आइतबारको मध्यदिन। हङकङमा थर्मोमिटरको पारो चढेर ३३ डिग्री मा पुग्यो। तर यहाँको सबैभन्दा उचाइमा रहेको ताइमोसन डाँडामा भने बेग्लै रौनक थियो।

ह्वात्तै बढेको गर्मीको वेवास्ता गर्दै किराँत राई समुदायका मानिस आइतबार मध्यान्न साकेला नाच्न व्यस्त थिए।

राई समुदायका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म एकसाथ रमाउँदै जातीय भेषभुषामा सजिएर ढोल झ्याम्टाको लयात्मक आवाज सहित ‘सोइ ढोले सोइ, अर्को ढोले खोइ’ भन्दै थिए।

गोलाकारमा उनीहरु विभिन्न शिली (शैली) मा गीत गाउँदै साकेला नाचिरहेका थिए।

आतइबारको साकेला नाचमा गैर राईहरुको पनि उत्तिकै उपस्थिति र सहभागिता थियो।

किरात राई यायोक्खा हङकङको आयोजनामा आइतबार सम्पन्न साकेला उभौली मा हङकङका विभिन्न संस्थाका अगुवासहित अन्य समुदायका मानिसहरुले पनि उल्लेख्य उपस्थिति जनाए।

किरात राई यायोख्खा हङकङका अध्यक्ष हरिचन्द्र राईका अनुसार बदलिदो परिस्थितिमा धर्म, संस्कार, संस्कृति र पहिचानको जगेर्ना गर्नु आजको आवश्यकता हो।

‘हङकङमै जन्मिएर हुँर्कदै गरेका नयाँ पुस्ताले पुरानो पुस्ताले धानी रहेको बिरासतलाई काध उठाउलान त?’ नेपालखबरले सोधेको यस प्रश्नमा अध्यक्ष राईले भने,‘हामीसँग रणनीति छ। हामी उनीहरुलाई भावनात्मक रुपमा दिक्षित बनाउनेछौं, त्यसपछि उनीहरु आफैं अगाडि बढ्नेछन्।’

उभौली र उधौली पर्व किरात राईहरुको महान चाड हो। वैशाख पूर्णिमाको अवसर पारेर उभौली मनाइन्छ भने मंसिर पूर्णिमामा उधौली मनाइन्छ। जहाँ साकेला नाचिन्छ। प्रकृतीलाई पुजा गरिन्छ। यसलाई देशविदेशमा रहेका किरात समुदायले धुमधामसाथ मनाउँछन्।

खासमा प्रकृतिपूजक राईहरु प्रकृतिमा उब्जिएको खानेकुराहरु खाएरै यो संचार चलेको विश्वास गर्छन् र प्रकृतिप्रति अनुगृहित हुँदै त्यसको पूजा गर्छन्।

वैशाख पूर्णिमामा मनाइने उभौलीमा अब वर्षायाम लाग्न लागेकोले अन्नबाली समयमै रोपेर कुनै किसिमको अनिष्टबिना थन्क्याउन पाइयोस् भन्ने कामना गरिन्छ। बालीनाली भित्राइसकेपछि भने मङ्सिर महिनामा उँधौली मनाइन्छ।

सन १९९८ मा किरात राई यायोख्खा गठन भएसँगै राईहरुले हङकङमा उभौली तथा उधौली साकेला मनाउँदै आएका छन्। (नेपालखबर बाट)