काठमाण्डौ बम काण्ड : माइला लामाको तेस्रो असफल ‘मिसन’
काठमाडौं । गोकुल राना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे जनवर्गीय संगठनका कमाण्डर हुन्।
उनी १० वर्षे सशस्त्र द्वन्द्वमा पार्टीका लागि गीत गाँउदै गाउँबस्ती डुल्थे। मादल तथा बाँसुरी बजाउन पोख्त उनको रुचि साहित्य सिर्जनामा थियाे। तत्कालीन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी शान्ति प्रक्रियामा आएपछि गोकुल सेना समायोजनमा गएनन्। स्वेच्छिक अवकाश रोजे।
जीवनको पढ्ने लेख्ने समय पार्टीलाई समर्पित गरेका उनी त्यसपछि पनि पार्टीकै सांगीतिक समूहमा थिए। केही समय दाङको रेडियो हापुरे पनि काम गरे। त्यहाँ उनी साहित्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्थे।
२०६९ असारमा तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग भयो। गोकुल बैद्यतिर लागे। केही समयपछि बैद्य नेतृत्वको पार्टी पनि फुट्यो। गोकुल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीतर्फ लागे। यी सबै घटनाक्रममा गोकुल र महेश नेपालीसँगसँगै थिए।
उनीहरु माइला लामाको प्रत्यक्ष निर्देशनमा काम गरिरहेका थिए। माइला लामा विप्लव समूहका उपत्यका विशेष ब्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य हुन्।
पछिल्लो समय गोकुल समूहले पार्टीको उच्च तहको बैठकले केही महत्वपूर्ण निर्णय गरेको जानकारी पाएका थिए। त्यो निर्णयअनुसार मोर्चामा परिचालन हुन गोकुललाई समेत सर्कुलर थियो। निर्णय के थियो र मोर्चा कुन हो जानकारी थिएन।
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएसँगै महत्वपूर्ण र उच्च तहका नेता पक्राउ परेका थिए। भोजपुरमा प्रहरीले कार्यकर्तामाथि फायर खोलेको थियो। पार्टीबाट मोर्चामा खटिने मान्छेको कमी थियो। यो जानकारी राखेका गोकुलले आफूलाई कुनै ठूलै मोर्चाको जिम्मेबारी दिन लागिएको अनुमान गरे, यकिन गर्न सकेनन्।
संगठनका कमाण्डर माइला लामाको निर्देशनअनुसार उनीसहितको समूह १२ जेठभन्दा केही दिन अघि काठमाडौं आयो। पार्टीमा बम बनाउने सूर्य भुजेलसहितका ब्यक्तिहरु जेलमा थिए। केही ब्यक्तिहरुले मात्र यो सीप जानेका थिए। विप्लव समुहले ती ब्यक्तिहरुलाई देशभर रहेका ब्युरोहरुमा आलोपालो खटाएको थियो।
गोकुलसहित जनवर्गीय संगठनका कमाण्डरहरु कालिकोटका दिपेन्द्र भन्ने विभुराम बिक र निरन्तर मल्ल ठकुरीलाई सुकेधाराको मोर्चा दिइएको थियो। उनीहरु सबै अहिलेसम्म युद्व मोर्चा नभई पार्टीको सांगीतिक समूहमा काम गर्दै आएका थिए। घट्टेकुलोमा बिद्यार्थी माेर्चाबाट प्रज्वल शाही खटिएका थिए।
पार्टी कमाण्डर माइला लामाको निर्देशनअनुसार बम निश्चित ठाँउमा राख्ने र विस्फोट गर्ने योजना थियो। बिडम्बना निर्धारित स्थान र समय अगाडि नै सुकेधारा र घट्टेकुलोमा बम पड्कियो। घटनामा तीनै जनाको मृत्यु भयो। यता घट्टेकुलोमा शाही समेत मारिए। माइला लामाको योजना सफल हुन सकेन।
