धान र गहुँ छुट्याउन नसक्नेलाई अर्थमन्त्री बनाएर अर्थतन्त्र बिगारियो : प्रदीप गिरी

काठमाडौं, ३१ वैसाख । सदनमा सत्ता पक्ष र प्रतिपक्षले आफ्नो सरकार र पार्टीलाई बचाउ गर्ने गरेको गुनासो चलिरहेका बेला मंगलबार कांग्रेस सांसद प्रदीप गिरी भने सदनमा आफ्नै पार्टीमाथि खरो रुपमा खनिएका छन् ।
सांसद गिरीले विगतमा आफ्नो पार्टीले गलत व्यक्तिलाई अर्थमन्त्री बनाई नेपालको अर्थतन्त्र विगारेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीले पिएचडी गरेका तर, धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै तत्कालीन नेतृत्वको आलोचना गरेका छन् ।
नेपालको अर्थमन्त्रीको विशेषज्ञताबारे धारणा राख्दै गिरीले भने, ‘पीएचडी गरेका, विदेश पढेर आएका तर नेपालको हकमा चाँही गहुँ र धानको फरक छुट्याउन नसक्ने, नेपालका हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन आलुलाई पानी चाहिन्छ की चाहिँदैन यो कुरा भन्न नसक्ने हाम्रा सरकारका पालामा मन्त्री भए ।’
उनले विपीले युरोप, अमेरिकाको अर्थतन्त्रको मोडल नेपालमा उपयुक्त नभएको स्पष्ट पारे पनि कांग्रेसका नेताले सकभर अमेरिकामा र जर्मनीमा पिएचडी गरेको व्यक्ति खोजेर अर्थमन्त्री बनाउनु गल्ती भएको औंल्याए । विपीको सिद्धान्तलाई वेवास्ता गरी कांग्रेसकै प्रधानमन्त्रीले नेपालमा तथाकथित आधुनिकीकरण, तथाकथित विकास, तथाकथित वृद्धिदर जस्ता अंग्रेजी सिद्धान्त भित्र्याएको उनले आरोप लगाए ।
वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिंदै नेता गिरीले नेपालको आर्थिक मोडल नेपालको अवस्था सुहाउँदो बनाउन आग्रह गरे । सामाजिक न्याय र आर्थिक वृद्धिदर भन्ने कुरा विपरीत कुरा भएकाले एकतिर मात्रै लाग्न उनले अर्थमन्त्रीलाई आग्रह गरे ।
नेपालले संसारमा चलिरहेको भन्दा फरक धाराको दीगो अर्थ व्यवस्था विकास गर्नुपर्ने धारणा गिरीले व्यक्त गरेका छन् । उनले भने, ‘संसारमा जुन धारा चलिरहेको छ, नेपालले वैकल्पिक धारा ल्यायो, दीगो अर्थ व्यवस्थाको बाटो देखायो भने नेपाल तेस्रो विश्वको लागि उदाहरण बन्छ ।’