Logo

गोक्यो हिमतालमा बेपत्ता एक जनाको शव भेटियो


सोलुखुम्बु – सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये सुनिल बराईलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो ।

बराईली साथीको उद्धार गर्न जाने क्रममा जीउमा लगाएको कपडा सहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको हो । बेपत्ता मध्ये अब पेम्बा दोर्जी शेर्पाको शब मात्र भेट्न बाँकी छ ।

खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराईमा शब पहिचान गरेर बाहिर निकालेको हो । हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान मात्र शब पहिचान गरी बाहिर निकाल्न सफल भएको हो ।
अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शबको खोजी गरेको थियो ।
निरन्तरको प्रयासपछि डुबेकै ठाउँको आसपासमा शब भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । गत असोज ताका खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शब खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो ।

एभरेष्ट ब्रोडकास्टिङ एवं योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पाले विदेशी टोली र सशस्त्र प्रहरी बलको गोताखोर टोली बीच संयोजनको काम गराई दिनुभएको हो ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गत साउनमा बेपत्ता भएका थिए । बेपत्ता मध्ये पेम्बा नुरु शेर्पाको शव त्यत्ति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराई रहेका थिए ।

News Source By Yohokhabar

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्