्लव माओवादीले राखेको बम निष्क्रिय बनाउँदै सेनाको एक टोली । तस्वीरः रिवाज राई

करिब १७ हजार नेपालीको ज्यान जाने गरी ‘जनयुद्ध’ लड्ने माओवादीहरू सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘अब कोही भोकै बस्नु नपर्ने’ र ‘देश समृद्ध हुने’ सपना देखाइरहेको छ।

तर, किन अझै गोकुलजस्ता पूर्व माओवादी लडाकुहरू विप्लवको बन्दुक बोक्न तयार छन्? देश संघीय लोकतान्त्रिक गणतन्त्र बन्दासमेत उनीहरू किन मर्न र मार्न तयार छन्?

यी प्रश्नहरूको उत्तर खोज्न काठमाडौं प्रेसले गोकुल राना मगरको जीवन–कथा बुझ्ने प्रयत्न गरेको छ। उनका साथीभाइ र आफन्तसँग कुरा गर्दा के बुझिन्छ भने उनी आफ्नो जीवन र देशको अवस्थाप्रति निराश थिए। पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूजस्ता कार्यकर्ता र जनतालाई धोका दिएको ठम्याइँ उनको थियो।

नेता गाडीमा सरर, पूर्व लडाकुको पसिना तरर

सुकेधारा र घट्टेकुलो विष्फोटको भोलिपल्ट विप्लवले एक विज्ञप्ति निकाल्दै ‘जनमुक्ति सेना’का ‘कमाण्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वल शाही र कमरेड निरन्तरले सहादत’ प्राप्त गरेको जानकारी दिए।

विप्लवको विज्ञप्तिमा उल्लेख गरिएका ‘कमरेड महान’ नै गोकुल राना मगर हुन्।

दाङको बबइ नगरपालिका–३ निवासी गोकुल विप्लव माओवादीका मध्य–पश्चिम सैन्य कमाण्डर थिए। उनले माओवादी युद्ध पनि लडेका थिए। शान्ति प्रक्रियापछि सेना समायोजनको क्रममा उनले स्वेच्छिक अवकास रोजेका थिए।

गोकुलका बुवा शेरबहादुर राना मगर पनि माओवादी युद्धमा संलग्न थिए। उनको पार्टी नाम ज्वाला थियो। गोकुलका श्रीमती तारादेवी पुन पनि माओवादी युद्धमा लागेकी थिइन्। उनीहरूले युद्धकै बेला ‘जनवादी विवाह’ गरेका थिए। उनका दुई छोरी र एक छोरा छन्।

दाङमा गोकुल राना मगरको दाह संस्कार गरिँदैन । तस्वीरः सुरेन्द्र राना मगर, फेसबुक

दाङमा गोकुल राना मगरको दाह संस्कार गरिँदैन । तस्वीरः सुरेन्द्र राना मगर, फेसबुक

स्वेच्छिक अवकाश लिने पूर्व माओवादी लडाकुलाई सरकारले जनही ५ लाख रुपैयाँ दिएको थियो। गोकुल पनि ५ लाख रुपैयाँको चेक बोकेर दाङ फर्किएका थिए। त्यो पैसाले उनले दुई वटामात्रै कोठा भएको सानो घर बनाए।

घर त बन्यो, तर हातमुख जोड्ने मेलो थिएन। छोराछोरी जन्मिए, हुर्किन थाले। खर्च बढ्यो। आयस्रोत थिएन। यसैले, उनी पैसा कमाउन भनी काठमाडौं आए। यहाँ उनले इँट्टाभट्टामा मजदुरी गरे।

उनले काठमाडौंमा इँटा बोकिरहँदा माओवादी नेताहरू भने करोडौं पर्ने गाडीमा सुरक्षागार्ड अघि–पछि लाउँदै सरर हिँड्थे। नेता त नेता, नेताका सन्तानले पनि विलासी जीवन बिताइरहेको समाचारहरू सुन्थे।

२०५९ सालमा युद्धमा होमिँदा गोकुलको पढाइ छुटेको थियो। शान्ति प्रक्रिया सुरु भएपछि २०६४ सालमा उनले एसएलसी त उत्तीर्ण गरे। तर, त्यस बेला पढाइ अघि बढाउन धेरै ढिलो भइसकेको थियो। उनको काँधमा बालबच्चा पाल्ने–पढाउने जिम्मेदारी जो थपिएको थियो।

पढाइ नभएपछि उनले काम पाएनन्। आफ्ना पुराना नेताहरू भेट्न खोजे। तर, अब त आफ्नै नेता भेट्न पनि मुश्किल परिसकेको थियो।

त्यस बेला विप्लव भने पुरानो पार्टीबाट अलग्गिएर अर्को युद्धको तयारीमा लागेका थिए। उनले विप्लवलाई आदर्श मान्न थाले। र, विप्लव नेतृत्वको मध्यपश्चिम कमाण्डर बनेर फेरि मर्न–मार्न तयार भए।

गोकुलले आफू विप्लवको पार्टीमा लागेको आफ्नै जेठा दाइ सुरेन्द्र राना मगरलाई समेत सुनाएका थिएनन्। सुरेन्द्रले काठमाडौं प्रेससँग भने ‘भाइ काठमाडौंका इँटा भट्टामा काम गर्छ भन्ने मात्रै थाहा थियो, तर ऊ त फेरि युद्धको तयारीमा रहेछ!’

