Logo

प्रधानमन्त्रीमा उग्रअहङ्कार, अधिनायकवादको गन्ध


‘कम्युनिस्ट सरकार आए रुन पनि पाइँदैन’ काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि दिएको अभिव्यक्ति लामो समयसम्म चर्चित रह्यो । कतिले तत्कालीन एमाले र माओवादी गठबन्धनसामु निरिह बन्दै देउवाले टिप्पणी गरेको आरोप पनि लगाए । चुनावबाट कम्युनिट पार्टीले जनताको विश्वासको आधारमा जुन मत ल्याएर आफ्नो सरकार बनायो त्यसयता भए गरेका केही परिदृश्यले कतै केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको त हैन ? भन्नेतर्फ बल पुगेको आशङ्का गर्नेहरुको कमी छैन ।

वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीको प्रस्तुतिमा अहम्ता झल्किन्थ्यो । उनले सुरुमै विपक्षीलाई कुनै महत्त्व नदिई आफूले ‘कुण्ठा र निम्छरा अभिव्यक्ति वास्ता नगरेर प्रश्नहरूको जवाफ दिने’ बताए । जनताको चाहना, विपक्षीको सुझाव तथा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी सबैलाई मिलाएर उनकै शब्दमा भन्ने हो भने ‘विकास र समृद्धि’तर्फ लम्किनुपर्नेमा उनी विपक्षीको प्रश्नमै समेत चर्किए । यति मात्रै होइन विपक्षीले ओलीको अभिव्यक्तिको थप आलोचना गर्न थालेपछि ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्दै रातोपिरो बन्दा उनमा अहङ्कारी प्रवृत्ति देखिएको भन्दै विभिन्न टीकाटिप्पणी भए । प्रधानमन्त्रीको कुर्सीबाट ओलीले अरूलाई शिष्टताको पाठ सिकाउँदै गर्दा आफ्नै शिष्टता भने भूले अर्थात संसद्मा रहेको दुई तिहाइको दम्भले उनलाई अहङ्कारी बनायो ।

संसदमा ओलीबाट व्यक्त अभिव्यक्ति गैरसंसदीय रहेको ठहर गर्दै सभामुख कृष्णबहादुर महराले संसदको रेकर्डबाट हटाउन निर्देशन गरिसकेपछि पनि ओलीले गल्ती स्वीकारेनन् । त्यो कुरा कम्बोडिया र भियतनाम भ्रमणबाट फर्किएपछि विमानस्थलमा दिएको अभिव्यक्तिले छनक दिन्छ । ओलीले विमानस्थलमा भने, मैले संसदीय मर्यादाअनुसार नै बोलेको थिएँ, बरु विपक्षीले गैरसंसदीय शब्दहरू प्रयोग गरेकाले त्यो चाहिँ हटाइएको हो । संसद्मा विपक्षीले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेकाले सभामुखले अभिलेखबाट हटाइएको उनको तर्क थियो ।

उनले यो पनि भने ‘विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।’

माथि प्रस्तुत गरिएका त पछिल्ला दुई उदाहरण मात्रै हुन् ।

प्रधानमन्त्री ओली जहाँ पनि प्रतिक्रियामाथि प्रतिक्रियामा सीमित देखिन्छन् । एउटा शासकमा अहङ्कारी सोच र व्यवहार पक्कै पनि शोभनीय हुँदैन तर केपी ओली सानाभन्दा साना विषयमा पनि प्रतिक्रियात्मक भएको देखिन्छन् । खासमा प्रधानमन्त्री ओलीसामु जनताको पक्षमा काम गरेर आफूलाई सफल र एक उदाहरणीय राजनेता बन्ने अवसर छ । तर त्यसविपरीत उनको अभिव्यक्ति, प्रतिक्रियात्मकता, कार्यशैली जस्ता प्रवित्ति नियाल्दा कुनै कमजोर शासकको गतिविधिको झल्को दिन्छ ।

