Logo

विश्व प्रवृतिबाट हामीले पनि सिकाैं र देशलाइ ठाउँमा उभ्याऔं


-भरत दाहाल

विश्व प्रवृतिबाट हामीले पनि सिकाैं र देशलाइ ठाउँमा उभ्याऔं – ईण्डियाको चुनावमा भाजपाको गठबन्धनलाई प्राप्त हुने देखिएको ‘अप्रत्यासित मत’का पछाडि एकभन्दा बढी कारणहरु रहेका छन् नै तर चुरो कारण के हो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ। यसको चुरो कारण हो- विश्व प्रवृतिका रुपमा विकास भैरहेको राष्ट्रवादकाे पुनरोदय। अमेरीका, चीन, रुस जस्ता सबैभन्दा ठूला र शक्ति सम्पन्न देशहरुबाट सुरु भएको यो प्रवृतिले समग्र विश्वलाई गाँज्दै लगेको छ।

नव-उदारवादको रक्षा कवचका रुपमा प्रतिपादन गरिका उत्तर आधुनिकतावाद, इतिहासको अन्त्य, पश्चिमी सभ्यताको श्रेष्ठता जस्ता मिथकहरुले ३ दशक यता साम्राज्यवादी शक्तिहरुको हातबाट संसारलाई जसरी लुट्न सहयोग गरे, त्यसबाट उत्पन्न निराशा र विद्रोहको प्रतिबिम्बका रुपमा यस्तो प्रवृतिको विकास सुरु भएको छ। यसको सिधा अर्थ हो- विश्व व्यवस्था नामको गलपाशोको अस्विकृति।

आफ्नो मौलिकता, सभ्यता र संस्कृतिमा जीवनको जुन आनन्द थियो, त्यो आधुनिकताको नाममा पश्चिमाहरुले लादेको वर्वरतामा छैन भन्ने निष्कर्षमा सबै पुग्न थालेका छन्। यस्ता विचारहरुको प्रणेता अमेरीका समेत् यी सोंचहरुबाट पन्छिन थालेको छ। इतिहासतिरको पुनरागमनका रुपमा प्रकट हुन थालेको यस प्रवृतिले आफ्नो उभिने धरातल खोज्न थालेको छ। यसले विश्वलाई बहुध्रुविय अवस्थामा लैजाँदैछ।

जहाँ यस्ता प्रवृतिहरु विकास भैरहेका छन्, त्यसले अर्को देशलाई फाईदा गर्छ भन्ने हुँदैन। यो एउटा स्वदेशी प्रवृति हो। नेपालमा पनि यहि कुराको आवश्यकता छ। सुगौली-सन्धि यताको दासत्वको सिमाबाट बाहिर निस्केर हामी आफ्नो इतिहास र सभ्यतासंग जोडिन सकेनौं भने नेपाल उँभो लाग्दैन। त्यसैले यतिबेला हामीलाई आफ्नो मौलिकतामा देश बुझ्ने राष्ट्रिय विचारधाराको आवश्यकता छ।

यस दिशामा सबैभन्दा ठूला बाधाका रुपमा २ वटा कित्ताहरु छन्। एउटा कित्ता विदेशीको दलालका रुपमा काम गरेर कुर्सी हत्याउने राजनीति गर्ने देशद्रोहिहरु र अर्को कित्ता हो- नेपालको शिक्षा, संस्कृति र मूल्यहरुलाई मास्न नियोजित रुपमा परिचालन गरिएका एनजिओकर्मिहरु। यी दुबैथरि नेपाल विरोधि कित्ताहरुमा आगो नसल्काउँदासम्म यीनीहरुले नेपाललाई आफ्नो मौलिकतामा फर्कन दिंदैनन्।

यस दिशामा अघि बढ्ने दिशामा हामीमाथि विदेशीहरुले अनेक षडयन्त्र गर्नेवाला छन्। अहिलेको दलालतन्त्रभित्रका केहि विसंगतिहरुलाई ढाल बनाएर केहि मानिसहरुले एजेन्डामा नेपालीहरुलाई घुमाउन खोजिरहेका छन्। तर हाम्रो यतिबेलाको जरुरी आवश्यकता भनेको देशलाई समग्रमा हेर्ने र बुझ्ने सिद्धान्तको विकास हो। राज्यको नव-औपनिवेशिक चरित्र बचाईराख्न सिद्धान्तबाट ध्यान विषयान्तर गर्ने र एउटा इजेन्डामा घुमाउने अर्को दलाल प्रवृतिसंग होसियार हुनु पर्दछ।

 

नेपाललाई हेर्ने नेपाली दृष्टिकोण र नेपालको विकास गर्ने नेपाली धरातल- सत्ता दलालहरू नांगिदै गएपछि विदेशीहरूले नेपालीलाई एजेन्डाहरुमा घुमाएर फसाउने खतरा देखिन्छ। एउटा, दुईटा एजेन्डाले नेपालको संकट समाधान हुँदैन। नेपालको संकट समाधानको एकमात्र सर्त हो- सुगौली-सन्धिपछिको राज्य संरचना र व्यवस्था प्रणालीको अन्त्य। यसका लागि नेपालको मौलिकता अनुसारको दृष्टिकोण र विचार बोकेर अघि बढ्नु पर्छ। विदेशीहरुबाट आयात गरिएका वा विदेशीहरुको हात माथि पार्ने गरी उठाईने कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्यहरुलाई खारेज गरौं !

