प्रदेश-१ मा ४२२ मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन: असारभित्र ५७ मेगावाट जाेडिँदै

काठमाडौं- प्रदेश-१ मा ४२२ मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन छन् । निजी क्षेत्रको लगानीका २३ आयोजना निर्माण भइरहेका हुन् । निर्माणाधीन मध्ये ५७ मेगावाटका ३ आयोजना चालु वर्षभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी अन्तिम चरणमा पुगेका छन् ।
२५ मेगावाटको काबेली ‘बी’-१, २२.१ मेगावाटको तल्लो हेवा, ९.९ मेगावाटको इवाखोला विद्युत उत्पादन हुने चरणमा पुगेका आयोजना हुन् । काबेली कोरिडोर प्रसारण लाइनमा जोडिने यी आयोजनाले असारभित्र विद्युत उत्पादन गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ३७.६ मेगावाटको काबेली ‘ए’, १० मेगावाटको सिद्धिखोला, ९.५१ मेगावाटको माइबेनी, ९.६ मेगावाटको सुपर माइ ‘ए’ आयोजना पनि निर्माणको विभिन्न चरणमा छन् । काबेली ए पाँचथर तथा सिद्धिखोला, माइबेनी र सुपर माई इलाममा निर्माण भइरहेका आयोजना हुन् ।
यस्तै, ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला ४.८ मेगावाटको खोरुङ्गा खोला, १४.९ मेगावाटको माया खोला, ९.९९ मेगावाटको सवाखोला, १५.१ मेगावाटको सभाखोला ‘बी’ ४.७२ मेगावाटको माथिल्लो पिलुवाखोला-२ र ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना आयोजना पनि निर्माणाधीन छन् ।
६.५ मेगावाटको रावा खोला, ३ मेगावाटको माथिल्लो रावा, ०.९९६ मेगावाटको तेलिया खोला, ५ मेगावाटको जुनवेशी , २३.५ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु र ८ मेगावाटको टक्सार पिखुवा स्वदेशी लगानीमा निर्माण भइरहेका आयोजना हुन् ।
निर्माणाधीन यी आयोजना सम्पन्न भएपछि प्रदेश-१ को विद्युत उत्पादन क्षमता ५ सय ४९ मेगावाट पुग्नेछ । यो प्रदेशमा अहिले १ सय २७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । निजी क्षेत्र र विद्युत प्राधिकरणले निर्माण गरेका २३ जलविद्युतगृहबाट विद्युत उत्पादन हुँदै आएको छ ।
हालै मात्रा भाेजपुरमा निर्माण सम्पन्न ५ मेगावाटकाे पिखुवा खाेलाले विद्युत उत्पादन सुरु गर्यो । पिखुवा खाेलाकाे विद्युत प्रणालीमा थपिएपछि कूल उत्पादन क्षामता १ सय ३२ मेगावाट हुनेछ ।