Logo

वसन्त ऋतुको आगनमसँगै नेपाल १५० प्रजातिका घुमन्ते चराहरु


श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन् । वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन् ।

“पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद् बासु बिडारीले भन्नुभयो, “निकुञ्जको सुकेभार जङ्गलमा अझ बढी गुँड भेटिएका छन् ।” लामो सेतो वा खैरो रङ्गको पुच्छरसँगै सुन्दर आकृतिको स्वर्गचरी साँच्चैको स्वर्गबाट आएझैँ देखिने बिडारी बताउनुहुन्छ । बच्चा हुर्काउन न्यानो मौसमको खोजी गर्दै यो सिजनमा धेरै चरा नेपाल भित्रिने गर्छन् । कतिपय चरा भने फरक मौसमको अनुभूत गर्न नेपाल आउने गरेको चराविद्को भनाइ छ । सुनचरी र स्वर्गचरीले आफू अनुकूलको वातावरण पाउनासाथै बच्चा कोरल्न थाल्छन् ।

गोमायु महाचिल चाइना, रुस र पूर्वी एसियाबाट नेपाल भित्रिसकेको चराविद् तुलसी सुवेदीले बताउनुहुन्छ । “केही चिल गत अक्टोबरमा आएर हिउँद सकिनासाथ फर्किइसके,” सुवेदीले थप्नुभयो, ‘गोमायु भने यही सिजनमा नेपाल आउने गर्छ ।’

उहाँका अनुसार गोमायुजस्तै ३५ प्रकारका शिकारी प्रजातिका चरा नेपाल आउने गर्छन् । नेपालका केही चरा पनि पहाडबाट तराई हुँदै भारत, पाकिस्तानसम्म पुग्ने गर्छन् । नेपाल बसाइ सरेर आउने गरेको गोमायु सन् १९८६ तिर ४० हजार हाराहारीको सङ्ख्यामा नेपाल भित्रिने गथ्र्यो । सन् २०११ को अध्ययनले भने सातदेखि १० हजारको सङ्ख्यामा गोमायु नेपाल आएको देखिएको थियो ।

पछिल्लो समय भने करिब चार हजार पाँच सयको हाराहारीमात्र गोमायु महाचिल नेपाल आएको देखिएको सुवेदीको निश्कर्ष छ । शिकारी प्रजातिका चराको सङ्ख्या विश्वभर झण्डै ७५ हजार रहेको अनुमान गरिन्छ ।

घाँसे मैदानमा बस्न रुचाउने गोमायुले खाने मुख्य आहरा मुसा हो । यसको कमी, डाइक्लोफेनेक विषादीयुक्त गाईभैँसीको मासुखाँदा परेको असर तथा घाँसे मैदानको अभावका कारण यसको आवतजावत र सङ्ख्यामै कमी भएको हुनसक्ने उहाँ बताउनुहुन्छ ।

श्रीलङ्काबाट नेपाल आएको स्वर्गचरीको जोडी चितवनमा बचेरा हुर्काउँदै ।तस्बिर सौजन्य स् चराविद् बासु बिडारी

सन् २०१५ देखि आयुुसिएनको सूचीमा गोमायु महाचिल सङकटापन्नको सूचीमा पर्नुले पनि यसको पुष्टी गर्छ । सन् २०१६ को अध्ययन अनुसार १६८ प्रजाति चरा सङ्कटापन्न सूचीमा छन् । विश्वमै दुर्लभ चरामध्ये नेपालमा ४४ प्रजातिका चरा पाइन्छन् ।

गोमायु र स्वर्गचरी जस्तै हिउँद सकेसँगै विभिन्न देशका चरा बसाई सरेर नेपाल आइपुगेका छन् । यतिबेला विभिन्न देशबाट झन्डै १५० प्रजातिका चरा नेपाल आएको चराविद् हेमसागर बराल बताउनुहुन्छ । उहाँका अनुसार, खडखडे हाँस, ट्याट्याके चरा, स्वेत आँखी भौँ, मलाहा चिल, कालो गरुड, कोइलीका विभिन्न प्रजाति, मुरली चराका प्रजाति, कटुस टाउके, नीलपुच्छ्रे«, लालढुडे, ठेउवा लगायतका चरा नेपाल आएर विभिन्न क्षेत्रमा विचरण गरिरहेका छन् ।

फागुन, चैत, वैशाखतिर आउने यी चरा वर्षात सकिएपछि फर्कने गर्छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइन्छ । “बसाइँ सराइ गरेर आउने चरा कुनै बेला यतै बस्ने गर्दा हरेक वर्ष केही प्रजाति थपिने र फर्केर जाँदा कम हुने खालका घटबढ भइरहने हुन्छ,” उहाँले थप्नुभयो, “कतिपय चरा अफ्रिकाको सहारा क्षेत्रबाट पाँच हजार किलोमिटरको दुरी तय गरी आउँछन् ।” चराको स्वर्ग मानिने कोसीटप्पु क्षेत्रमा पनि यतिबेला बसाइँ सरी आउने चराको सङ्ख्या बढ्दो रहेको छ ।

विदेशबाट नेपाल आउने चरा सूर्य, चन्द्रमा तथा तारा देखिने दिशा, चुम्बकीय क्षेत्रको दिशा पहिल्याउँदै फ्लाइ वे को आकाशे बाटो हुँदै नेपाल आउँछन् । उहाँका अनुसार बासस्थान, आहरा प्रजाति र मौसममा आएको परिवर्तनले बसाइँ सरी आउने चरा प्रभावित बनेका छन् । मौसममा आएको परिवर्तनका कारण चरा पहिले भन्दा अलिक छिटो नेपालमा बसाइँ सरेको हुनसक्ने अनुमान चराविद् टीकाराम गिरी गर्नुहुन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्