Logo

के हो जातिवाद र को हो जातिवादी ? –देशमान चौधरी


यो प्रश्न राज्यसत्ता अर्थात् राजनीतिसँग सम्बन्धित छ । सामन्तवादी राज्यसत्तामा सामन्ती राज्यका संचालक जातिहरु, पुँजीवादी राज्यसत्तामा पुँजीवादी राज्यका संचालक जातिहरु तथा साम्राज्यवादी राज्यसत्तामा साम्राज्यवादी राज्यका संचालक जातिहरुको जातीय अहंकारवादी विचारधारा नै यथार्थमा ‘जातिवाद’ हो र जातिवादका पृष्ठपोषकहरु नै ‘जातिवादी’ बन्दछन् । त्यस्तै, दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ताका संचालक जातिहरु नै, यदि तिनीहरु जातीय अहंकारवादी विचारधारा राख्दछन् भने जातिवादी हुन्, भन्ने कुरा ब्याख्या गरिरहनु पर्दैन । नेपाल देशलाई ‘राष्ट्र’ भनिए पनि यो वस्तुतः बहुराष्ट्रिय मुलुक हो । राष्ट्र र जाति तथा राष्ट्रवाद र जातिवाद एउटै हो । अन्धजातिवाद भनेको अन्धराष्ट्रवाद हो ।

नेपालमा शासक जातिहरु आफ्नो जातिगत अहंकारवादलाई ‘राष्ट्रवाद’ शब्दको आवरण दिन्छन् । यसले जटिलता उत्पन्न गरेको छ । राष्ट्रिय (जातीय) अहंकारवाद दुई प्रकारको हुन्छः एक, तथाकथित उच्चजातीय अहंकारवाद र दुई, स्थानीय अहंकारवाद । खड्ग ओली र प्रचण्डको मधेश विखण्डनलाई वैधानिकताको प्रश्न बाहेक पूर्ण जनवादका आधारमा उत्पीडित वर्ग, जाति, क्षेत्र तथा महिलाको संयुक्त राज्यसत्ता निर्माण नगरिएसम्म नेपाली अर्थ–राजनीतिमा कथित उच्चजातीय अहंकारवाद नै प्रधान समस्या हो र त्यसविरुद्ध संघर्ष केन्द्रीत गर्नु क्रान्तिको कर्तव्य हुन्छ । कतिपय स्थानीय जातिगत अहंकारवाद पनि देखापर्ने गर्छन्, त्यसको वैचारिक प्रतिवाद गर्नु पर्दछ ।

माक्र्सवाद–लेनिनवाद–माओवाद स्वीकार गर्नेका लागि अब प्रष्ट हुनुपर्छ, जातीय अहंकारवादी विचारधारामा आफ्नो वा निश्चित जातिको मात्र हित चिताउने, राज्यसत्तामा आफ्नो जातिको विशेषाधिकार खोज्ने वा विगतदेखिको जातीय एकाधिकार सुरक्षित गर्नेहरु नै जातिवादी हुन्छन् । नेपाली समाजमा, गोर्खाली अन्धराष्ट्रवादका नाममा जातिवादको केन्द्रीकरण भएको छ । र, त्यसको चिहान खन्नु माक्र्सवाद हो ।

सोभियत राष्ट्रपति स्टालिनको ब्याख्यामा साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन प्रणाली र एकल मनोवैज्ञानिक संरचनायुक्त ऐतिहासिक रुपले स्थिर जनसमुह नै राष्ट्र हो र राष्ट्रहरुको मुक्तिका लागि कम्युनिष्टहरु संघर्ष गर्दछन । यस परिभाषमा खस र मधेशी समुदाय मूलतः राष्ट्र हुन । यी बाहेकका समुदायहरु राष्ट्रउन्मुख राष्ट्रियता हुन । राष्ट्रिय समुदायलाई नै अग्रेजी ‘नेश्नालिटीज्’ को नेपालीमा ‘जनजाति’ परिभाषित छ । जात भनेको बर्णव्यवस्था अन्तर्गतका ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्रलाई मानिन्छ ।

माओवादी आन्दोलनमा यसैकारण दलित बाहेकका जातिगत मुक्ति संगठनको नाम ‘राष्ट्रिय मोर्चा’ राखिएको तथा उनीहरुको जातीय मुक्ति आन्दोलनलाई नेपाली विशिष्टतामा आन्तरिक राष्ट्रिय मुक्ति आन्दोलन परिभासित गरिएको हो । यो तथ्य नबुझि कम्युनिष्ट पार्टीकामे कुनै नेताले आफूलाई चिन्तन कर्मले माक्र्सवादी ठान्न छाडेर जन्मको आधारमा कुनै जाति विशेष ठानदछ भने त्यो दृष्टिकोण सम्बन्धी गंभिर समस्या हुन्छ ।

अतः कुनैपनि माक्र्सवादीले आफूलाई सर्वहारा कम्युनिष्टको तहमा उठाउन पूर्व जातिगत सम्बन्धमा क्रमभंग गरेको हुनैपर्छ । कम्युनिष्ट पार्टीमा पूर्व जातीय बुझाई यथावत राख्ने हो भने त्यो संयुक्त मोर्चाको विचार मात्र हुनसक्छ ।
(लेखकः प्रतिरक्षा सम्बन्धी अध्यता हुन्)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्