युनुस आफ्ना साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए

प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।
अघिल्ला दुई घटनाजस्तै यसपटक पनि युनुस दुई मुख्य सहयोगीसहित रिहा भएको केही महिनामै नक्कली भारतीय रुपैयाँ सहित पक्राउ परेका हुन्।
प्रहरीले नक्कली भारतीय ७ करोड ६७ लाख ९४ हजार रूपैयाँ सहित तीन पाकिस्तानी नागरिकलाइ लिन गएका युनुसलाइ नियन्त्रणमा लिएकाे हाे।
यसअघि दुई पटक नक्कली भारतीय रुपैयाँ र लागूऔषधसहित पक्राउ परेका युनुससँगै दोस्रो पटक उनका साला सोहेल खान र सहयोगी सुजन रानाभाट पक्राउ परेका हुन्।
प्रहरीले पाकिस्तानबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं ओर्लिएका एक महिला र दुई पुरुषलाई नियन्त्रणमा लिएको हो। उनीहरुले ल्याएको सुटकेशमा नक्कली भारतीय रुपैयाँ फेला परेको हो।
पाकिस्तानी नागरिकहरु नासिर उद्दिन (पासपोर्ट एआर २४०६४३२), नादिया अनवर (पासपोर्ट सिएन१८१२०३२) र मुहम्मद अख्तर (एए १३४५४९४) पक्राउ परेका छन्।
हेर्नुहोस् उनीहरूको पाकिस्तानी राहदानी:
भारतमा पुराना नोट हटाएपछि नेपालमा पहिलो पटक ठूलो परिमाणमा जाली नोट बरामद भएको हो।
‘कूल ७ कराेड ६७ लाख ९४ हजार नक्कली भारू बरामद भएको छ,’ विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले नेपालखबरसँग भने ‘थप अनुसन्धान र खोजतलास जारी छ।’ प्रहरीले यसअघि २०७० माघ १२ मा युनुस अन्सारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो।
युनुससहित पाकिस्तानी नागरिक मसुद आलम, ओखलढंगा घर भई सीतापाइला बस्दै आएका दिनेश आले, रौतहट घर भई ललितपुरको ताल्छीखेलमा युनससँगै बस्ने साला सोहेल खानलाई पक्राउ गरेको थियो।
अन्सारी पहिलो पटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट २५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन केजी ७०० ग्राम खैरो हेरोइनससहित पक्राउ परेका थिए ।
तीन वर्ष नौ महिना जेल सजाय भोगेर त्यसबेला रिहा भएका अन्सारी त्यसको केही महिनामै पक्राउ परेका थिए।
-नेपाल खबर