Logo

विपश्यना : मार्क्सवादको चौथो संघटक अङ्ग


– गोपाल किराती

‘एशियाको प्रकाश’ शिद्धार्थ गौतम ‘बुद्ध’ लुम्बिनीमा जन्मेका हुन् । हाम्रो पुस्ताको प्राथमिक विद्यालयदेखि ‘सातौं किराती राजा जीतेदस्तिको समयमा बुद्ध नेपाल उपत्यका आए’ भनरे पढियो । इतिहासकार डा. पेशल दाहालले भने बुद्ध नभएर उनको शिष्य आनन्द मात्र उपत्यका आएको बताएका छन् । शाक्य राजकुमार शिद्धार्थ गौतमले बोधगयामा बुद्धत्व प्राप्त गरे र सारनाथमा सर्बप्रथम प्रशार गरे । २५ सय वर्ष अघि नेपालको लुम्बिनीमा जन्मेर त्यस उच्चाईको महानता हासिल गर्ने बुद्धप्रति नेपालीहरु गौरव गर्दछन् ।

‘बुद्ध’ शिद्धार्थ गौतमको गुण–धर्मको वस्तुगत संश्लेषण हो । बुद्धको सारतत्व प्रकृति, मानव समाज र चिन्तनवारे वैज्ञानिकता हो । यसै कर्मको आधारमा उनलाई ‘बुद्ध’ भनियो । गणतन्त्र नेपालको सरकार आयोजित लुम्बिनी भ्रमण बर्ष २०१२, अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनिधिहरुको बैठकमा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यद्वारा प्रस्तुत एक कार्यपत्र अनुसार विद्यमान विश्वमा बुद्धका घोषित अनुयायीहरुको जनसंख्या २८ प्रतिशत छ । पृथ्वीको सात अर्बमध्ये यो करिब दुई अर्ब हुन आउछ ।

गङ्गा मैदानबाट फैलिएको वर्णव्यवस्थाका कारण समाज संकटग्रस्त थियो । बुद्धको दर्शन, त्रिशरण तथा विपश्यनाले प्रगतिशील विकल्पको स्थान लियो । विपश्यना ध्यान–साधनाद्वारा लाभान्वित साहु–महाजन बुद्धका अनुयायी र सहयोगी बने । लुम्बिनी–सारनाथ क्षेत्रको व्यापक जनसंख्या बुद्धमार्गी बन्न पुगे । दुःख निवारण आन्दोलन सशक्त स्थापित भयो ।

मगधका सम्राट अशोकले पृथकतावाद र विदेशी हस्तक्षेप विरुद्ध अनेक युद्धमा विजय प्राप्त गरे । कलिङ्ग राज्यसँगको युद्धमा करिब एक लाख मानिसको विभत्स हत्याका कारण आदर्श भावनाका सम्राट अशोकमा गम्भीर विचलन देखा पर्यो । समाधानमा, पण्डित राधागुप्तको सल्लाहले अशोक बुद्धमार्गमा प्रवेश गरे । लुम्बिनीमा आएर उनले स्तम्भ खडा गरे । त्यही स्तम्भ बुद्धको जन्मस्थान लुम्बिनी प्रमाणित गर्ने पुरातात्विक आधार बनेको छ ।

८० वर्षको उमेरमा, कुशीनगरमा बुद्धको महापरिनिर्वाण भयो । भिक्षु आनन्दको तत्वावधानमा बुद्धको भौतिक शरीरलाई आठ स्थानमा सुरक्षित गरियो । पछि सम्राट अशोकले त्यसको उत्खनन् गराए । हाल परासीको रामग्राम बाहेक सात स्थानबाट बुद्धको अस्तु निकालेर ८४ हजार स्तुपमा विन्यास गरियो । यसरी बुद्धमार्ग भारतब्यापी बन्यो । इतिहास छ, चावहिलस्थित चारु विहार सम्राट अशोककी छोरी चारुमतिले नेपाल आएर स्थापित गरेकी हुन । बुद्धमार्ग पूर्वमा श्रीलङ्का, बर्मा, थाइल्याण्ड, भियतनाम, जापान हुदै पश्चिममा अफ्गास्तिानसम्म फैलियो । उत्तरमा तिब्बत हुदै चीनसम्म पुग्यो र एशियाको प्रकाश बन्यो ।