सुरेन्द्र युद्धमा लागेनन्। पढाइ पूरा गरे। अहिले उनी जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत छन्। थोरै सही, महिनैपिच्छे तलब आउँछ। उनलाई हात–मुख जोड्ने फिक्री छैन।

तर, भाइलाई भने युद्ध सकिएपछि परिवार धान्न गाह्रो भएको सुरेन्द्र बताउँछन्। सुरेन्द्र भन्छन्, ‘भाइको काँधमा श्रीमती र छोराछोरी पाल्नुपर्ने दायित्व थियो, त्यसैले एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकेनन्। शैक्षिक प्रमाणपत्र नभएपछि उनले गतिलो काम पनि भेट्न सकेनन्। स्वेच्छिक अवकाश रोज्दा पाएको ५ लाख रुपैयाँले कति दिन थेग्थ्यो र ?’

सुरेन्द्रका अनुसार, गोकुल दुई वर्षअघिसम्म बेलाबेला घर आइरहन्थे। तर, दुई वर्षदेखि उनको घर आउने क्रम ठप्पै भएको थियो।

रेडियोमा गजल कार्यक्रम चलाउँथे

‘जनमुक्ति सेना’बाट अवकाश लिएर घर फर्केपछि गोकुल केही समय दाङमै बसे। उनी गीत–गजल लेख्थे। गीत पनि गाउँथे। उनीसँग राम्रो कला र गला थियो।

गोकुलको गाउने–बोल्ने कला देखेर दाङको सामुदायिक रेडियो हापुरेले उनलाई जागिर दियो। उनी ‘गजल सरोवर’ नामक कार्यक्रम चलाउँथे।

उनकाे रेडियो कार्यक्रम दाङमा निकै लोकप्रिय भएको थियो। उनकै कार्यक्रमले आफ्नो रेडियोको स्रोता बढेको स्टेशन म्यानेजर प्रेम बहादुर राम्जा बताउँछन्।

प्रेमका अनुसार, गोकुल मिलनसार थिए। सधैं मिठो बोल्थे। हाँसी राख्थे। तर, साथीभाइ र स्रोतामाझ जति नै लोकप्रिय भए पनि उनलाई रेडियोले घरखर्च धान्ने पैसा दिन सकेन। सात महिनापछि उनले जागिर छोडे।

प्रेम भन्छन्, ‘रेडियोमा काम गरेर परिवार पाल्न नसक्ने भएपछि उनले जागिर छोडे। त्यसपछि कहाँ गए भन्ने थाहा थिएन। अचानक उनको मृत्युको खबर सुनियो।’

‘हामीले धोका पायौँ’

सल्यानका राजकुमार क्षेत्री गोकुलका नजिकका साथी थिए। राजकुमार पनि पूर्व माओवादी लडाकु हुन्।  ‘जुम्ला, कालिकोट, रुकुम, रोल्पा जहाँ पुग्यौँ, सँगै हुन्थ्यौँ। कहिले खान पाइन्थ्यो, कहिले भोकभोकै हिँड्थ्याैँ। युद्धमा हुँदा, सँगै बसेका, सँगै रमाएका साथीको मृत्युको खबर पत्याउन गाह्रो परेको छ,’ राजकुमारले भने।

तत्कालीन ‘जनमुक्ति सेना नेपाल’को मध्य डिभिजन अन्तर्गत मंगलसेन स्मृति व्रिगेड २० नम्बर बटालियनमा रहेर उनीहरूले साथसाथै युद्ध लडेका थिए।

राजकुमारले भने, ‘दलित, गरिब र निमुखा जनताको निम्ति भन्दै प्रचण्डले म र गोकुलजस्ता युवालाई युद्धमा धकेले। तर, हाम्रो अवस्था अहिले पनि उस्तै छ। प्रचण्ड भने विलासी जीवन बिताइरहेका छन्। यसैले, गोकुल फेरि बन्दुक उठाउन बाध्य भएका हुन्।’

राजकुमार हाल नेपालमा छैनन्। भारतमा मजदुरी गर्छन्। भारतबाटै काठमाडौं प्रेससँग टेलिफोन सम्पर्कमा आएका उनले भने, ‘जुन एजेण्डा र लक्ष्य लिएर माओवादीले आन्दोलन थालेको थियो। त्यो लक्ष्यलाई छोडेर प्रचण्डले धोका दिए।

kathamandupress

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्