इजरायलमा ‘समाजवादी पार्टी नेपाल’को राजनैतिक भेटघाट कार्यक्रम हुने

उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम, नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच ९ बुँदे सहमति गरेर गठन भएको ‘समाजवादी पार्टी नेपाल’को बिभिन्न भातृसंगठनहरु बीच पनि एकता हुने गतिले तिब्रता पाएको छ ।
यसै क्रममा उक्त पार्टीको प्रवास भातृसंगठनद्वय नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले पनि आपसी एकता गर्ने तयारी गरेका छन् । ‘समाजवादी पार्टी नेपाल’ गठन भएको अवसरमा नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले आगामी महिनाको जुन १४ तारिख शुक्रबारका दिन तेल अभिभमा एक राजनैतिक भेटघाटको कार्यक्रम आयोजना गरेको छ ।
नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलका प्रवक्ता समिर श्याङ्बा ह्योल्मोद्वारा जारि बिज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
नवगठीत समाजबादी पार्टीले आफ्नो भावी कार्यदिशाकाे रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिको रक्षा र विकास गर्नुलाई राखेकाे छ । त्यसका लागि जनसंघर्ष र संविधान संशोधनमार्फत प्रगतिशील रूपान्तरण, दिगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख छ ।
समाजवादी पार्टीले समुन्नत संघीय समाजवादको सिद्धान्त अंगाल्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्मा आधारित शासकीय प्रणाली अपनाउने जनाएको छ ।
उच्चस्तरीय राज्य पुनरसंरचना आयोगको प्रतिवेदन अनुसारका १०+१ प्रदेश रहनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको सो पार्टीले जनाएको छ । त्यसका लागि संविधान संशोधन गरेर प्रदेशको पुनरसंरचना गर्नुपर्ने सहमतिपत्रमा उल्लेख छ ।
नेपालका सबै लिंग र जातिसहित वर्गका राष्ट्रिय सवाललाई सम्बोधन गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज निर्माण गर्न प्रतिबद्ध रहेको सहमति भएको छ ।
आर्थिक विकासको ठोस कार्ययोजना लागू गर्ने, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना, कर्मचारीतन्त्रको पुनरगठन र संवैधानिक निकायको सबलीकरण गर्ने पार्टीले जनाएको छ ।
फोरम र नयाँशक्तिबीचको एकताले नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको भन्दै अझ बृहद् राजनीतिक ध्रुवीकरणमा सहभागी हुन लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई आह्वानसमेत गरिएको छ ।