बर्मास्थित सन् १९२४ मा जन्मेका सत्यनारायण गोयन्का दारुणिक अवस्थामा विपश्यना गुरु ऊ बा खिनको शरणमा पुगे । तीन पुस्तादेखि गोयन्का परिवार व्यापारिक पेशामा भारतको राजेस्थानबाट बर्मा पुगेर बसोवास गर्दै थियो । गुरुको आदेशमा गोयन्काले भारतलाई केन्द्र बनाएर बुद्ध दर्शनको विपश्यना अभियान चलाए । विपश्यना गुरु सत्यनारायण गोयन्काको प्रयासमा भारत, नेपाल र विभिन्न मुलुकमा हजारौ विपश्यना केन्द्र सक्रिय छन् । भारतबाट बर्मा पुगेको विपश्यना ज्ञान–साधना पुनः भारत फर्काउने ऊ बा खिनको आदेश गोयन्काले पुरा गरे, भन्नु पर्छ ।

वैज्ञानिक बुद्ध

बुद्ध दर्शन विज्ञान कि धर्म ? मुख्यतः यसको निरुपण जरुरी छ । बुद्ध दर्शन अनित्य समुत्पाद हो, जसले जीवन र जगतलाई क्षणभङ्गुर परिवर्तनशील तत्वका रुपमा हेर्छ र बुझ्छ । अनित्य बोधको दर्शनलाई महान् भौतिकशास्त्री स्टेफन हकिङद्वारा ब्रम्हान्ड विज्ञानबारे प्रयुक्त सिद्धान्तसँग तुलना गर्न सकिन्छ । हकिङले दुईवटा सिद्धान्तको प्रयोगद्वारा समयको इतिहास र ग्राण्ड डिजाइन पुस्तक लेखे । अल्बर्ट आइन्सटाइनको सामान्य सापेक्षतावादको सिद्धान्त र म्याक्स प्लाङ्कको अनिश्चयतावादको सिद्धान्त गरी दुई सिद्धान्तको प्रयोगमा ब्रह्माण्डवारे महान् खोज हकिङको विशिष्ट योगदान हो ।

बुद्ध आत्मा र परमात्माको अस्तित्व अस्वीकार गर्छन र अनात्मावादको पक्ष लिन्छन् । यसैकारण कट्टर धर्मपन्थीहरु उनलाई नास्तिक समेत भन्ने गर्छन । जीवन र जगतको अस्तित्व भनेकै पदार्थ र तरङ्गको एकत्व हो । तरङ्ग बिनाश भएर शुन्यमा परिणत हुन्छ भने पदार्थ त्यसरी बिनाश हुदैन । बरु रुपान्तरित आधारमा पदार्थको निरन्तर विकास हुन्छ । परन्तु पदार्थको रुपान्तरण तथा विकासको परिक्षण लौकिक वस्तुमा हुनुपर्छ । अतः आत्मालाई तरङ्ग मान्दा त्यो सुन्यमा परिणत हुने अर्थात मर्ने र शरीरका भौतिक पदार्थहरु माटो र हावामा बदलिने अनात्मावादको विश्लेषण हुनुपर्छ ।

खस–नेपाली भाषा बोल्ने समाजमा भन्ने गरिन्छ कि ‘फलानाले धर्म छाडेन, फलानाले धर्म छाड्यो’ । यहाँ धर्म छाड्नु र नछाड्नुको औचित्य मानवीय कर्तव्य–कसीको व्यवहारसँग सम्बन्धित छ । धर्म छाड्ने र नछाड्नेको प्रश्न हिन्दु, इश्लाम, ईशाइ वा कुनै सम्प्रदायगत धर्मसँग सम्बन्धित नभएर त्यस घटनामा त्यस मानिसको मूल्याङकनसँग सम्बन्धित कुरा हो । विपश्यना गुरु सत्यनारायण गोयन्का अनुसार पनि गुणको आधारमा धर्म निर्धारण हुन्छ । जस्तो कि आगोको धर्म जल्नु वा जलाउनु हो । अतः बुद्ध दर्शनलाई लौकिक प्रकृति र समाज कल्याणमा अग्रसर परम्परागत शब्दको अर्थमा मानवीय वैज्ञानिक धर्म भन्न पनि सकिन्छ ।

