Logo

लोकसभा निर्वाचनमा मत सर्वेक्षणको हंगामा, अनुमान मिल्ला कि नमिल्ला ?


भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । अहिले चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ ।

मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल)का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ ।

सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ ।

सर्वेक्षणमा सत्तारूढ भारतीय जनता पार्टीको राष्ट्रिय प्रजातन्त्रिक गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखाएका छन् । भाजपा सम्मिलित गठबन्धनले ५४२ मध्ये ३०० भन्दा बढी सिट जित्नेछ जुन सरकार बनाउन चाहिने २७२ भन्दा बढी हो । यी मत सर्वेक्षणलाई आधार मान्दा मोदी अझै पाँच वर्ष नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासमा रहेनछन् ।

अहिलेका मत सर्वेक्षणले बहुमत एनडिएको आए पनि भाजपाको सिट घट्ने र कंग्रेसको सिट बढ्ने देखाएका छन् । तर भाजपासहितको एनडिएले कति सिट पाउला भन्नेमा उनीहरूका तथ्यांक फरक–फरक छन् ।

निल्सनले २७७, सी भोटर्सले २८७, जनकी बातले ३०५, भिएमआरले ३०६, इप्सोसले ३३६, चाणक्यले ३५० र एक्सिसले ३५४ सिट एनडिएले ल्याउने सम्भावना देखाएका छन् । यी सबैले कंग्रेस आईसहितको युपिएको सिट भने पाँचवर्ष अघिभन्दा डेढदेखि दुई गुणा बढ्ने संकेत गरेका छन् । फरक–फरक सर्वेक्षणले उसले ९२ देखि १३२ सिट हात पार्ने देखाएका छन् ।

तर मे २३ मा आउने चुनावी परिणाम यी मत सर्वेक्षणका नतिजाजस्तै होला भन्नेमा धेरैलाई शंका छ । अहिले प्रतिपक्षमा रहेको भारतीय कंग्रेसका नेताहरूले वास्तविक चुनावी परिणामले अहिलेका मत सर्वेक्षणलाई गलत सावित गर्ने दावी गरेका छन् ।

अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ ।

किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । उनीसँगै भाजपाका गिरिराज सिंह र राष्ट्रिय जनता दल (राजद)का तनवीर हसन पनि उम्मेदवार छन् ।

बिहारको राजनीतिक समीकरण यसपटक विगतकोभन्दा धेरै बदलिएको छ । भाजपा, जनता दल युनाइटेड (जदयु) र लोक जनशक्ति पार्टी (एलजेपी)ले चुनावी गठबन्धन गरेका छन् ।

अर्कोतर्फ कांग्रेस, राष्ट्रिय जनता दल (आरजेडी), राष्ट्रिय लोक समता पार्टी (रालोसपा), विकासशील इन्सान पार्टी (विआइपी) र हम पार्टीको गठबन्धन छ । यसलाई ‘महागठबन्धन’ भनिएको छ ।

बेगुसरायको मत सर्वेक्षणका नतिजालाई विश्वास गर्ने हो भने कन्हैया कुमारका लागि चुनावी नतिजा सुखद छैन । उनी तेस्रो नम्बरमा रहने आकलन गरिएको छ । र, यसपटक कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै बाजी मार्ने अनुमान गरिएको छ ।

मत सर्वेक्षणका अनुसार बिहारका ४० मध्ये सत्तारुढ गठबन्धनले ३२ सिटसम्म जित्न सक्ने छ । यसमा भाजपाको १५, जदयुको १३ र एलजेपीको ४ सिट सामेल छन् । यसैगरी महागठबन्धनको कुरा गर्ने हो भने राहुल गान्धी नेतृत्वको कांग्रेस पार्टीले जम्मा २, आरजेडीले ५ र राष्ट्रिय लोक समता पार्टीले १ सिट जित्ने अनुमान गरिएको छ ।

मोदीको कट्टर आलोचक मानिने कन्हैया कुमार उम्मेदवार बनेपछि बेगुसरायको चुनावी प्रतिस्पर्धा रोचक बनेका छ । बेगुसराय क्षेत्रमा साढे तीन लाखभन्दा बढी भूमिहार मतदाता छन् । गिरिराज र कन्हैया कुमार पनि यही समुदायका उम्मेदवार हुन् ।

विगतको स्मरण

सन् २०१४ को चुनावको कुरा गर्ने हो भने भारतीय जनता पार्टीका भोला सिंहले ४ लाख २८ हजार २२७ मतका साथ यहाँबाट चुनाव जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी राजदका तनवीर हसनले ३ लाख ६९ हजार ८९२ भोट पाएका थिए ।

भारतीय कङ्ग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन् ।

टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले त मतगणनामा धाँधली गर्न मत सर्वेक्षणको नतिजालाई आधार बनाइने आरोप लगाएकी छन्।

२ दिनअघि अष्ट्रेलियामा यस्तै भयो । झन्डै पाँच दर्जन मत सर्वेक्षणले सत्तारूढ उदारवादी राष्ट्रिय गठबन्धन पराजित हुने र प्रतिपक्षी लेवर पार्टीले झिनो बहुमत ल्याउने देखाएका थिए। तर परिणाम यस्तो आयो कि प्रधानमन्त्री स्कट मोरिसनलाई नै आफ्नो जित ‘चमत्कार’ लागेको छ ।

