Logo

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु-कुलमान


संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ।

सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो।

सांसद मोदीले प्राधिकरणमा भ्रष्टाचार भएको आरोप लगाएपछि प्राधिकरण प्रमुख घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका हुन्।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए-नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको बताए।

सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन्।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भएँ भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए। उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुईवटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।

यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए। उनले त्रिशूली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो? भनी गम्भीर प्रश्न पनि उठाए।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन्। यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियमअनुसार नै तीर्नुपर्ने शुल्क तिर्न उद्योगी-व्यवसायीहरुलाई पत्राचार गरिएको बताएका थिए।
-नेपाल खबर

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्