एकै सिजनमा २ पटक सगरमाथा आरोहण : २४ पटक चढदै बिश्व किर्तिमान

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले एक साताको अवधीमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
समाचार स्रोतका अनुसार सगरमाथा आधारशिविरबाट नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले उक्त कुराको जानकारी गराएका छन् । जेठ १ गते बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेका शेर्पाले सातदिनभित्र दुई पटक सगरमाथाको आरोहण गरेका छन् । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उनको किर्तिमान राष्ट्रकै गौरवको कुरा भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।
बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भएपनि आफूलाई सामान्य लाग्ने बताएका थिए । यसअघि २१ पटक सगरमाथा चढेका कीर्तिमानधारी आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।