यीनै हुन् कुलमानमाथि ९ अर्ब भ्रष्टाचारको आरोप लगाउने सत्तारुढ सांसद, झण्डै हुर्मत लिए
काठमाडौं, ७ जेठ । संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेर्शक कुलमान घिसिङमाथि आरोप लाग्यो– ९ अर्ब भ्रष्टाचार गरेको । त्यसमा घिसिङको उत्तर थियो– प्रमाणित भए पासो लागेर मर्न तयार छु !
प्राधिकरणभित्र भ्रष्टाचार भएको छानबिन गर्नका लागि समिति पनि गठन भएको छ । ठूला घराना र उद्योगीले विद्युतको बक्यौता महसुल नतिरेपछि घिसिङले कडा कदम चालेका थिए । तर तिनै उद्योगीले घिसिङलाई र्याख र्याख पार्न संसदीय समितिमा रहेका सांसदको प्रयोग गरेको स्रोतको दाबी छ । र, प्रयोग भए सत्तारुढ नेकपाका सांसद –अमनलाल मोदी ।
‘डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार किन गर्नुभयो ?’ मोदीले घिसिङको हुर्मत लिँदै यहि प्रश्न तेर्साएका थिए । घिसिङले त्यसको उत्तर ‘प्रमाणित भए आत्महत्या’ गर्ने भनेरै दिए ।
‘सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ’, घिसिङले यो पनि भनेका थिए ।
सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।
त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा काम रोकिएपछि घिसिङले केही दिनअघि एक जनालाई थुनिदिन्छु भनेका थिए । जुन भिडियो चर्चामा आयो । घिसिङको उक्त पहलकदमीका कारण अहिले काम सुचारु छ, रोकिएको छैन ।
मोदीले यो प्रसङ्ग पनि उठाए । ‘स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ को हो ?’
सांसद किन यसरी चल्छन् ?
विद्युत प्राधिकरणलाई दोहन गर्ने उद्योगी व्यापारीको सांसदसँग राम्रो सम्बन्ध रहेका कारण प्रभावकारी काम गर्ने निकायका प्रमूखमाथि प्रहारको प्रभावमा राख्छन् । तर, कुलमान गलेनन् ।
केही समयअघि सबैभन्दा बढी बक्यौता रहेका नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका घिसिङविरुद्ध खरो उत्रिएका थिए । सत्तासँग सम्बन्ध रहेका कतिपय सिमेन्ट उद्योगलगायतले पनि बक्यौता रकम तिर्न बाँकी छ ।
‘उद्योगी व्यापारीसँग लञ्च र डिनर गर्ने सांसदको संख्या कम छैन, यसकारण काम गर्नेमाथि प्रश्न उठाउनु स्वभाविक देखिन्छ । तर, यो घातक काम हो । प्रश्न सोध्न पाइन्छ तर प्रमाणका साथ’, स्रोतले भन्यो,‘हातमा कुनै पनि प्रमाण नलिई प्रश्नका नाममा कसैको हुर्मत लिन पाइन्छ ?’