लामाको विस्फोट गराउने योजना असफल भएको यो पहिलो पटक भने होइन। उनकै निर्देशनमा परिचालन भएका मोहन नेपालीसँग पनि यस्तै घटना भएको थियो।
गितार बजाउने हात गुमाएका आरोह
मोहन वैद्य नेतृत्वको पार्टीले दोस्रो संविधान सभा निर्वाचन बहिस्कारको नीति तय गरेको थियो। त्यतिवेला विप्लव अलग भइसकेका थिएनन्।
४ मंसिर २०७० मा मतदान हुँदै थियो। त्यसको एकदिन अघि र मतदानका दिन देशभर बम पड्काउने योजना पार्टीले बनायो। त्यसबेला पनि उपत्यका हेर्ने जिम्मा उनै माइला लामाको थियो।
उनले कृष्णबहादुर श्रेष्ठ र आरोह उपनामले परिचित कलाकार महेश नेपालीलाई कालिमाटी क्षेत्रको जिम्मेबारी दिए। लामाको निर्देशनमा किशोर भन्ने ब्यक्तिले बम महेश र कृष्णलाई उपलब्ध गराए।
कुलेश्वरस्थित आवास क्षेत्र रहेको लिंकन मार्गमा बम पड्काउन तोकिएको थियो। किशोरले पत्रिकामा बेरेर दुई थान सकेट बम थमाएका थिए। कंलकीमा किशोरलाई भेटेर बम बोकेर आउँदै गर्दा दुवैले पहिलो पटक बम देखेका थिए। त्यो पड्काउने सीप उनीहरुमा थिएन।
महेशले बमको सुइरो तानी नसक्दै बम पडकियो।
घटनामा महेशको हातको नाडी छिन्यो। कृष्णको अनुहारभरि बमको छर्रा लाग्यो।
हाल विप्लव समूहमै रहेका महेश अहिले पनि जनवर्गीय संगठनमै सक्रिय छन्। सामना परिवारमा गीत कम्पोज गर्ने उनी कुशल गितारबादक पनि हुन्।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर त्यतिबेला कारवाही गरेको थियो। पछि अदालतको आदेशमा दुवै रिहा भए।
अवोध बालकको हातै छिन्यो
दोस्रो संविधान सभा बिथोल्न लागि परेको बैद्य नेतृत्वको तत्कालीन पार्टीले लामाकै नेतृत्वमा भोटेबहाल आजाद स्कुल नजिक मतदान केन्द्रमा बम पड्काउने योजना बनायो। बम राख्नेले भनेको स्थानमा नराखी बाटोमै छाडेर गए।
स्थानीय दानकाजी खड्गी सोही क्षेत्रमा चिया पसल चलाउँथे। घटनाका समय उनका ८ वर्षीय छोरा समिर खड्गी पसल नजिकै खेलिरहेका थिए।
अचानक ठूलो आवाज गर्दै बम पड्कियो। दानकाजीले छोरा समिरलाई दायाँबायाँ खोजे। केही पर अचेत अवस्थामा लडिरहेको अवस्थामा भेटे। छेउमा गंगा र सुनिता बलामी बमको छर्रा लागेर छट्पटाउदै थिए। घटनामा घाइते भएका अबोध बालकको दाहिने हात गुम्यो।
पार्टीभित्र नै विवाद
बैद्य र विप्लवसँगै रहँदा महेश नेपाली र समिर खड्गीको विषयमा पार्टी तहमै चर्चा भएको थियो। त्यसको केही समयपछि विप्लव अलग भए। त्यतिबेला बिस्फोटक पर्दाथ र हातहतियारमा ज्ञान भएकाहरुलाई मात्र परिचालनगर्ने निर्णय भएको थियो।
१२ जेठमा सुकेधारा र घट्टेकुलाेमा भएका घटनामा पुरानै शैलीमा महत्वपूर्ण कार्यकर्ता गुमेपछि पार्टीभित्र यो विषय उठ्नसक्ने देखिएको छ। प्रहरीले १२ जेठको घटनापछि नियन्त्रणमा लिएका विप्लवका कार्यकर्ताले उपत्यकाका असफल ‘मिसन’बारे प्रहरी समक्ष बयान दिएका हुन्। प्रहरी यतिबेला उनै माइला लामाको खोजी गरिरहेको छ।-दीपक खरेल/नेपाल खबरबाट