१५ वर्षअघि भारत पनि कंग्रेस आईका लागि यस्तै चमत्कार भएको थियो र मत सर्वेक्षण गलत सावित भएका थिए । त्यतिबेला एनडिए गठबन्धनबाट अटलबिहारी वाजपेयी प्रधानमन्त्री थिए । सन् १९९९को चुनावमा भाजपाले १८२ सिट पाएको थियो।

मत सर्वेक्षणले फेरि पनि ‘इन्डिया साइनिङ’ को नारा घन्काएको एनडिएकै बहुमत आउने देखाए । तर वास्तविक परिणाममा कंग्रेस आईले पहिलाभन्दा ३१ सिट बढायो, भाजपाको ४४ सिट घट्यो । कंग्रेसको युपिए गठबन्धनबाट मनमोहनसिंह प्रधानमन्त्री बने । उनले दुई कार्यकाल भारतको नेतृत्व गरे ।

चुनावमा मतदानको समय सकिएर चुनावी परिणाम नआउञ्जेलका उत्सुकता मेटाउन मत सर्वेक्षण गरिन्छ । चुनावपछि हुने यस्ता सर्वेक्षणका लागि मतदान केन्द्रमा गएर भोट हालेका मानिससँग कुरा गरिन्छ । यसरी ल्याएको डाटा विश्लेषण गरेर सम्भावित नतिजा यस्तो हुनसक्छ भन्ने निष्कर्ष निकालिन्छ । राम्ररी गरिएका यस्ता सर्वेक्षणले परिणामको संकेत गर्न सक्छन् तर सधैँ ठ्याक्कै मिल्छन् भन्ने छैन ।

याे पनि पढ्नुहाेस् 

लोकसभा मत सर्वेक्षण बाहिरीयाे : ५४२ मध्ये मोदीले ३०० सिट जित्ने अनुमान

भारतमा लोकसभा चुनावअन्तर्गत अन्तिम चरणको मतदान सकिएसँगै समाचार च्यानलहरुले एक्जिट पोल (मत सर्वेक्षण) सुरु भएको छ । मुख्यगरी बिभिन्न टेलिभिजन च्यानलहरुले गरेको एक्जिट पोलको नतिजा बदलिएन भने हालका प्रधानमन्त्री नरेन्द मोदीको सत्ताधारी पार्टी भारतीय जनताको नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)को सत्ताले निरन्तरता पाउनेछ ।

एक्जिट पोलहरुका अनुसार ५४२ मध्ये भाजपा नेतृत्वको एनडीएले ३०० सिट जित्ने देखिन्छ । भारतमा सरकार बनाउन २७३ सिट आवश्यक पर्छ । भाजपाले पनि यस अघि नै ३०० सिट जित्ने दाबी गरेको थियो । सन् २०१४ को चुनावमा उत्तरप्रदेशबाट ७३ सिट विजय हासिल गरेकोमा यसपटक ७४ भन्दा बढी सिट जित्ने भाजपाको दाबी छ ।

मत सर्वेक्षणले स्पष्ट रुपमा फेरि पनि भारतीय सत्तामा भाजपा हावी हुने देखिएको छ । हालको प्रतिपक्षी कांग्रेसले विभिन्न क्षेत्रीय पार्टीहरुलाई समेटेर युनाईटेड प्रोग्रेसीभ एलायन्स त बनाएको छ । तर विभिन्न स्वार्थ बोकेका यी दलहरु स्वयं कांग्रेसमाथि भारी पर्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बीबीसी हिन्दीकी बरिष्ठ पत्रकार अदिसी फडनिज लेख्छिन् – नरेन्द्र मोदी फेरि सत्तामा नआउने राहुल गान्धीको दाबी पनि झुठो सावित हुनेछ । अहिलेसम्मको एक्जिट पोलमा भाजपा नै निकै बलियो देखिएको छ । तथापी मतपेटिकामा खसेको मतले मात्रै भाजपा या कांग्रेसको जीत पुष्टि गर्नेछ ।

सरकार चलाउनका लागि प्रष्ट बहुमत नआएपनि भाजपाले टीआरएस र जगन मोहन रेड्डीबाट सहयोग लिनेछ । चुनाव प्रचारको अन्तिम दिन भएको पत्रकार सम्मेलनमा पनि भाजपा अध्यक्ष अमित शाहले वैचारिक सोच मिल्ने र एनडीएको हिस्सा बन्ने सबै पार्टीहरुलाई स्वागत गर्ने बताएका थिए ।

झिनो मतान्तरले चुनावी परिणाम उलटफेर भएमा कांग्रेस नेतृत्वको युपीएलाई कसरी रोक्ने भन्नेबारे भाजपाले रणनीतिक खेल थालिसकेको छ ।

प्रतिपक्षी कांग्रेसका नेता राहुल गान्धी नेतृत्वको युपीएले १०० सिट पनि नजित्ने आंकलन भईरहेको छ । सन् २०१४ मा कांग्रेस ४४ सिटमा सिमित भएको थियो । सो चुनावमा भन्दा यो पटक केही बढी सिट आएपनि कांग्रेसको पराजय पक्कापक्की देखिएको मत सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

२०१४ को भन्दा केही बढी सिट आएमा राहुल गान्धीले कांग्रेसको ईतिहासमा खराब नेतृत्वको दाग बोक्नुपर्ने छैन, तर चुनावताका उन्मादी भाषण गरेको कांग्रेस फेरि पनि कमजोर प्रतिपक्षीको हैसियतमा खुम्चिनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्