अव नेपालका देशद्रोही पार्टीका नेताहरुको समर्थनमा हिड्ने अवस्था छैन ।
-दीर्घराज प्रसाईं
विश्वको हिन्दु अधिराज्य-नेपालको कदरगर्दै राजाको उपस्थितिमा राष्ट्र निर्माणमा हामी सबैको सर्मपण हुनुपर्दछ !
‘सार्वभौमसत्तासम्पन्न नेपाल’ विश्वका राष्ट्रहरुमा सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश हो । तर आज नेपालको अस्तित्व समाप्त गराउनमा नेपालभित्रका देशद्रोहीहरु लागेका छन् । नेपाल बचाउन देशद्रोही गद्दारहरुको बिरुद्ध हार गहार गर्नुपर्ने स्थिति आएको छ । चीन र भारत जस्ता दुई ठूला राष्ट्रहरुको बीचमा रहेको नेपालमा विदेशीहरुको चलखेल बढ्न थाल्यो भने नेपाल सुरक्षित रहन सक्तैन । यो देशलाई अनर्थमा अनिर्णयको बन्दी बनाएर विदेशीहरुको भरिया बनेका पार्टी भित्रका राष्ट्रघातीहरुका कारण २०६३ सालपछि नेपाल ठूलो संकटमा फसेको छ ।
हिजो राष्ट्र डुब्न लाग्दा गुहार्ने ठाउँ थियो राजा । राजा माथि वदलाको भावना राखेको हुँदा पौराणिककालमा बिष्णुलाई असुरहरुले लखेटेको हुँदा बराहा रुप धारण गरेर बस्नु परेको जस्तो राजा ज्ञानेन्द्र पनि नेपालभित्रैका गद्दारहरुबाट गरिएका अनर्गल अपमान र विदेशीहरुको धम्कीको कारणले नारायणहिटी छोडेर नागार्जुन बस्नु परेको हो । त्योबेलादेखि नेपाल निराजको मुलुक बनेको छ । नेपालको सुरक्षा र स्थिरताको मेरुदण्ड भनेको नेपालको राजसंस्था हो भने हिन्दु अधिराज्य नेपालको विश्वब्यापी पहिचान हो । राजसंस्था र नेपालको हिन्दु अधिराज्यलाई विस्थापित गरेर नेपाल बाँच्न सक्तैन ।
विदेशी हस्तक्षप र भ्रष्टाचारबाट देशलाई मुक्त गराएर पिछडिएकोक्षेत्र र पिछडिएका जाती तथा वर्गको उत्थान गर्ने कार्यक्रम लिएर अगाडि बढ्न राजा सहित हामी सबै राजनीतिक दल र वौद्धिक समूदायले राष्ट्रियता र प्रजातनत्रलाई सुदृढीकरण गर्ने कुरामा साझा समझदारी राखेर प्रजातान्त्रिक बाटो अक्तियार गर्न सकियो भने मात्र हामी सबै समस्याहरुबाट मुक्त बन्न सक्छौं । अव नेपालका देशद्रोही पार्टीका नेताहरुको समर्थनमा हिड्ने अवस्था छैन । कांग्रेस, एमाले, माओवादीका ती गद्दार नेताहरुले अव आफूले गरेका जगन्य अपराध महसुस गर्दैनन् भने भोलिका दिनमा उनीहरु लुकेर बस्ने ठाउँ पनि पाउन सक्ने छैनन् ।
नेपालको संवेदनशीलता बुझन नसक्ने देशद्रोहीहरुको हातमा नेपाल परेकाले नेपाल अहिले ठूलो विपत्तिमा परेको छ । नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्नेतर्फ हामीहरु कहिले सचेत भएनौं । कहिले संवैधानिक राजतन्त्र, कहिले संसदीय व्यवस्था, कहिले गणतन्त्र र जनतन्त्र भन्दै नेपाली समाजलाई दिग्भ्रमित बनाएका छौं । २०६३ सालको जनआन्दोलनलाई वैधानिकता नदिएर कांग्रेस, एमाले र माओवादीबाटै विवादास्पद बनाउने काम भएको हो ।
राजासँग सहमति भएर जनआन्दोलन रोकिएपछि त्यसैलाई आधार बनाएर अगाडि बढेको भए हामीले धेरै उपलब्धि हासिल गरिसक्थ्यों । तर त्यसलाई तोडमोड गरेर राजा र जनतालाई धोका दिएर अन्योलग्रस्त बनाइयो । आन्दोलनकारी नेतामा चढेको अहंकारले सडक आन्दोलनलाई समेत आधार बनाएर जो जोले जे भन्छन् र जे मनमा लाग्छ ५।७ जना नेताहरुले त्यसै गर्दैआए । संतुलन र नियन्त्रणको सिद्धान्तलाई कुठाराघात गर्दै २०६३ पछि सर्वसत्तावाद संस्थापना गर्ने कार्य यिनीहरुबाटै भयो । नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरेर नेपालको प्रतिष्ठालाई कायम राख्न हामी सम्पूर्ण देशभक्त शक्ति सक्रिय हुनसक्नु पर्छ ।
देशको स्थिति अहिले राम्रो छैन । हरक्षेत्रका नेपालीहरु देशको अवस्था देखेर चिन्तित छन् । देश बचाउने हामी सबै नेपालीहरुको कर्तव्य हो । बोलेर मात्र हुँदैन । शासन व्यवस्था संचालन गर्नु भनेको सजिलो कुरा छैन । यो अवस्थामा पनि नेताहरुमा राष्ट्रियताको महसुस आएको छैन । उनीहरु हरेक दिन वैठकमा ब्यस्त रहन्छन् अनि बनिा निस्कर्ष अनिर्णयको बन्दी हुन्छन् । नेपालको वीरताको इतिहास यसरी संकटमा पर्दैछ ।
अन्योल र संकट त सबै नेपालीको साझा व्यथा हो । यस्ता कृत्रिम व्यथाबाट मुक्तहुन माओवादी लगायत सबैका आँखा खुल्नुपर्दछ । अहिलेको माओवादी विपत्ति नेपाली राष्ट्रियतालाई धोका दिएर नैं हो । अव माओवादी लगायत सबै राजनीतिक नेताहरु आ–आफ्ना संकृर्ण दलगत पूर्वाग्रहबाट मुक्त हुन सक्नुपर्दछ । राष्ट्रियताको सवालमा विश्वासको संकट हामीमा रहनु हुन्न । इतिहासले कसैलाई क्षमा गर्दैन । हामीले गरेका गल्तीहरुबाट पाठ सिकेर सार्वभौम नेपालको प्रतिष्ठा बढाउन विश्वका हिन्दुहरुको आस्थाको केन्द्र हिन्दु अधिराज्यलाई कदरगर्दै राजाको उपस्थितिमा राष्ट्र निर्माणमा हामी सबैको सर्मपण हुनुपर्दछ ।
(-दीर्घराज प्रसाईको फेसबुक वालबाट)