धर्मलाई मुख्य रुपले अलौकिक मान्ने गरिन्छ, जुन अध्यात्मवादी दृष्टिकोण आधारित हुन्छ । परन्तु बुद्ध दर्शन अनित्यवादी लौकिक दृष्टिकोण भएको तथा दुःखको कारण निवारण गर्न दुःखीलाई वस्तुगत उत्प्रेरणा दिने हुँदा यो कुनै सम्प्रदायपथ नभएर वस्तुतः विज्ञान ठहर्छ । मानिसहरु शिद्धार्थ गौतमको शालिकमा लीन हुने अन्धविश्वाश गर्छन् । सरल भाषामा बुद्धको त्रिशरण गमनको अर्थ बुद्धं शरणं गच्क्षामी भनेको ज्ञानको खोजी गर, धमं शरणं गच्क्षामी भनेको ज्ञानको प्रयोग गर तथा सघं शरणं गच्क्षामी भनेको संगठित हौं, भन्ने हुन्छ ।

मानिसका भित्री र बाहिरी दुईवटा मन हुन्छन् । सामाजिक, आर्थिक, प्राकृतिक कारणले बाहिरी मन मानिसको नियन्त्रणमा रहन बाध्य छ । तर, भित्री मन स्वयं व्यक्तिको नियन्त्रणमा हुदैन । युवल नोह हरारीको अंग्रेजी पुस्तक ‘ट्वान्टी वन लेसन फर ट्वान्टी फस्ट सेन्चुरी’ मानिसको भित्री मनवारे बुद्ध दर्शनको वैज्ञानिक अनुसन्धानमा सहायक बनेको छ । युवल नोह लेख्दछन्– ‘जीवन र जगत, ब्रम्हाण्डसम्मको अध्ययन गर्न अनेक यन्त्रहरु बनेका छन् । तर मानिसको भित्री मन, जुन मानिसको नियन्त्रण बाहिर छ, के हो ? पत्ता लाग्न सकेको छैन । यो अवश्य पत्ता लाग्ने छ । जसका निम्ति बुद्धको विपश्यनाले विज्ञानको काम गर्न सक्छ ।’

अतः बुद्ध दर्शन विज्ञान र शिद्धार्थ गौतम वैज्ञानिक हुन्, भन्ने तथ्य सर्वत्र स्थापित हुदैछ ।

विपश्यना अधिस्थान

ज्ञानहरुको संश्लेषण विज्ञान भए झैं ‘पश्यनाहरु’को संश्लेषण ‘विपश्यना’ हो । पाली भाषामा ‘पश्यना’को अर्थ सामान्य निरीक्षण, अध्ययन वा अनुसन्धान हो भने ‘विपश्यना’को अर्थ सुक्ष्म निरीक्षण, अध्ययन वा अनुसन्धान हुन्छ । बुद्ध दर्शनका चार आर्य सत्यले जीवन र जगतमा दुःख छ, दुःखको कारण छ र त्यसको निवारण छ, भन्यो । र, निवारणका लागि आठ मार्गहरु प्रशस्त गर्यो । आठ मार्ग अन्तर्गत मुख्य शील, समाधि र प्रज्ञा हुन् । पञ्चशीलमा चोरी गर्दिन, झुटो कुरा बोल्दिन,  प्राणीको हिंसा गर्दिन, यौन दुराचार गर्दिन र लागु पदार्थ खाँदिनका सपथ पर्दछन् । विपश्यना ध्यान गर्दा शीलबाट प्रवेश गरेर समाधि हुदै प्रज्ञाको तहमा पुग्ने हुन्छ ।

