किराँत समुदायको महान चाड साकेला शुरु
किरात राई समुदायको प्रमुख सांस्कृतिक चाड साकेला उभौली आजदेखि सुरु भएको छ । राई, लिम्बू, याक्खा र सुनुवारहरुले प्रमुख रुपमा उभौली मनाउँछन् । उनीहरुले आफूलाई किरात समुदायको रुपमा चिनाउँछन् । किरातहरुले एकै समय उभौली मनाए पनि फरक–फरक शैलीले मनाउँछन् ।
किरातहरुले प्रकृति र पुर्खाको पुजा गर्दै यो चाड मनाउँछन् । उनीहरुले बाली लगाउनुअघि बाली सप्रियोस्, परिवारमा दुख्विमार नहोस् भन्ने कामना गर्दै उभौली मनाउछन् । बाली उठाएपछि उक्त बालीको परिकार सबभन्दा पहिले पितृलाई चढाएर आफूले प्रयोग गर्दै उधौली मनाउँछन् । हरेक वैशाख पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली मनाइन्छ ।
हरेक वर्ष बैशाख पूर्णिमाका दिनबाट सुरु हुने उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली मंसिर पूणिमामा भित्र्याउने र बैशाख पूणिमामा लगाउने खुसीयालीमा मनाउने गरिन्छ । यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
कुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत काठमाडौं,ललितपुर किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ साकेला मनाईदैछ ।
यो चाड नेपाल बाहिर भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत मनाउने गरिन्छ । उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् ।