वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

राजा महेन्द्रले २०१७ सालमा राजनीतिक ‘कू’ गर्नुभन्दा ४ महिना अघि प्रधानमन्त्री बीपी कोइराला संयुक्त राष्ट्रसंघको महासभाको क्रममा अमेरिका भ्रमणमा थिए। सोही क्रममा अमेरिकी राष्ट्रपति ड्वेट आइजनआवरसँग उनको भेटवार्ता भयो, ७ असोज २०१७ का दिन। दुई शीर्ष नेताबीच अपरान्ह ३ बजेदेखि वार्ता सुरु भयो।
सो वार्तामा राष्ट्रपति आइजनआवरका साथ सेक्रेटरी अफ स्टेट ९अमेरिकी विदेशमन्त्री० क्रिश्चियन हर्टर र लेफ्टिनेन्ट कर्णेल जोन आइजनआवरपनि थिए। प्रधानमन्त्री कोइरालाको साथमा चाहिँ अमेरिका र संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत हृषिकेश शाह थिए। आफ्नो संकलनमा रहेका ऐतिहासिक सामाग्री सार्वजनिक गर्ने क्रममा अमेरिकी विदेश मन्त्रालयले केही बर्षअघि अमेरिकी राष्ट्रपति र नेपाली प्रधानमन्त्रीबीचको संवाद विवरण पनि सार्वजनिक गरेको थियो। विस्तृतमाः
***
जब प्रधानमन्त्री बीपी कोइराला राष्ट्रपति आइजनआवर नजिक सोफामा बसे, केही बेरमै नेपालको पूर्व–पश्चिम राजमार्गको विषयमा छलफल सुरु भयो।
अमेरिकी राष्ट्रपतिले सोधे, ‘कति लामो छ बाटो?’
बीपीले उत्तर दिए, ‘५ सय ५० माइल।’
बीपीको जवाफपछि राष्ट्रपति आइजनआवरले आफ्नो धारणा राखे, ‘भारतीय पक्षले यो राजमार्ग निर्माणको विषयमा चासो दिनुपर्छ।’
प्रधानमन्त्री बीपीले ‘भारतीय पक्षको चासो उत्तर–दक्षिणको राजमार्गमा भएको’ बताए।
बीपीले यो राजमार्गमा भारतीय पक्षको चासो त्यति धेरै नभएको विश्वास दिलाउन खोजे। तर उनले यस सडक सञ्जालका लागि अमेरिकी अनुदानको प्रत्यक्ष माग भने गरेनन्।
अमेरिकी विदेश विभागका सचिव (विदेशमन्त्री) क्रिश्चियन हर्टरले विश्वको सर्वोच्च शिखर सगरमाथाको विषय उठान गरे। र, सोधे, ‘चिनियाँ कम्युनिस्ट पार्टीले यसलाई आफ्नो हो भनेर दाबी गरेको सत्य हो?’