लोकतन्त्रका लागि १४ वर्षभन्दा बढी जेल खपेका प्रधानमन्त्री ओलीमा सत्तारोहण गरेपछि चाहिँ लोकतान्त्रिक मूल्य मान्यताभन्दा पनि पञ्चायतकालमा पञ्चेहरुले देखाउने जस्तो, शाहीकालका कमल थापाहरुले देखाउने जस्तो व्यवहार देखिन थालेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिमार्फत बाचन गराउँदा ‘मेरो सरकार’ शब्दावलीको प्रयोग गराएर आफूलाई सर्वैसर्वा देखाउन खोजे । उनी हरेक सार्वजनिक कार्यक्रममा आफूलाई हरेक कोणबाट सही देखाउन अनेक तर्कवितर्क गर्छन् र विपक्षीलाई सकेजति खुइल्याउन तल्लीन हुन्छन् । जनताका सामु आफूलाई महान् देखाउन प्रयासरत देखिछन् । ओलीमा आफू सही र अरू गलत भन्ने जुन प्रवृत्ति छ, यो एक अहङ्कार र अधिनायकवादी पथको प्रारम्भविन्दु नै हो । अहङ्कार भनेको आफूलाई सर्वैसर्वा सम्झने क्रिया तथा घमण्ड र मपाइँत्व नै हो, जुन ओलीमा देखिन थालेको छ ।

भेनेजुएलाका चर्चित क्रान्तिकारी योद्धा तथा पूर्वराष्ट्रपति स्वर्गीय ह्युगो चाभेज भन्थे, ‘क्रान्तिको गफ हाक्ने तर सिन्को नभाँच्ने भन्दा सङ्घर्ष गर्दागर्दै मर्नु उत्तम हो । मलाई यो कुराले बारम्बार झस्काइरहन्छ ।’ उनको भनाइ र गराइमा समानता थियो अर्थात भेनेजुएलाका राष्ट्रपतिका रूपमा निर्वाचित भएलगत्तै उनले देशमा नयाँ संविधान लागू गरे, जसले सीमान्तकृत वर्गका जनताहरूलाई अधिकार प्रदान गरे । नयाँ संविधान सरकार सञ्चालन प्रक्रियामा पनि बदलाव ल्यायो । उनले आफ्नो कार्यकालमा सहकारी संस्थाहरूको व्यवस्था गरे, भूमिसुधार कार्यक्रम लागू गरे, देशका प्रमुख उद्योगहरूको राष्ट्रियकरण गरे । उनकै नेतृत्वमा भएको क्रान्तिको बलमा भेनेजुयलामा समाजवादी व्यवस्था कायम भयो ।

ओलीको पार्टी नेकपाको घोषणापत्रमा सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने उल्लेख गरिएको छ । त्यस्तै घोषणापत्रमा पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पार्टीको अगुवाइमा नेपाल राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानतासहित समाजवादतर्फको यात्रामा रहेको बताउँदै आइएका छन् ।

तर चाभेजको जस्तो समाजवादको सपना बोकेका ओली झिना मसिना कुरामा अल्झिएर कस्तो समाजवादको यात्रामा अघि बढ्न लागेका हुन् ? मिडियामा लगामको प्रयास, सङ्घीयताको मर्मअनुसारको प्रयोगमा कञ्जुस्याइँ गर्दै दुई तिहाइको बलमा एकोहोरो अघि बढ्दा लक्ष्य प्राप्ति होला कि अवस्था थप भयाभह बन्ला ? ओली र उनका सहयोगीहरूले यसबाट आइलाग्न सक्ने परिस्थित पक्कै आँकलन गरेको हुनुपर्छ । जनताले कम्युनिस्ट सरकारबाट अधिनायकवादको छनक होइन, शान्ति, स्थायित्व, लोकतन्त्रको प्रत्याभूति, प्रेस स्वतन्त्रता, सुशासन, विकास र समृद्धिको सपनाका साथ नेकपालाई भोट दिएर सत्तामा विराजमान गराएका हुन् । यसमा हेक्का हुनुपर्छ । रातो पाटीको लागि राजकुमार सिग्देलको लेख

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्