विपश्यना ध्यान कार्यमा समाधि भनेको सचेतन अवस्थाको निन्द्रा हो । शीलको एकाग्रता भएर मानिस समाधिमा पुग्छ । वरपरको आवाज प्रष्ट सुनेर पनि मस्त निन्द्रामा चिन्तन गरिने स्थिति नै समाधि हो । समाधिबाट प्रज्ञामा पुगेपछि शान्त र सजकतापूर्वक मन केन्द्रीत गरेर समताभावमा शरीरको सबै अंगलाई प्रज्ञाले सुक्ष्म निरीक्षण गरिन्छ । सुक्ष्म निरीक्षणको क्रम बढाउदै सफल उत्कर्षमा पुगेपछि मानिसले मुक्ति अर्थात बुद्धत्व प्राप्त गर्ने हुन्छ । संक्षिप्तमा विपश्यना यही हो, जसले मानिसको भित्री मनवारे वैज्ञानिक अध्ययन गर्छ । स्मरण रहोस कि बुद्ध दर्शन मनोविज्ञान मात्र नभएर विज्ञान हो ।

अर्थ–राजनीतिक दृष्टिले सर्वहारावर्गको नेत्त्रृत्वमा वैज्ञानिक समाजवाद, सामाजिक न्याय आधारित वितरण तथा आणविक हतियार उत्पादनमा प्रतिबन्ध दृश्य उपाय हुन् । जसले, प्रकृतिका प्राणी जगतको रक्षा गर्नेछ । परन्तु सर्वहारावर्गको हठात् बिजयको अभावमा नागरिक जीवनमा यी उपाय प्रत्यक्ष हुदैनन् । अतः जोड दिएर भन्नुपर्छ, सुलभ व्यवस्थापन वैज्ञानिक बुद्धको विपश्यनाको सार्वभौमिकरण नै हो ।

बुद्धकालीन चीनिया कन्फुशियस, लाओत्से र सुञ्जु तथा युरोपेली प्लेटो, शुकरात र अरस्तुले मानिसको बाहिरी मन परिचालन सम्बन्धी दार्शनिक योगदान गरे । बुद्धले मुख्यतः भित्री मन परिचालन सम्बन्धी विपश्यना अधिस्थान स्थापित गरे । गोयन्का अनुसार ऋग्वेदमा पनि ‘लोक विपश्यी’ शब्द उल्लेख छ । आफ्नो जीवनमा बुद्धले छ वर्ष साधना गरेर यसलाई मौजुद तुल्याए र मानिसको मनलाई आत्मकेन्द्रीकरणको उत्कर्षमा पुर्याएर वस्तुमा वदल्ने विशिष्ट विधि वा प्रविधिमा विकास गर्न सफल भए ।

अतः बुद्ध दर्शनको ‘विपश्यना’ विज्ञान र ‘अधिस्थान’ त्यसको प्रविधि हो, भनेर बुझ्नु युक्तिसङ्गत हुन्छ ।

विपश्यनाको सार्वभौमिकता

साम्राज्यवाद तथा दलाल पुजीवाद मानिसलाई गरिब बनाउने सिद्धान्त हो । मुट्ठीभर व्यक्तिलाई धनी बनाउने चरित्रमा त्यसले बहुसंख्यक जनतालाई तीब्र गतिमा गरीबिको कित्तामा धकेल्छ । अतः उसको चारित्रिक विशेषताका कारण पुजीवादी व्यवस्थाले जनसख्याको सम्यक व्यवस्थापन गर्न सक्दैन । वित्तीय साम्राज्यवाद तथा दलाल पुजीवादको क्रुर शोषण, दमन, उत्पीडन र पशुतुल्य दोहनले विद्यमान शताब्दीका एक अर्ब जनसंख्या २४ घण्टामा एक छाक खान पाउदैनन्, त्यसमध्ये भारतमा मात्र २० करोड मानिस भोकै सुत्न बिवश छन् । सीमित व्यक्तिमा सम्पतिको चरम केन्द्रीकरण तथा आणविक हतियार उत्पादनमा बढ्दो खर्चका कारण नागरिक जीवनमा यसरी संकट तीब्रतर बनेको छ ।

