फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा तालाबन्दी
पाँचथर । जिल्लाको गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा घुर्बिसे पञ्चमीका स्थानीयले ताला लगाएका हुन् ।
फाल्गुन्द ५ पञ्चमीमा अवस्थित गाउँपालिकाको कार्यालयमा स्थानीयले मंगलबार ताला लगाएर आन्दोलनमा उत्रेका छन् । घुर्बिसे पञ्चमीबाट सेवा केन्द्र अन्यत्र सार्ने गाउँसभाको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएको बताइएको छ ।
सोमबार सम्पन्न गाउँसभाले फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपको याम्पाबुडदेखि मुन्तिर र कोल्बुङदेखि मास्तिर हुनेगरी सेवा केन्द्र सार्ने निर्णय गरेको थियो। निर्णय सार्वजनिक भएसँगै सेवा केन्द्र पञ्चमीमै राख्नुपर्ने माग राख्दै पञ्चमी बजारका स्थानीय आन्दोलमा उत्रिएका थिए । उनीहरुले पञ्चमी आसपासका शैक्षिक संस्था पनि बन्द गर्नुको साथै यातायात पनि बन्द गरेका छन् ।
गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवित्रा आङ्देम्बेका अनुसार आन्दोलन फिर्ता लिएर स्थानीयसवासीलाई छलफलमा आउन गाउँपालिकाले आग्रह गरेको छ । तर स्थानीयबासीले निर्णय खारेजीको माग गरिरहेका छन् ।