Logo

राम्रा फिल्मका लागि दर्शक सदैव तयार : ‘फिल्म जात्रै जात्रा’मा मौलिक कथावस्तु र स्तरिय प्रस्तुति


‘शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो’ । फेसबुक प्रयोगकर्ताको फेसबुक स्टाटस बन्ने गरेको छ यो वाक्य । फिल्म जात्रै जात्राको एक गीतको बोल पनि हो यो । जात्रै जात्रालाई दर्शकको खडेरी छैन । समाजिक सञ्जालमा दोहोर्याएर फिल्म हेर्ने इच्छा देखाएका छन् । माउथ पब्लिसिटीले फिल्मको व्यापारमा सहयोग गरिरहेको छ । फिल्म हाउसफुल छ तर पनि फिल्म युनिट देश दौडाहमा छ । हल–हल पुग्ने देखि मेला महोत्सवमा दर्शकसँग भलाकुसारी गर्न फिल्म युनिट व्यस्त छ ।

जात्रै जात्रा फिल्म सोचेभन्दा राम्रो पाएको फिल्मकर्मीहरुले प्रतिक्रिया दिएका छन् । समीक्षकका नजरमा पनि रुचाइएको छ फिल्म । नेपाली फिल्म क्षेत्रमा फिल्म चलाउन अनेकन फण्डा गरिन्छ । तामझामका साथ पब्लिसिटी गरिन्छ । दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता फिल्मले राख्दैन । फिल्मको बक्स अफिस रिपोर्टको सही तथ्याङ्क समाचारमा आउँदैन । पैसामा गरेका कारोबार रुपिँयामा गरेको छ भनेर हल्ला गर्ने र रुपिँयामा गरेको कारोबार सयमा गरेको डंका पिट्ने फिल्मकर्मीहरुको बाक्लो उपस्थिति छ नेपाली फिल्म क्षेत्रमा । तर यो मामलामा चोखो रह्यो जात्रै जात्रा ।

आम दर्शकमा फिल्म हेर्न जाने मनस्थितिको सिर्जना माउथ पब्लिसिटीले बनाइदिएको छ । जात्रै जात्रा हेर्न विदेशमा समेत हलको खाली ठाँउमा बसेर दर्शकले फिल्म हेरेको दृश्य सार्वजनिक भएको छ । फिल्म हेर्न हलसम्म दर्शक नपुगेको र झिँगा धपाएर बस्नु परेको हल सञ्चालकले सामाजिक सञ्जाल मार्फत बताउने गर्दथे । फिल्म असफल हुँदा नेपालीमा फिल्म हेर्ने संस्कृति नै छैन, फिल्मलाई बुझेनन्, गलत समीक्षा लेखे भन्ने फिल्म निर्माण युनिटको लाम पनि लामै छ । चार तिरबाट जोरजाम पारेको स्क्रिप्टमा फिल्म बनाउने हतारमा स्क्रिप्ट तयार गर्ने प्रवृति छ ‘नानि देखि लागेको बानि’ नै भैसक्यो ।

फिल्म प्रदर्शनको समयमा तनाव र दवाव कतिको छ ? भन्ने जिज्ञासामा जात्रै जात्राका निर्देशक प्रदीप भट्टराई, ‘दवाव त स्क्रिप्ट लक गर्ने बेलामा हुन्छ, त्यो हामीले पार गरिसक्यौँ । अब, केही दवाव लिनुपर्दैन’ । भन्ने उत्तर दिएका थिए । फिल्महरु लगातार जसो असफल भइरहँदा दर्शकलाई हलसम्म तान्न सक्ने खालको फिल्म नबनेको फिल्म समीक्षकहरुको मत रहँदै आएको थियो । वास्तविक रुपमा नै फिल्मले दर्शक तान्न सक्ने क्षमता राखेको जात्रै जात्राको हाउसफुलले देखाएको छ ।

२०७५ सालमा देखिएको निराशा ७६ सालको सुरुवाति समयमा ग्रीन सिग्नल देखिएको छ । मौलिक कथावस्तु र स्तरिय प्रस्तुतिमा बनेका फिल्ममा दर्शकलाई रिझाउन सकिन्छ । झुर फिल्म बनाएर असफलता अस्वीकार गर्न भन्दा राम्रो फिल्म बनाएमा दर्शक हलसम्म तानिन्छन् । जात्रै जात्राले फेरि पनि राम्रो फिल्मको लागि दर्शक छन् भने ग्यारेन्टि गरेको छ ।

