भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको निर्माण सकियो, अब आकस्मिक उडान अवतरण गर्न स

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्गको निर्माण सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए। । यो बिमानस्थलमा ३ किलोमिटर लामो धावनमार्ग बनाइएको छ ।
प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ । विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको प्राधिकरणको भनाइ छ ।
एसियाली विकास बैंकले लगानी गरेको बिमानस्थलको धावनमार्गमा अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भइरहेकै क्षमताका जहाज उडान–अवतरण गर्न सक्ने छन् । ‘हामीले राष्ट्रिय गौरवको आयोजना भैरहवाको मूख्य काम सम्पन्न गरेका छौं,’ अधिकारीले भने, ‘अब बाँकी रहेका अन्य कामले पनि गति लिन्छ ।’ राष्ट्रिय गौरवका आयोजनामध्ये अहिले गौतमबुद्ध र पोखरा विमानस्थलको कामले राम्रो गति लिएका छन् ।
आयोजनाअन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य छ । सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्ने योजना सरकारको छ ।
यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लगानीमा कार्यानवयन भइहरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको यो विमानस्थल निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसनले पाएको छ । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।