प्रधानमन्त्री कोइरालाले हालै चिनियाँ कम्युनिस्ट पार्टीसँग चिनियाँ सिमानाका बारेमा आफूले गरेको सम्झौताको बारेमा पूर्ण रुपमा खुलाए। उनले सम्झौता र सहमतिका विषयमा चिनियाँ पक्ष नेपालसँग लचकदार रुपमा प्रस्तुत भएको बताए।
(केहीबेर छलफलमा मौनता छायो। यो प्रधानमन्त्रीको व्यवहारवाद थियो।)
राष्ट्रपतिले प्रधानमन्त्री वीपीसँग राजा (महेन्द्र) र रानी (रत्न) लाई आफ्नो व्यक्तिगत तर्फबाट बधाई ज्ञापन गर्न अनुरोध गरे। राजा र रानीको भ्रमणले आफूलाई आनन्दित तुल्याएको पनि उनले बताए।
प्रधानमन्त्री कोइरालाले अमेरिकामा देखिएको सद्भावले राजा र रानी निकै खुशी भएको जवाफ दिए। उनले राजा रानी देश फर्कंदा निकै प्रफुल्लित भएर फर्किएको राष्ट्रपतिलाई बताए।
राष्ट्रपतिले प्रधानमन्त्री कोइरालालाई स्वदेश फर्कनु अगाडि अमेरिकाका केही स्थानमा भ्रमण गर्न आग्रह गरे। राष्ट्रपतिले पश्चिमा मुलुकले सञ्चालन गर्ने ठूला खेतीहरु हेर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
राष्ट्रपतिले भने, ‘१ सय ७५ वर्ष अगाडि हाम्रो ९२ प्रतिशत जनसंख्या खाद्यान्न र फाइबरको उत्पादनमा संलग्न थियो। आज ८ प्रतिशतमात्र यस काममा सहभागी छन्। यसको मतलब, आज एक किसानले उन्नतस्तरको प्रविधि र मलका कारण अन्य २० जनाका लागि खाद्यान्न र फाइबर उत्पादन गर्न सक्छ।’
त्यसपछि राष्ट्रपति आइजनआवरले आफ्नो दिल्ली भ्रमण र बसाई निकै रोमान्चक भएको सम्झना गरे। राष्ट्रपति आइजनआवर नयाँदिल्लीमा आयोजित कृषि मेलामा सहभागी हुन पुगेका थिए।
प्रधानमन्त्री कोइरालाले आफू ६ अक्टोबरसम्म काठमाडौँ फर्किसक्नु पर्ने बताए। उनले बेलायत भ्रमणमा रहेका राजारानी त्यो मितिसम्म स्वदेश फर्किसक्ने जानकारी पनि राष्ट्रपतिलाई दिए।
केही हप्ता अगाडिमात्र नेपाल–चीन सिमाना (मुस्ताङ) मा एक नेपाली मारिएका थिए। चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। यही कारण आन्तरिक समस्या बेहोरिरहेका प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना गरिने कुरा राष्ट्रपति आइजनआवरलाई जानकारी गराए।
जहाँ त्यो घटना भएको थियो, त्यहाँ जहाज पुग्न सक्दैनथ्यो। यो कुरा वीपीले राष्ट्रपति आइजनआवरलाई जानकारी गराए। त्यहाँ जहाज पुग्न सक्दैन भन्ने कुराले राष्ट्रपति चकित परे।
प्रधानमन्त्री कोइरालाले नेपाल रोमाञ्चक मुलुक भएको बताउँदै राष्ट्रपतिलाई निकट भविष्यमा नेपाल भ्रमण गर्न निम्तो दिए। राष्ट्रपतिले आफू शिकारको विषयमा सोचिरहेको बताए। उनले आफूलाई चराभन्दा ठूला कुनै प्राणीको शिकार गर्ने रुचि नरहेको जानकारी गराए।
नेपाली राजदूत (ऋषिकेश शाह) पनि सँगै थिए। उनले भने, ‘हामीकहाँ थुप्रै प्रजातिका चरा पनि छन्।’
प्रधानमन्त्री कोइरालाले शिकार खेल्ने बाहेक नेपालमा हेर्न सकिने थुप्रै कुराहरु रहेको जानकारी गराए।