यो पनि पढ्नुहोस् : बेकामे रिमेकको ट्रेण्ड

पछिल्लो समय रजतपटमा पुराना गीत संगीतललाई रिमेक गरेर फिल्ममा समावेश गर्ने प्रचलन बढीरहेको छ । पुराना लोकप्रिय र कर्णप्रिय गीतहरुको शब्द मात्र लिएर मर्म नै विगारेको र भिडियोले गीतको उपहास गरेको आरोप दर्शकहरुले लगाउँदै आएका छन् । कुनै कुनै गीतहरुले भने प्रशंशा बटुलेका छन् । गीत संगीत फिल्मको एउटा महत्वपूर्ण अंग हो । फिल्मप्रति दर्शकको ध्यान खिच्ने सजिलो र शसक्त माध्यम पनि गीत हो । फिल्मको जन्रा अनुसार पनि फिल्ममा समावेश गीत संगीतले त्यसै हिसाबले स्थान पाउने गरेको छ ।

‘चट्ट रुमाल क्यामालुम’लाई रि एरेन्ज गरेर फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ मा समावेश गरिएको छ । पुरानो फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गरिएको स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि एरेन्ज गरेर फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ मा राखिएको हो । यो गीत सञ्चारकर्मी बाबुराम दाहालको रचनामा तयार पारिएको थियो । गीतमा शम्भुजित बास्कोटाको संगीत तथा शम्भुजित र साधना सरगमको गायन रहेको थियो । रिमेक गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यस गीतलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायतले अभिनय गरेका छन् । यस गीतलाई रिमेक गरेर झन् बिगारेको भनेर टिप्पणी आएको थियो ।

यस्तै पुरानो फिल्म ज्वालाको गीत ‘आज हाम्रो भेट भाको दिन’ गीतलाई रिमेक गर्दै फिल्म ‘द ब्रेकअप’मा समावेश गरिएको छ । पुरानो भर्जनमा उदितनारायण झा, आशा भोंसले, साधना सरगम र कविता कृष्णमूर्तिको स्वर रहेको छ । गीतमा सरोज खनाल र कृष्टि मैनालीले नृत्य गरेका छन् भने अभिनेता राजेश हमाल पनि उक्त गीतमा प्रस्तुत भएका छन् । चेतन कार्की, डाक्टर ध्रुवचन्द्र गौतम, बुद्धवीर लामा र दिनेश सुब्बाले संयुक्त रुपमा लेखेको गीतलाई शिलाबहादुर मोक्तानले संगीत भरेका छन् । रिमेक भर्जनमा केही शब्दहरुलाई परिमार्जन गरिएको छ । ब्रिजेश श्रेष्ठले रि–एरेन्ज गरेको गीतमा विराज गौतम र मेलिना राईको स्वर रहेको छ । गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केको नृत्य रहेको छ ।

पुरानो फिल्म सम्झनामा समावेश ‘उकालीमा पछि पछि’ बोलको गीतलाई रिमेक गरि फिल्म ‘कृ’ मा प्रस्तुत गरिएको छ । गीतको संगीत तथा शब्दमा केही परिमार्जन गर्दै आधुनिक शैलीमा प्रस्तुत गरिएको छ । रन्जित गजमेरको शब्द तथा संगीतमा उदितनारायण झा र दिपा झाले गाएको पुरानो गीतलाई रिमेक गरेर अलमोडा राना उप्रेतीले गाएका छन् । पुरानो गीतमा भुवन केसी र तृप्ती नाडकरको नृत्य रहेको छ भने रिमेक गरिएको गीतमा अनमोल केसी र अदिती बुढाथोकीको अभिनय रहेको छ ।

यस्तै फिल्म साइनोमा समावेश ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत रिमेक गर्दै फिल्म ‘झमकबहादुर’ मा राखिएको छ । रिमेक भर्जनमा र्याप समावेश गर्दै फास्ट बिटमा बनाइएको छ । पुरानो गीतमा उदितनारायण झाको स्वर रहेको छ । गीतको शब्द कुसुम गजमेरले लेखेकी हुन भने संगीत रन्जित गजमेरले गरेका हुन् । गीतमा भुवन केसीको अभिनय छ । रिमेक गरिएको गीतमा भने ओम सुनार, कविता श्रेष्ठ, मिस्टर आर जे र नगेन्द्र राइको स्वर रहेको छ । रिमेक गीतमा अनुपबिक्रम शाही, यादव देवकोटा, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ यो कर्णप्रिय र लोकप्रिय गीत नसुन्ने कमै होलान् । कतिपय स्थानमा गीतका शब्दहरुलाई परिमार्जन गर्दै यो गीतको रिमेक भर्जनलाई चलचित्र ‘छिरिङ’मा समावेश गरिएको छ । अरुणा लामा र रुद्र गुरुङको आवाजमा रहेको उक्त गीतमा पासाङ बाङ्बलको शव्द र अम्बर गुरुङको संगीत रहेको छ । रिमेक गीतमा यश कुमार र सुनिता थेगिमको आवाज रहेको छ भने यस कुमार र कामना भुजेलको अभिनय रहेको छ । यस्तै, पुरानो फिल्म झुमामा समावेश ‘बोल बोल पाखाहरु’ बोलको गीतलाई पनि रिमेक गरी ‘छिरिङ’मा नै समावेश गरिएको छ । ‘पुरानो गीतमा सुक्मित गुरुङको आवाज रहेको छ भने रिमेक गीतमा सुनिता थेगीमको आवाज रहेको छ । यस गीतका केही शब्द तथा गीतको संगीतलाई केही मात्रामा परिमार्जन गरिएकोे गीतमा कामना भुजेलको अभिनय देख्न सकिन्छ ।

