सिरहामा स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ ।स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो ।उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुटपिट गरेका थिए । यो घटना वैशाख २८ गते शनिवार रातीको हो । कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप लगाएको छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि घेराऊ र सडक अवरोध खुला गरिएको थियो ।मुखदर्शक बनेका प्रहरीलाई करवाही, दोषीलाई हदैसम्मको करवाही र तीन दिन भित्र अपराधीलाई पक्राउ गरी करवाही अगाडी बढाउने सहमति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
घटनाबारे मृतकका काका मनोज सिंह भन्छन्,
बैशाख २८ गते राती हामीहरु सबै परिवार लहानमा थियो । घरमा ७५ वर्षीया हजुरआमा र अनिस मात्रै घरमा थियो । राती केही युवाहरु घरमा अएर चोरको आरोप लगाउँदै समातेर अनिसलाई घरबाट तेनुवापट्टी लगे । तेनुवापट्टीमा बिजुलीको पोलमा बाँधेर कुटपिट गर्न थोलेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई खबर गर्दा पनि समयमा प्रहरी पुगेन । केही घण्टापछि प्रहरी पुगे पनि मुखदर्शक मात्र बन्यो । न कसैलाई नियन्त्रणमा लिइयो न अनिसलाई कुटाई खानबाट बचायो ।
मृतकका काका विजय कुमार सिंह भन्छन्,
हामीहरु बिहान ४ बजे घटनास्थलमा पुगेका थियौँ । विजुली पोलबाट खोलिदिन आग्रह गर्दा पनि कसैले मानेनन्, उल्टै हामीलाई थर्काए । हामी लाचार थियौँ, आफ्नै अगाडिमा भतिजा कुटाइ खाइराखेको हेर्न बाध्य भयौँ । हामीले जति हारगुहार गरे पनि उनीहरुले सुनेनन् । उनीहरुले कुट्न छाडेपछि तत्कालै उनलाई लहानको सप्तऋषी अस्पतालमा लग्यौँ । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगरमा रेफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाडौँमा रेफर गरियो । पछि उपचारकै क्रममा मृत्यु भएको खबर सुन्नुपर्यो ।
यता, चोरीको आरोप लगाउँदै जाहिरी दिएका विरेक्षण यादवको घरमा पुग्दा त्यहाँ ताल्चा लागेको रहेछ । त्यसपछि अनिसलाई विजुली पोलामा बाँधेर कुटपिट गरेको ठाउँका पुग्यौँ । त्यहाँका छिमेकीहरुलाई सोध्दा उनीहरु बोल्नै मानेनन् । बोल्नेहरुले आफूलाई केही थाहा नै नभएको बताए । यतिबेला गाउँमा पुरुषहरुको संख्यामा पनि कमी देखिएको छ । घटनास्थल नजिकैका घरहरुमा पुरुषहरु नै थिएनन् । महिलाहरुले केही बताउन नै चाहेनन् ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
-रातोपाटी