Logo

साकेलाको एक परिचय : किन साकेला पूजा गरिन्छ त ?


-वीर बहादुर राई

साकेला एक परिचय:

साकाला /साकेला /साकेन्वा /साकेवा विभिन्न नाम बाट चिनिने ऐतिहासिक मुन्धुमि उपज हो भुमि देव जसमा किरात राईका जानकार नछुङ्ग, नक्छुंग वा नाक्छुंग (वैधिक तन्त्र मन्त्र मुन्धुम जानकार ) हरुले मुन्धुमी शक्तिले उत्खनन गरिन्छ । यो हेर्दा साधारण पत्थर वा ढुंगा जस्तै देखिन्छ। साकेलाको अर्को पर्यावाची नाम हो “चारी” चारी भनेको अन्नको सह भनिन्छ। त्यसैले साकेला वास्तवमा किरात राईहरुको प्रमुख अन्नको सह हो भन्ने पनि विश्वास गरिन्छ।

ऐतिहासिक पृष्ठभुमि:
यसका किम्वदन्तीहरु धेरै छन् त्यस मध्यबाट एउटा उदाहरण प्रस्तुत गर्न यहाँ सान्दर्विक ठानेको छु। किराँत आदिम पुर्खाहरु तायामा खियामा र रैछाकुले /हेछाकुप्पाको तर्फबाट मात्र साकेला उत्पतिको सानो भाग ।

“मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्याल चुहाउँदै आगनमा प्रवेश गर्छन् र खान थाल्छन्। उता घरभित्र हेच्चाकुपाले रिभ्यामा, पारुहाङ् नायिमा हुदै पापा पातेसुङसम्म मुन्दुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर बाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुंगा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुंगालाई भूमेदेव साकेला मानी पूजिन्छ र त्यहि दिन देखि साकेला भुमिदेवको पुजा र नाँचको शुरुवात भएको भन्ने गरिन्छ ।”

साकेला पुजा मुन्धुमी विधि: 
साकेला, मात्र आँगनमा सेउली गाढेर ढोल झ्याम्टामा सिली नाचेर मात्र मुन्दुमी विधि सिद्ध हुँदैन यसका विशेष मुन्दुमी प्रक्रिया छन् । यस तर्फ हामी सबैले बुझ्न जरुरि छ | साकेला सिली ढोल झ्याम्टा खोल्नका लागि किराँत राई हरुको टोल वा गाँउ मिलेर प्रत्यक बैशाख/जेष्ट महिना भित्र हरेक घरमा उभौली / हुईलुंङ पित्र (चुला पुजा) अनिवार्य गर्ने गरिन्छ । यसमा प्रमुख भूमिका उक्त स्थानका मुल्धामी या नक्छुङहरुको हुनेछ |सो पुजा गर्दा चोखो( नचलाएको ) कोदोको जाँड, मकैको बोट, पुर्खाले चलाएका ऐतिहासिक हात हतियार ( खुडा तरवार ), चिण्डो, अदुवा अन्य विभिन्न सामग्रीलाई सजाएर सुप्तुलुंङको वरीपरि सजाइन्छ । यो पितृ पुजा गर्दा विशेष गरेर चुलामा सबै भन्दा पछी निधन हुनेको नाम बोलाउदै क्रमश :अन्यको नाम नछुङले बोलाउदै अदुवा चोखो जाँडले सुप्तुलुङको बलेको आँगो तिर हानिन्छ ।

स्मरण रहोस यती बेला जो काल गतिले (प्राकृतिक ) निधन भएका छन् त्यस्ताले मात्रै यो सम्मान प्राप्त गर्दछन् भने अन्य अप्रातिकृतिक निधन जस्तै : कसैले मारेको,आत्मा हत्या गरेर मरेको, पानीमा डुबेर मरेको, अप्रेसन परेर मरेको या किराँत राईको धर्म परिवर्तन गरेर निधन भएका आदि इत्यादी व्यक्तिहरुको यो सुप्तुलुङमा नाम बोलाइन्दैन | उनीहरुलाई दिनु पर्ने कुरो बाहिर दिइन्छ । नाम बोलाइन्दैन संयुक्त एक नाम (चामलिंग) हिलावा ताम्रवा /भुत प्रेत को रुपमा हेरिने धार्मिक नाम बाट दिने प्रचलन छ | यो पितृ पुजा गर्ने क्रममा सबै दर दाजुभाई लाई उक्त पुजामा सहभागी गराइन्छ | यस्तो क्रम सबै गाउँका दाजु भाइकोमा सकिएपछि साकेला पुजाको तिथि मिति तय गरिन्छ र रुन्ग्री ( अन्नको सह या सु-स्वस्थ धन धान्यको शक्ति ) निकाल्ने र भित्र्याउने घरको /रुन्ग्री खिमको निधो पनि गरिन्छ ।

साधारण भाषामा वैशाख/ जेष्ठमा सहकाल होस् भनि सह भित्र्याइन्छ साकेला / भुमिदेवको पुजा गरिन्छ भने अशोज कात्तिकमा ” धन्यवाद पितृ हो अन्न फल्यो तपाईहरुले पहिला खानुहोस त्यसपछि हामी” भन्दै गरिने यो किराँत राई हरुको जातिय मौलिक पराम्परिक संस्कार हो ।

