प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिने : प्रधानमन्त्री ओली युरोप जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् ।
केही दिनअघि मात्रै भियतनाम र कम्बोडिया भ्रमण गरेर फर्किएका ओली आगामी जेठ २६ गते युरोप भ्रमणमा जान लागेका हुन् । ६ दिने भ्रमणमा क्रममा ओलीले स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएका हुन् ।
ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ २९ गते स्वीट्जरल्याण्डको जेनेभामा जान लागेको प्रधानमन्त्री आलीको सचिवालयले जनाएको छ ।
एक अनलाईनलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको शताब्दी समारोहलाई सम्बोधन गर्नेछन् ।
स्वीट्जरल्याण्ड भ्रमण सकेर प्रधानमन्त्री ओली बेलायत जाने कार्यक्रम छ । त्यहाँ उनले अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिनेछन् । बेलायतमा राजनीतिक भेटघाट हुनेबारे भने तय भइनसकेको सचिवालयले जनाएको छ।
बेलायतको भ्रमण सकेर १३ जुनमा फ्रान्स जाने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल–फ्रान्स सहकार्यका विभिन्न परियोजनाबारे छलफल गर्ने कार्यतालिका रहेको छ । दुई देशबीच कुटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा फ्रान्समा विभिन्न कार्यक्रम हुने र ती कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्य तालिका छ ।