‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्नका लागि यूवाहरुको भूमिका

विचार/ब्लग

भनिन्छ ‘युवाहरुले चाहेमा आकाशमा भर्याङ बनाउन अनि समुन्द्रमा खेती गर्न सक्छन् । तर, हे यूवा ! पखेटा भएर मात्रै हुँदैन, चन्द्रमा छुनको लागि त आँट र परिश्रम नै गर्नुपर्छ । कसलाई सुनाउँछौं यो साक्षत स्वर्गको वखान जब तिमीलाई नै थाहा छैन । अब यहाँ फुलेको फुलको सुगन्ध विश्वसामु युवाले नै छर्नुपर्छ । पर्यटन क्षेत्रलाई अब्बल बनाई देशको मुहारमा सम्पन्नताको रेखा कोर्नुपर्छ । ’

नेपालको पर्यटन विकासमा सीप, चेतना अनि जिम्मेवारी बोकेका पर्यटन प्रेमी यूवा वर्गको भूमिका महत्वपूर्ण हुन आउँछ । आजको अस्तव्यस्त अनि आधुनिक जीवनशैलीबाट केही टाढा गएर नयाँ ठाउँ, संस्कृति अनि मूख्य त प्रकृतिको काखमा केही समयका लागि हराउन चहान्छन् मानिस । यही उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्ने मानिसलाई नै पर्यटक हुन् । पर्यटकको यात्रालाई अविस्मरणीय बनाई गन्तव्यसम्म सुरक्षित तवरले पुर्याउने सेवा नै पर्यटन हो ।

नेपाल ९ सय जातको पशुपंक्षी, १ सय २६ जातजातिका मानिस अनि पूर्वको धान नाँचदेखि पश्चिमको देउडासम्म अनगिन्ती रीतिरिवाज, संस्कृति अनि चालचलन भएको विविधता यूक्त मुलुक हो । त्यस्तै, सबै भन्दा महत्वपूर्ण कुरा त संसारको कुनै कुनामा पनि हजारौं डलर तिरेर हेर्न चाहँदापनि संभावना नभएको काँडेभ्याकुर चरा यहाँ पाइन्छ ।

‘दि लाईट अफ एसिया’ भनेर चिनिने महामानव बुद्धको जन्म थलो भनौं या संसारकै शिरको रुपमा रहेको सगरमाथा भएको देश । नेपालको बारेमा जति नै व्याख्या गरेपनि कमि नै हुन्छ । अनगिन्ती प्राकृतिक जटाहरु, संस्कृती, अनेकन रहनसहन हुँदाहुँदैपनि पर्याप्त मात्रमा हामीले तिनको सदुपयोग गर्न सकिरहेका छैनौं । विश्व पर्यटन संगठन २०१७ का अनुसार ‘इफिल टावर’ र ‘साइन्ट ट्रोपेज’ जस्ता कृतिम वस्तुहरु देखाएर फ्रान्सले सबै भन्दा बढी पर्यटक भित्र्याउने विश्वको पहिलो मुलुकको रुपमा आफूलाई सावित गरेको छ । तर, हामी नेपालीहरुले प्राकृतिकले दिएका अमूल्य सौन्दर्यता र उपहारलाई समेत विश्वसामु चिनाउन सकिरहेका छैनौं । कारण, सोचे अनुसार पर्यटकहरु भित्रिन सकेको छैन ।

यातायातको राम्रो व्यवस्था नहुँदा पैदल यात्रा गर्नुपर्ने, थकित शरीरलाई विश्राम दिने उपयूक्त वासस्थान नहुँदा पर्यटकहरु निरास भएर फर्किनुपर्ने अवस्था विद्यामान छ । व्यक्तिगत सुरक्षाको सन्दर्भमा कुरा गर्ने हो भने अवस्था झन जटिल देखिन्छ । विदेशी पहुनामाथि हुने अमानविय व्यवहार, वलात्कार जस्ता जघन्य अपराधले विश्वमा नेपालको पर्यटन सम्वन्धमा राम्रो सन्देश गएको छैन । यस्ता घटनाले मुलुकै प्रतिष्ठामा आँच त आउने नै भए भने अर्को तर्फ यहाँ आउन कदम अघि बढाएका पर्यटकहरु दुई कदम पछाडि सारेर गन्तव्य मोड्न बाध्य हुन्छन् ।