साकेला पुज्ने दिनमा रुन्ग्री खिममा सबै आफ्नो दाजुभाई इष्टमित्र भेला हुन्छन् । उक्त रुन्ग्री खिम्मा साकेला नक्छुगले सुप्तुलुंङलाई मुन्धुमी तथा विधिवत अनुमति माग्दै साकेला थान जानको लागि दुइ कन्याहरुलाई रुन्ग्री बोक्न थुन्सेलाई साधारण कपडा या वार्किले ढाकेर उक्त थुन्से बोकाएर घरबाट निकालिन्छ र साकेला थानतिर मुल्धामी र अन्य आवश्यक ढोल झ्याम्टाका साथ् नाच्दै सबै जना पुजा गर्न प्रस्थान गरिन्छ । यसको अतिरिक्त हरेक घरबाट प्रत्यक्ले साकेला पुज्नको लागि भाले बोकेर लगिन्छ तर सबै ठाउमा भने यो चलन नहुन पनि सक्छ जस्तो खोटाङ नेर्पाको हकमा भन्नू पर्दा मात्र एउटा भाले लगिन्छ त्यो पनि सेउली बोक्ने ब्याक्ती सगै हुनेछ । साकेला थान तिर प्रस्थान गर्दा नक्छुङ भन्दा अगाडी कोहि जान सक्तैन सबै मानिस नक्छुंङलाई पछ्याउनु पर्दछ । यदी कुनै व्यक्ति अगाडी गैहाले उक्त व्यक्ति तत्काल मर्छ भन्ने मुन्धुमी विश्वाश गरिन्छ । त्यसो भएकाले जाने तरिका धामी/ तोकया, रुन्ग्री बोक्ने दुइ कन्या ,मूल ढोले सिली मोपा /मोमा अनि मात्र सर्व साधारणले पछ्याउदै अघि बढिन्छ ।

पुजा स्थल वा साकेला थान्मा पुगे पछी नाक्छुङ र बुढापाका मिलेर साकेला भुमिदेव थान भित्र प्रवेश गरी पुजा आजा गर्नको साथै उक्त भुमिदेव /साकेला खनेर निकालिन्छ र कुखुराको भालेले भोग दिइन्छ (यो बेला सम्पूर्ण भेग बासी र अन्य पर पाहुनाहरु साकेला थान्को वरीपरी साकेला नाँच नाच्न व्यास्त )। त्यस पछी उक्त साकेला भुमिदेव सबै दरदाजुभाइहरुलाई सार्वजनिक प्रदर्शन गरिन्छ त्यस पश्च्यात यथास्थानमै माटो भित्र पुरेरै राखिन्छ । तत् पश्च्यात त्यो साकेला थान बर्ष भरिको लागि ढोका बन्द गरेर राख्नको लागि उक्त ठाउँलाई ढुंगाको पर्खालले घेरेर राखिन्छ । सबै पशु प्राणिहरुलाई प्रवेश निषेध हुन्छ विशेष गरि बाख्रालाई पूर्ण निषेध गरिन्छ । त्यस पश्च्यात सकेला थानबाट नक्चुङ र् बुढा पाकाहरुले रुन्ग्री बोकेर कसको घरमा भित्र्याउने निर्णय भाको छ त्यहि घरमा (अन्नको सह) रुन्ग्री खिम / लगेर भित्र्याइन्छ ।अन्य साकेला नाँच भने यथा स्थानमा जारी नै रहन्छ रात दिन र सिलिमार्ने दिन एस्को सिली विधिवत मुन्धुमी समापन गरिन्छ र उक्त दिन देखी अर्को बर्ष सम्मा ढोल झ्याम्टा बजाउन सम्म पनि हुँदैन बजाउदा कुल पित्र रिसाउछन् भन्ने किराँत राईहरुको मुन्धुमी मान्यता यध्यपी छदैछ ।

किन साकेला पूजा गरिन्छ त ?
सारंशमा भन्नु पर्दा, हामी किरातहरु पित्री र प्रकृति पूजक भएकाले हामीले त्यो बर्ष अन्न बाली सप्रियोस, सह-काल होस् अनिकाल नलागोस र रोग व्यधी नलागोस भन्ने पुकार नै हो साकेलालाई पूजा गर्नुको प्रमुख उदेश्य ।  यसका अलावा यो हाम्रो जातीय मौलिक पहिचान पनि हो । यो चाडलाई हामी सबैले निरन्तरता दिनु नै हाम्रो किरात राईको मौलितालाई जीवन्त दिनु पनि हो ।

साकेला सिली भनेको केहो ?
साकेला, भनेको मुन्धुमी तन्त्र मन्त्रले उत्खनन् गरेको पत्थर या ढुंगा जस्तो देखिने भुमिदेव हो भने सिली भनेको साधारण भाषामा नाँच हो तर किरात राईहरुको मुन्धुमी अर्थ अलिक पृथक छ । सिली भनेको नाँच भए पनि सर्व साधारणले नाचिने नाँच लाई साकेला सिली भनिन्दैन । नाँच भनेको नितान्त पशु पन्छीहरुको नाँच या हाउ भाउ अनुकरण हो । यसकाअतिरिक्त किराँत राईहरुको पौराणिक उत्पति र जीवन शैली समेत उक्त सिलिले बोलेको हुन्छ ।

