Logo

वल्ड रेकर्डको लागी मात्र सगरमाथा चढ्नुहुन्छ भनेर नसोध्नुस्


जब कामीरिता शेर्पा सगरमाथा चढ्ने तयारीमा गर्छन्, धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पासहित परिवारका सबैको आग्रह हुन्छ,  भयो, अब नजाउनुस् ।’

तर उनी कहाँ मान्थे ? तर्क गर्छन्, क्याप्टेनले विमान उडाउन छाड्यो भने के गर्ने ? हामी पनि हिमाल आरोहणको क्याप्टेन नै हौं । हामीले नेतृत्व नगर्ने हो भने अरूले हिमाल चढ्न सक्दैनन् । त्यसैले जानुपर्छ ।’

जेठ ७ गते २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउका उनी कामीरिता शनिबार काठमाडौं आइपुगेका छन् । उनले एक साताको बीचमा दुई पटक आरोहण गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै कामीरिताले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुसी लागेको बताए । उनी जति खुसी छन्, त्यो भन्दा धेरै खुसी उनकी धर्मपत्नी ल्हाक्पा जाङबु देखिएकी थिइन् ।

कामीरिताले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए । ‘कति पटक सगरमाथा चढ्नुहुन्छ भनेर नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो प्यासन हो,’ उनले भनेका छन् ।

कामीरितालाई विमानस्थलमा शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामासहितका पदाधिकारी लगायतले स्वागत गरेका हुन् ।

सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका थिए । त्यसअघि १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३औं पटक आरोहण गरी कीर्तिमान बनाएका थिए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताएका छन् । शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले २००९, २०१० र २०१३ मा दुई-दुई पटक सगरमाथा चढेका थिए ।

कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार यस याममा शनिबारसम्म करीब ६०० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार सगरमाथाको आरोहण १३ गते सोमबार सकिनेछ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

राससको सहयोगमा

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्