नेपालको राजनीतिक अस्थिरता, पर्यटन सूचना केन्द्रको कमी, सक्षम तथा तालिम प्राप्त कर्मचारीको अभाव, सांस्कृतिक सम्पदाको उचित व्यवस्थापनको कमि जस्ता करणले पनि पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको छ । अर्कोतर्फ आफ्नै देशको सुन फलाउने माटोलाई पहिचान गर्न नसकेर दिनानुदिन सयौं यूवाहरु विदेशी रहेका छन् । यी यावत कारणहरुलाई देखिरहँदा यतिवेला एउटा सवाल सबैको मष्तिस्कमा रुमलिरहेको छ । यति धेरै समस्याहरु समाधान गर्न एउटै मात्र मार्ग पहिल्याउने जिम्मेवारी अब युवाको काँधमा आएको छ । हामी युवाहरुको महत्वपूर्ण भूमिकाले नै नेपाललाई पर्यटकीय मुलुकको रुपमा विकास गराउँदै यहाँका अनेक सुन्दरतालाई आर्थिक रुपमा उपयोगी बनाउँदै रुपान्तरण गर्नुपर्ने हुन्छ । घन ठोकेर वनचरो बनाउन सक्ने सामथ्र्य बोकेका युवाहरुले अब प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा जोडिएर नेपालको पर्यटनलाई जुरुक्क उठाउनुपर्छ । पर्यटन क्षेत्रको महत्व र फाइदाहरुको बारेमा जानकारी लिन जरुरी छ ।1

हामीले पर्यटन विकास मात्रै पनि होइन । दिगो पर्यटन विकाशको सिद्धान्तलाई अवलम्बन गरी नेपाली मौलिकतालाई जोगाई राख्नुपर्छ । किनकी, पर्यटकहरु नेपाल आएर इटालियन पिजा, बरगर हैन हाम्रै ढिँडो र गुन्द्रकको स्वाद चाख्न चहान्छन् । अनि स्प्रीङ म्याट्रिङक्समा हैन यहाँको राडीपाखी र गुन्द्रीमा नयाँपनको आभास गर्छन । त्यस्तैले हामीले विभिन्न तारे होटल भन्दा पनि धेरै होमस्टेहरु सञ्चालनमा बढी जोड दिनुपर्छ ।

सुरक्षाको नाउँमा विमानस्थलमा कुनैपनि पर्यटकको झोला खोतल्ने अनि राम्रो सामाग्री झिक्ने र बसमा गोजीबाट पैसा चोरिन हुँदैन । त्यस्तै, वातावरण प्रदुषणलाई ध्यानमा राख्दै विभिन्न ठाउँमा फोहोर संकलनका लागि ‘डस्टविन’हरु राखिनुपर्छ । यसमा युवाहरुको क्रियाशिलता, प्रोत्साहित गर्दै निरन्तरता सकारात्मक तवरले लाग्नुपर्छ । यहाँका सांस्कृतिक सम्पदारुलाई जोगाई उचित मर्मर संभार गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

सामाजिक सञ्जालमा चौविसै घण्टा व्यस्त हुने हामी युवाहरुले त्यही माध्यमलाई भरपूर सदुपयोग गर्दै हाम्रो वरिपरि भएका सुन्दर वस्तु, नेपालको सौन्दर्यतालाई विश्वको कुनाकुनासम्म पुर्याउँदै यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुरयाउन भूमिका खेल्नु पर्दछ । यस अभियानबाट विश्वमा नेपाललाई परिचित गराउँदै पर्यटकलाई आकर्षित गराउँदै भित्र्याउन सहयोग पुग्नेछ । यसरी मुलुकलाई नै पर्यटकीय हवको रुपमा विकास गर्न युवाको भूमिकाको कुरा गर्दै गर्दा हामी नेपालीहरुपनि फुर्सदको सदुपयोग गर्दै विदेशी शहरहरु होइन यहाँकै विभिन्न मनोरम ठाउँहरुको भ्रमण गर्नुपर्छ । साराङकोट, मुस्ताङ र भेडेटारलाई बढी प्राथामिकतामा राख्नुपर्छ । अर्कोतर्फ, राज्यबाट पनि पर्यटन सम्वन्धि उचित नीतिनियमहरु बनाउँदै त्यसको परिपालनाको उचित वातावरण निर्माण गर्नुपर्छ ।

सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई जागरुक युवाहरुको साथ पाएको खण्डमा त्यसको दुई–तीन गुणा पर्यटकहरु भित्रिन सक्ने कुरामा दुई मत छैन ।

त्यसैले अब हामी युवाहरुले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बेला आएको छ । ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ?’ भन्ने सहास र बाचासहित अघि बढ्नु जरुरी छ । नेपाललाई अब विदेशी भूमिमा युवाहरुले बगाएको पसिनाबाट अर्जेको विप्रेशनबाट हैन पर्यटन विशेष आर्थिक स्रोत भएको मुलुकको रुपमा चिनाउनु पर्दछ । विश्वको मानचित्रमा नेपाल सानो देखिएपनि पर्यटकीय दृष्टिबाट अब्बल सावित गराउँदै यही थलोमा अर्को सगरमाथा निर्माण गर्न सक्नुपर्दछ । अनि मात्रै त्यतिवेला नेपालको कुनाकन्दरा अनि छाँगा, छहराले पनि हामीसँगै लय मिलाएर भन्ने छ ‘अतिथि देवो भव ।’

(लेखिकाः मदन भण्डारी मेमोरियल एकेडेमीमा नर्सिङ अध्ययनरत छिन् ।  शिखरपोस्टबाट )