फिल्म ‘विर बिक्रम २’ मा पनि पुरानो फिल्म देउतामा समाविष्ट ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतलाई रिमेक गरी समावेश गरिएको छ । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको उक्त गीतमा रन्जित गजमेरको संगीत रहेको छ । पुरानो गीतमा राजेश हमाल, सिर्जना बस्नेतले नृत्य गरेका छन् । रिमेक गीतमा भने ताराप्रकाश लिम्बू र मेलिना राईको स्वर रहेको छ । गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

यस्तै ‘अल्लारे’ फिल्ममा समावेश ‘रातो टीका निधारमा’ बोलको गीतलाई निर्माणधिन फिल्म ‘रातो टीका निधारमा’ समावेश गरिँदैछ । शहदेव ढुङ्गानाको शब्द र शम्भुजित वास्कोटाको संगीत रहेका गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य रहेको छ । रिमेक गीतमा प्रमोद खरेल र मेलिना राईको आवाज रहने छ भने संगीतकार शम्भुजित वास्कोटा नै रहने छन् । रिमेक गीतमा अंकित शर्मा र साम्राज्ञी राज्य लक्ष्मी शाह देखिनेछन् । रिमेक गीतले पुरानो गीतलाई न्याय गर्न नसकेको दर्शक प्रतिक्रिया आइरहँदा फिल्मका निर्देशक त्यस प्रति सजक रहेको बताउँछन् । यस गीतमा संगीतकार एकै व्यक्ति रहेको हुनाले आलोचना मुक्त हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् :  चलचित्र पत्रकार संघद्वारा ५ पत्रकारलाई सम्मान

चलचित्र पत्रकार संघ नेपालले पाँच जना फिल्म पत्रकारहरुलाई चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसर पारी ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा सम्मान गरिएको छ । संघ स्थापनाको २० बर्षको उपलक्ष्यमा २० औं स्थापना दिवस मनाउँदै संघले फिल्म क्षेत्रमा योगदान दिएका पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

संघले बार्षिक रुपमा यो कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको छ । यस बर्ष भने पत्रकारितामा १५ बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु नरेश भट्टराई र श्याम स्मृतलाई ताम्रपत्र, दोसल्ला र ट्रफीद्वारा ‘चलचित्र पत्रकारिता सम्मान–२०७५’ बाट सम्मान गरिएको हो । यस्तै फिल्म क्षेत्रमा १० बर्ष भन्दा बढि समय दिएका दुई पत्रकारहरु कुवेर गिरी र शारदा थापालाई संघले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरि ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गरिएको हो । पत्रकारिता पेशामा नव प्रतिभा तथा पत्रकारिता संभावना बोकेका पत्रकारहरुबाट फिल्म फोटो पत्रकार बिनोद पोखरेललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरि ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ द्धारा पुरस्कृत गरिएको हो ।

नरेश भट्टराई हाल इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत रहेका छन् भने आफ्नो डिजिटल शो चियापानमा व्यस्त छन् । उनी नेपाली फिल्म क्षेत्रका नम्वर वान होष्ट समेत हुन् । यस्तै श्याम स्मृत पनि विगत लामो समयदेखि फिल्म पत्रकारिता व्यस्त छन् । विभिन्न संचार मिडिया गर्दै हाल उनी भिजनसंसार डटकमका सम्पादक पदमा रहेका छन् ।

यसैगरी कुवेर गिरी हाल रातोपाटी डटकममा कार्यरत छन् । यस्तै शारदा थापा एबिसी टेलिभिजनमा कार्यरत छिन् । प्रोत्साहन पुरस्कारका बिनोद पोखरेल हाल मेरो फिल्म डटकममा कार्यरत छन् । कार्यक्रम जेष्ठ ७ गते राजधानीमा एक भव्य समारोह बीच सम्पन्न गरिएको हो ।

-फिल्मिफन्डाबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्