नेकपामा ‘हेभिवेट’ नेताको भिडन्त : शक्तिशाली विभागको प्रस्ताव, संगठन विभागमा बादल
काठमाडौं । पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा ४ सय ३९ केन्द्रीय नेताहरुको कार्यविभाजन सम्बन्धि प्रारम्भिक प्रस्ताव तयार भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेकका नेताहरुको जिम्मेवारी प्रस्ताव गरिएको छ । ४९ पेज लामोे कार्यविभाजन सम्बन्धि प्रारम्भिक प्रस्ताव तयार भएको छ ।
ओली र प्रचण्डसहितको परामर्शमा महासचिव विष्णु पौडेलले तयार पारेको प्रारम्भिक प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल भइसकेको छैन । तीन शीर्ष नेताहरुबीच परामर्श भइनसकेको स्रोतले जनाएको छ ।
तीन नेताको सहमतिमा पोलिटब्यूरो गठनपछि जेठको पहिलो साता सचिवालय बैठकमा कार्यविभाजन टुंग्याउने समझदारी भएको थियो । तर, पूर्वमाओवादी समूहमा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई सन्तुलन मिलाउन नसकेपछि छिट्टै कार्यविभाजन टुंग्याउने पूर्व तयारी लम्बिएको हो । उच्चस्रोतका अनुसार अध्यक्ष ओलीले पूर्वमाओवादी समूहबाट बादललाई आफ्नो ‘क्याम्प’मा तानेपछि कमजोर महसुश गरिसकेका प्रचण्डले आफू तल पर्नेगरी पोलिटब्यूरो गठन गर्न नसक्ने जनाऊ दिएका छन् ।
नेपालसहित सचिवालयका नेतालाई शक्तिशाली विभाग
९ सदस्यीय केन्द्रीय सचिवालयमा दुई अध्यक्षबाहेक ७ जना ‘हेभिवेट’ नेता छन् । ओली र प्रचण्डपछि मर्यादाक्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल छन् । प्रारम्भीक कार्यविभाजन प्रस्तावमा नेपाललाई विदेश विभाग प्रमुखको प्रस्ताव गरिएको छ । पूर्वएमालेमा पनि नेपालले विदेश विभाग सम्हाल्दै आएका थिए । त्यस्तै, खनाललाई प्रादेशिक मामिला विभाग वा पूर्व एमालेको जस्तै नीति अनुसन्धान प्रतिष्ठान विभाग दिने तयारी गरिएको छ । तर टुंगो भने लागिसकेको छैन । जिम्मेवारीविहीन खनालले महत्वपूर्ण विभाग दावी गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
खनालले रुचि राखे पूर्व एमालेले गठन गर्ने भनेकै नीति अनुसन्धान प्रतिष्ठान ब्यु“ताउन सकिने एक सचिवालय सदस्यले बताए । प्रारम्भिक प्रस्तावमा गौतमलाई अखिल नेपाल किसान महासंघको प्रस्ताव गरिएको छ भने रामबहादुर थापा‘बादल’लाई संगठन विभाग प्रमुखमा प्रस्ताव गरिएको छ । तर, बादलको ओलीसँगको निकटतासँगै प्रचण्डले गौतमलाई विभाग प्रमुख बनाउन चाहेका छन् ।
नारायणकाजी श्रेष्ठलाई प्रचार तथा प्रकाशन, ईश्वर पोखरेललाई पार्टी स्कूल विभागको प्रस्ताव गरिएको उच्चस्रोतले जनाएको छ । यीबाहेक राजकीय मामिला तथा सुशासन विभाग तथा संघीय संसदीय विभाग प्रभावशाली नेतालाई नै दिने प्रस्ताव गरिएको छ । संसदीय दलको उपनेता सुबास नेम्बाङलाई संघीय संंसदीय विभाग, नेता योगेश भट्टराईलाई प्रचार तथा प्रकाशन विभागको जिम्मा दिने प्रस्ताव गरिएको छ । ओलीसमेत ग्रिनसिग्नलमा भट्टराईलाई यो जिम्मेवारी दिने तयारी गरिएको छ ।
तर, प्रवक्तासमेत रहेका श्रेष्ठलाई फरक जिम्मेवारी दि“दा दोहोरो अभ्यास हुने देखिएपछि प्रारम्भिक प्रस्तावमा श्रेष्ठलाई नै अघि सारिएको छ । उता, वरिष्ठ नेता नेपाल भने संगठन विभागमा स्थायी समिति सदस्य बेदुराम भुषाललाई अघि सार्ने योजनामा रहेको बताइएको छ । दुई अध्यक्षले परामर्श नगरिसकेकाले नेपालले आफ्ना तर्फबाट कुनै पनि नेताको नाम भने औपचारिक रुपमा अघि सारिसकेका छैनन् ।