मंगल ग्रहका अतिरिक्त शनि, बृहस्पति र पृथ्वीको उपग्रहमा मानव वस्ती सम्भाव्यता अध्ययनको खुब प्रचार गरिदैछ । कुनै अर्को ग्रहबाट पृथ्वीमाथि एलियनको आक्रमण कल्पना पनि त्यत्तिकै प्रचारमा छ । मानौ कि अर्को ग्रह वा उपग्रहमा मानव वस्ती सम्भव बन्यो । तर त्यहाँ पुगेर बस्ने को हुन्छन् ? जवाफ स्पष्ट छ, त्यस्तो स्थानान्त्तरण सम्भव बनेमा त्यहाँ गएर बसोवास गर्ने तिनै मुट्ठीभर साम्राज्यवादी हुनेछन्, पृथ्वीका मजदुर–किसान, उत्पीडित जाति र महिलाहरुको पहुँच सम्भव छैन । यसरी सूचना सञ्चार तथा विज्ञान र प्रविधिमाथि एकाधिकार जमाएको वित्तीय साम्राज्यवादले मृगतृष्णा बढाएर अरबौँ मानिसको आत्महत्या गराउँदैछ ।

एलियन कल्पना पनि साम्राज्यवादी रणनीति नै हो । साम्राज्यवादी अर्को ग्रहमा पुग्ने अनि आफ्नो आदेशमा नचले पृथ्वी निवासीलाई ध्वस्त बनाउन प्रयोग गरिने धम्कीको रणनीति नै एलियन प्रचार हो । परन्तु त्यस कोटीको साम्राज्यवादी प्रचार मिथ्या सावित हुने निश्चित भइसकेको छ । अर्को ग्रहमा मानिसको भौतिक स्थिति टुसा उम्रनासाथ मर्ने चीनिया कपासको नियति बाहेक अरु नहुने तथ्य परिक्षणले देखाएको छ । अतः भन्न सकिन्छ, अर्को ग्रहमा भागेर त्यहाँबाट पृथ्वी निवासी श्रमिक जनतालाई धम्क्याउने साम्राज्यवादी रणनीति केवल ‘चीनिया कपास’ मात्र हुनेछ ।

अर्को, सन् २०२२ मा सञ्चालनमा ल्याइने अन्तरिक्षस्थित पाँचतारे होटलको चर्चा छ । त्यो अन्तरिक्ष होटलमा पुग्न, एक रात बस्न र भूगोलमा फर्कन एक जना ग्राहकले १३० करोड नेपाली रुपैया भुक्तान गर्नु पर्नेछ । त्यो पनि मुट्ठीभर व्यक्ति खर्वपति बन्ने र तिनकै भद्दा मनोरञ्जनमा गरीब जनताको मृगतृष्णा बढाएर आत्महत्या गर्न बिवश तुल्याउने साम्राज्यवादी रणनीतिकै अंग हो, भनेर बुझ्नु गाह्रो पर्दैन ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन २०१६ अनुसार हालसालैको विश्वमा ‘गरीबी र लैङ्गिक हिंसाका कारण प्रत्येक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्छ । ३५ देखि ७४ वर्ष उमेर समुहका महिलाहरु बढी आत्महत्या गर्छन् ।’ सन् २०१८ को एक राष्ट्रसंघीय शान्ति सम्मेलनमा एक भारतीय सद्गुरुले भनेका छन्– ‘आश्चार्यको कुरा हुने छैन कि यही गतिमा छाड्ने हो भने आगामी ५० वर्षमा विश्वका ५० प्रतिशत मानिसले आत्महत्या गर्नेछन् ।’

यो भयानकताको रोकथाम कसरी गर्ने ?