नेपालको शासन प्रणाली पश्चिमा प्रजातन्त्रबाट अलग हुनुपर्छ। नेपालको आर्थिक विकासको प्रणाली नव..उदारवादबाट अलग हुनुपर्छ। नेपालको सामाजिक जीवन प्रणाली पश्चिमाहरुको जातिवादबाट अलग हुनुपर्छ। नेपालको धार्मिक एवं सांस्कसतिक मूल्य ईण्डियन हिन्दूवाद र पश्चिमा धर्मनिरपेक्षताबाट अलग हुनुपर्छ। हामीले जे कुरा गर्ने हो, त्यो राष्ट्रिय मूल्यका आधारमा गरौं ! नेपाललाई हेर्ने नेपाली दृष्टिकोण र नेपालको विकास गर्ने नेपाली धरातलभन्दा बाहिर जानु हाम्रा लागि घातक हुन्छ। हाम्रो ध्यान स्वदेशीपनको विकासमा केन्द्रित होस् !

जहाँ आफ्नाेपन हुँदैन, त्यहाँ पराईकाे आधिपत्य हुन्छ- माेदीकाे विजयलाई नेपालकाे धार्मिक/सांस्कृतिक उन्नतिसंग जाेडेर हेर्नेहरू र तस्कर मुनकाे ‘झाेल’ पिएर धार्मिक समानताकाे गित गाउनेहरू एउटै श्रेेणिका दासहरू हुन्। माेदीकाे हिन्दूवादले त्यसकाे उत्तरकाे सिमाना हिमालय पर्वत श्रृंखला मानेकाे छ, मुनकाे ‘झाेल’मा नेपालकाे सभ्यता र संस्कृतिलाई मास्ने जहर छ। दुबैले नेपालीपनलाई स्विकार गर्दैनन्।

दिमाग भएकाे स्वविवेकिले हर विषयलाई आफ्नाे राष्ट्र, राष्ट्रियता र राष्ट्रिय हितका मातहतमा हेर्छ, दास अरूकाे उत्थानमा उफ्रन्छ। हाम्रा लागि इण्डियन हिन्दूवाद र पश्चिमा निरपेक्षवाद एउटै हुन्। दुबैले नेपालाई आफ्नाे गुलामका रूपमा राख्न चाहन्छन्। इण्डियनहरूकाे साेंच नेपालकाे भारतीयकरण हाे, यूराे-अमेरीकनहरूकाे साेंच नेपालकाे पश्चिमाकरण हाे।

संसार सिद्धान्तको खोजिमा छ, हामीले पनि सिद्धान्त समाताैं !

महान बैज्ञानिक अल्बर्ट आइन्स्टाईनले भनेका थिए- “एउटा सफल व्यक्ति मात्र बन्ने कोशिस नगर बरु सिद्धान्तनिष्ठ व्यक्ति बन्ने कोशिस गर।” आइन्स्टाईनले “एउटा सफल व्यक्तिमात्र बन्न कोशिस नगर” भन्नुको अर्थ अंशको सफलतामा नरमाऊ वा आफूलाई केन्द्रबिन्दूमा राखेर संसारलाई नहेर भन्न खोजेका होलान्। आफ्नो सफलताको मानसिकताले आफूलाई मात्र देख्छ तर सिद्धान्तले समग्र संसारलँई देख्ने सामर्थ्य राख्दछ।

विश्व अहिले सिद्धान्तको खोजिमा अघि बढेको छ। सिद्धान्त आफ्ना आफ्ना खालका होलान तर सिद्धान्त विना मानिस कति स्वार्थि र उपभोक्तावादी बन्छ भन्ने यथार्थताको उदाहरणका रुपमा वर्तमान नेपाली परिवेशलाई हेर्दा पनि पुग्छ। चीनको “बिआरआई” समग्र चीनलाई अघि बढाउने सिद्धान्त हो। ट्रम्पकाे “Make America Great Again” को नारा अमेरीकfको अहिलेको सिद्धान्त हो भने “हिन्दूवाद” विजेपीको सिद्धान्त हो।

यीनै सिद्धान्तका आधारमा ती देशहरुले संसारसंग ब्यबहार गरिरहेका छन्। बेलायत “ब्रेजिक्ट”को सिद्धान्तबाट अघि बढ्न खोजिरहेको छ। रूप र विषयवस्तु फरक भए पनि सबैकाे सार देशभक्ति हाे। नेपाललाई हेर्ने सिद्धान्त के ? यो सिद्धान्त हो- “राष्ट्र पहिलो”। हामी राष्ट्रिय संकटको अवस्थाबाट गुज्रिरहेका छौं। यसर्थ हामीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय हितलाई सिद्धान्त बनाएर मात्र संकटबाट पार पाउन सक्दछौं। “राष्ट्र पहिलो” भन्ने सिद्धान्तमा नागरिक अधिकार र विकासको कुरा पनि समेटिन्छ।

एजेन्डाबाट मात्र हामी अघि बढ्न सक्दैनौं। एजेन्डा भनेको अंश हो, अंशले समग्रको प्रतिनिधित्व गर्न सक्दैन। यो समग्रको मातहतमा हुनु पर्दछ। समग्रको कुरा गर्दा साम्राज्यवादी शक्तिहरु, त्यसको दलाल कित्ता, राज्यको नव-औपनिवेशिक संरचना र अविकासका विरुद्धको बाटो नै हाम्रो यतिबेलाको सिद्धान्त हो र यसलाई राष्ट्र पहिलोको विचारले मात्र संबोधन गर्न सक्दछ। यसमा असमत हुनेहरु अर्को रङका बुख्याँचा मात्र हुन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्