प्रचण्डविरुद्ध युरोपमा चासो, लेनिन विष्टलाई युरोपेली मुलुकहरूले दिए उच्च महत्व
माओवादी हिंसात्मक युद्धका क्रममा बालसेनाका रूपमा प्रयोग भएका लेनिन विष्टलाई युरोपेली मुलुकहरूले उच्च महत्व दिएका छन् ।नेदरल्यान्ड सरकारको विशेष निमन्त्रणामा युरोप पुगेका लेनिनसँग युरोपेली मुलुकका मन्त्री, सांसद तथा अन्तर्राष्ट्रिय महत्वका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले भेटेर छलफल गरेका छन् ।
उनीहरूले नेपालमा माओवादीले बालबालिकाहरूलाई युद्धमा कसरी दुरुपयोग गरेको थियो र अहिले तात्कालिक बालसेनाको अवस्था कस्तो छ भन्ने विषयमा गम्भीर चासो प्रकट गरेका छन् ।
जेठ २ गते लेनिनसँग जर्मनीको परराष्ट्र मन्त्रालयका एसिया मामिला प्रमुखले भेटी छलफल गर्ने कार्यक्रम तय भएको छ । जर्मनीका सांसदहरूसँग पनि लेनिनको छलफल हुने बुझिएको छ ।
वैशाख ३१ गते जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग पनि लेनिनको छलफल भएको थियो । जेठ ३ गते नेदरल्यान्डको राजधानी आम्स्टर्डममा पूर्वन्यायाधीश तथा कानुन व्यवसायीहरूसँग लेनिनको छलफल हुने भएको छ ।
यसअघि लेनिनसँग नेदरल्यान्डकी राजकुमारी लाउरेन्टीनले सँगै खाना खाएर कुराकानी गरेकी थिइन् । उक्त कुराकानीका क्रममा राजकुमारीले नेपालको वस्तुस्थिति, माओवादीको क्रियाकलाप र युद्धको समयमा बालबालिकाको दुरुपयोगबारे चासो राखेकी थिइन् । त्यसअघि हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा आयोजित कार्यक्रममा पनि लेनिन सहभागी भएका थिए ।
विभिन्न कलेजका विद्यार्थी तथा प्राध्यापकहरूसँगको छलफलका क्रममा लेनिनले नेपालको माओवादी हिंसात्मक आन्दोलन र बालसेनाको प्रयोगबारे जानकारी गराएका थिए । उनले स्वीटजरल्यान्डको जेनेभास्थित मानवअधिकार कार्यालयमा मानवअधिकारकर्मीसँग पनि भेटेका थिए र हिंसात्मक कालखण्डमा मानवअधिकार उल्लङ्घनका घटना र बालबालिकाको प्रयोगबारे जानकारी गराएका थिए ।
अहिलेसम्म लेनिनले प्रचण्ड र कुनै पनि माओवादी नेताविरुद्ध उजुरी दिएका छैनन् । तर, युरोपेली मुलुकमा लेनिनका कुराहरू जुन महत्वका साथ सुनिएको छ, त्यसले भविष्यमा युद्ध–अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा लैजाने पूर्ण आधार तयार गरिदिएको छ ।
लेनिनले अझै केही साता युरोपमा बिताउनेछन् । त्यस क्रममा के–कस्ता ‘समझदारी’हरू बन्ने हुन्, प्रतीक्षाको विषय बनेको छ ।