किराँत राईहरुले नाँच्ने सिलीमा प्रमूख ३ विधा छन्, ।
१. उत्पतिको कथा संगै कृषि र जीवन शैली  ।
२. शिकारी (हन्मार) दक्षता ।
३. पशु प्राणीको हाउ भाउ नाकल।

साकेला सिलीलाई कुनै नृत्य प्रशिक्षकले प्रतिपादन गरेर नाचिने होइन। उदाहरणका लागि सिलिहरु; ।
१. तायामा खियामा सिली = कपाश छरे देखि कपडा बुनेर ओढे सम्म
२. चासुंग सिली =अन्न बालि बिउ छर्ने देखि भित्र्याउने सम्म
३. बोखामा सिली = पृथ्वीलाई ढोग्ने सिली
४. कोकोले सिली = छेपारोको अनुकरण
५. खासिमा सिली = झिंगाको अनुकरण
६. फुइपा सिली =बादरकोको अनुकरण
७. वापा वाम्मा सिली = कुखुराको भाले पोथीको अनुकरण
८. क्रावा सिली = गंगटाको अनुकरण
९. कुप्पामा सिली = उपियाको अनुकरण आदि इत्यादी अन्य धेरै छन् ।

निष्कर्ष :
आ- आफ्नो भेग अनुसार कति किराँत राईहरुको ठाउँमा यो संस्कार गरिदैन भन्ने पनि सुनिन्थ्यो यसका विविध कारण होलान् । ठाउँ अनुसारको मान्ने चलन हरु पनि पृथक छन्। हुन त अहिले जहाँ तही जति बेला पनि साकेला नाचेको देख्न थालिएको छ । यो नकारात्मक भन्न त मिल्दैन तर पनि मेरो जानकारी अनुसार साकेला नाँच विशेष चाम्लिङ्ग खोला (खोटांग/दिक्तेल नेर्पा ) तिर उभौलीमा मात्र नाचिन्छ वा मानिन्छ तर उधौलिमा पित्र/सुप्तुलुङको पुजा (छवा) गरिन्छ जुन नयाँ चलाउने पनि भनिन्छ र यो चाडलाई चाम्लिङ्गको भाषामा धिरिला/ उधौली या छवा भनिन्छ । यो उधौलिमा साकेलाको पुजा या सिली/नाँच नाचिदैन । साधारण भाषामा वैशाख/ जेष्टमा सहकाल होस् भनि सह भित्र्याइन्छ साकेला / भुमिदेवको पुजा गरिन्छ भने अशोज कात्तिकमा “धन्यवाद पितृ हो अन्न फल्यो तपाईहरुले पहिला खानुहोस त्यसपछि हामी” भन्दै गरिने यो किराँत राईहरुको जातिय मौलिक पराम्परिक संस्कार हो ।

आज हामी किरात राईहरुका सन्तानहरु संसारका कुना काप्चामा फैली रहेका छौ । यसलाई पलाएन नभनेर फैलिएको भनिए राम्रो अर्थ लाग्ला तर प्रधान कुरो भनेको हामी सबै संसारको जुनै कुनामा भए पनि किराँत राई यायोक्खा केन्द्रिय समिति नेपालको विधानमा रही संस्थाले अंगिकार गरेको नीतिनियमलाई अक्षरस पालना गर्दै झण्डा, लोगो र छाँपमा आवद्ध हुन आजको प्रमुख आवश्यकता हो । यो गर्नुको प्रमुख कारण हो किरात राईहरुको एक रुपता र एकताका लागि हो । हामी राईहरुमा भाषाको विविधता हुनु भनेको भाषाका धनि हुनु हो र यो अनेकता हुदै होइन यो कुरो किरात राईहरुको सुप्तुलुंङ र साकेलाले नै प्रष्ट पारिसकेको छ ।

यो सानो लेख जो जसलाई थाहा छैन/ पहिला पढ्नु भएको थियन वा जान्न चाहनेहरुका लागि साकेलाको समय पारेरयस मिडिय मार्फत भए पनि समन्धित सबै मित्रहरु समक्ष थोरै भए पनि जानकारी होस् भन्ने अभिप्रायले प्रचार गर्ने जमर्को गरि रहेको छु। म कुनै साकेला विज्ञ नभै एक साधारण अभियान्ता मात्र भएकाले गल्ति हुन सक्तछ क्षमा याचना माग्दै पढी दिनु भएकोमा अग्रिम धन्यवाद दिदै किरात राईहरुको महान चाड साकेला उभौली यलेदुङ ५०७९ को उपलक्षमा किरात तथा गैह्र किराँत मित्रहरुमा हार्दिक शुभकामना ब्याक्त गर्दछु ।

तयामा, खियामा, रैछाकुले निर्माण समिती सदस्य
वीर बहादुर राई

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्