७८ लाख धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त पाठक

काठमाडौँ — विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले तारेखमा छुटेका छन् । ७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।
अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।
विशेष अदालतले घुसकाण्डका अभियुक्त तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई धरौटीमा छोडेको छ।
विशेषका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी र प्रमोद श्रेष्ठ वैद्यको इजलासले उनीसँग ७५ लाख धरौटी मागेको थियो। नेपाल बंगलादेश बैंकबाट उक्त धरौटी रकम बराबरको बैंक ग्यारेण्टी बुझाएर पाठक आजै छुटेको विशेषका प्रवक्ता पुष्पराज पाण्डेले बताए।
अदालतले उपस्थित हुन पठाएको म्यादभित्रै उनी उपस्थित भएका थिए। बुधवार बिहान ९ बजे हाजिर हुन आएका पाठकसँग दिनभर विशेषले पहिले थुनछेक बयान र थुनछेक बहस गराएको थियो।
७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै चैत १२ गते मुद्दा दायर गरेको थियो।
आयोगले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ। कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार पाठकले ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।
न्यौपानेले भने ७८ लाख जरिवाना र ६ देखि ८ बर्षसम्म कैद सजाय भोग्नुपर्ने छ।