राष्ट्रपति आइजनआवरले इन्दु (भारत–पाकिस्तान) बस्तीका विषयमा समेत छलफल गरे। उनले कास्मिर समस्यामा केही गर्नु जरुरी रहेको धारणा राखे। प्रधानमन्त्री कोइरालाले राष्ट्रपति आइजनआवरको भनाईमा सहमति जनाए। तर उनले यो पनि अवगत गराए कि, यस विषयमा हामीबीच हुने सहमतिले कस्मिरको विषयमा झन् समस्या सिर्जना हुनसक्छ।
राष्ट्रपतिले प्रधानमन्त्रीको कस्मिरका जनताको अभिमतलाई ध्यान दिनुपर्नेमा जोड दिए। उनले फिलिपिन्समा पनि स्वतन्त्रताका लागि आन्दोलन भइरहेको बताउँदै अमेरिकाले त्यहाँको स्वतन्त्रतालाई स्वीकार गरेको जवाफ दिए।
राष्ट्रपतिको साथमा रहेका लेफ्टिनेन्ट कर्णेलले प्रधानमन्त्री कोइरालासँग उनले ‘हार्भर्ड स्कूल अफ बिजनेश’ का प्रशासक डोन के. प्राइसलाई भेटेका छन् कि छैनन्’ भन्ने प्रश्न गरे। प्राइस राजाको अनुरोधमा काठमाडौँ पठाइएका थिए। उनले त्यहाँ सरकारी संस्थानहरुलाई सल्लाह दिएका थिए।
प्रधानमन्त्री कोइरालाले जवाफ दिए, ‘मैले प्राइसलाई काठमाडौँमा कैयौँपटक भेटेको छु।’
केहीदिनमात्र अघि समेत आफूले प्राइसलाई वासिङटनमा आयोजित एउटा कार्यक्रममा भेटेको जवाफ कोइरालाले दिए। जोन आइजनआवरले प्राइस कुनै समय आफ्नो टोलीमा सदस्य भएको बताउँदै प्राइसले नेपालबाट फर्कंदा आफू नेपालका प्रधानमन्त्रीको कार्यबाट निकै प्रभावित भएको बताएको जानकारी गराए।
प्रधानमन्त्री कोइरालाले आफू र आफू नेतृत्वको सरकारले नेपालको विकासका लागि र देखिएका सम्पूर्ण समस्यालाई हटाउन कडा परिश्रमका साथ काम गरिरहेको विश्वास दिलाउन खोजे। नेपालमा अनगिन्ती समस्या रहेको जानकारी उनले गराए।
राष्ट्रपति आइजनआवरले जवाफ दिए, ‘अमेरिका, फ्रान्स, बेलायत लगायतले विश्वका जनताको जीवनस्तर उकास्न शताब्दीदेखि भूमिका निर्वाह गर्दै आएका छन्। विकासका लागि समय लाग्छ। यसका लागि अविकसित मुलुकहरुले सबैभन्दा पहिले अधैर्यता त्याग्नुपर्छ।’
राष्ट्रपतिको कुरामा प्रधानमन्त्री कोइरालाले आपत्ति जनाएनन्। तर उनले आन्तरिक र बाह्य रुपमा कम्युनिष्ट दबाबले आफ्नो मुलुकलाई अगाडि बढ्न प्रेरित गरिरहेको जानकारी गराए।
उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले वर्तमान समयमा नेपाललाई त्यस्तो दबाब दिएको छैन। तर, कुनैपनि बेला यस्तो दबाब दिनसक्छ।’
राष्ट्रपतिको टिप्पणी थियो, ‘तपाईं उनीहरुको बन्दुकको शक्तिमुनि हुनुहुन्छ।’
उनले यो पनि सोधे, ‘नेपालका कम्युनिस्ट कत्तिको पढालेखा छन्? शिक्षित छन् कि छैनन्?’
प्रधानमन्त्री कोइरालाले जवाफ दिए, ‘उनीहरु शिक्षित छन् र जनतामा प्रभाव राख्ने क्षमता पनि राख्छन्।’
राष्ट्रपति आइजनआवरले भने, ‘नेपालका मानिसहरु किन कम्युनिस्ट हुन चाहन्छन्, यो कुरा मैले बुझेको छैन।’
उनले यो पनि भने, ‘किन कोही यसरी नोकर बन्न चाहिरहेका छन्? अरुको आदेश मानेर बस्न तयार भएका छन्?’
प्रधानमन्त्री कोइरालाले नेपाली भूमिमा कम्युनिष्ट प्रभाव धेरै भएको उल्लेख गरे।
दुबैबीचको कुराकानी हागर्तेको प्रवेशसँगै समापन भयो। राष्ट्रपति र प्रधानमन्त्री त्यसपछि अर्को कोठामा प्रवेश गरे, उनीहरुले सामूहिक तस्वीर खिचाए।