अर्थ–राजनीतिक दृष्टिले सर्वहारावर्गको नेत्त्रृत्वमा वैज्ञानिक समाजवाद, सामाजिक न्याय आधारित वितरण तथा आणविक हतियार उत्पादनमा प्रतिबन्ध दृश्य उपाय हुन् । जसले, प्रकृतिका प्राणी जगतको रक्षा गर्नेछ । परन्तु सर्वहारावर्गको हठात् बिजयको अभावमा नागरिक जीवनमा यी उपाय प्रत्यक्ष हुदैनन् । अतः जोड दिएर भन्नुपर्छ, सुलभ व्यवस्थापन वैज्ञानिक बुद्धको विपश्यनाको सार्वभौमिकरण नै हो । विपश्यना अधिस्थानको सार्वभौमिकताले सम्यक दृष्टिमा मानिसको मन शान्त र सजक तुल्याउँछ । र, मानवता बिरोधी साम्राज्यवाद तथा त्यसका दलालहरु विरुद्ध सम्यक आन्दोलन बढाउँछ ।

यद्यपि विपश्यना आन्दोलनले मात्र वित्तीय साम्राज्यवादको ध्वंशात्मक आक्रमणलाई ठेगान लगाउन सक्दैन र नै मार्क्सवादी वर्गसंघर्ष निर्णायक बन्नु पर्छ ।

विपश्यना : मार्क्सवादको चौथो संघटक अङ्ग

मार्क्सवादको द्वन्दात्मक भौतिकवादी दर्शन र स्टेफन हकिङको ब्रह्माण्ड विज्ञानसँग तुलनात्मक अध्ययन गर्दा शिद्धार्थ गौतमको ‘बुद्ध दर्शन’ विज्ञान ठहर्छ । अनित्य समुत्पादकको दर्शन, दुःख निवारणका लागि वस्तुगत कारण खोज्ने उत्प्रेरणा, आत्मा र परमात्माको अस्वीकृति, ईश्वरको सट्टा नश्वर तथा विपश्यना अधिस्थानले बुद्ध दर्शनलाई विज्ञान प्रमाणित गर्छ । अनित्य समुत्पादलाई विपरीतहरुको एकता र एकको दुईमा बिभाजनको नियमसँग स्वतः तुलना गर्न सकिन्छ । मार्क्सवाद र बुद्ध दर्शनको स्वतन्त्र अध्ययन, गुरु सत्यनारायण गोयन्काको १५ घण्टे प्रवचन ब्याख्या र स्वयं व्यक्ति दश दिने अधिस्थानमा सहभागी बनेपछि विपश्यना विज्ञान वस्तुतः प्रमाणित हुन्छ ।

यसरी दार्शनिक सारतत्वमा, पदार्थको प्राथमिकता स्वीकार गर्ने मार्क्सवाद–लेनिनवाद–माओवाद र बुद्ध दर्शनवीच द्वन्दात्मक भौतिकवादको ठोस एकत्व अभिव्यक्त हुन्छ । आत्माको प्रसङ्गमा बिचारधाराको अर्थमा मार्क्सवादले आत्मिक चिन्तन स्वीकार गर्छ । परन्तु बुद्ध दर्शनलाई विज्ञान स्वीकार गर्नेका लागि विपश्यना अभ्यास गर्दा पदार्थको उच्चतम विकाश भौतिक–आत्मिक चिन्तन नै पर्याप्त हुन्छ । प्रकृति र मानव सेवा खातिर आत्मा स्वीकार गर्ने र नगर्नेबीच फैसला अभावले सम्यक आन्दोलनमा कुनै बाधा गर्दैन ।

धर्मको स्वरुपमा पनि सम्राट अशोकको प्रभाव कमजोर हुदै गएपछि भारतमा बुद्धमार्ग विरुद्ध व्यभिचारी शासकहरुले राज्य दमन चलाए । जसरी वस्तुलाई प्रधान मान्ने चारबाक दर्शनलाई दमन गरे । विज्ञानको स्वरुपमा उभ्याइएको भए अशोकले बुद्धमार्ग ग्रहण गर्ने र व्यापकता दिने कुरा निश्चय नै सम्भव थिएन । अतः धर्मको स्वरुपमै किन नहोस्, सुरक्षित गरी ल्याउने बुद्धमार्गीहरु साधुवादका पात्र हुन् । सन् १८५९ मा चार्ल्स डार्विनले विकासवादी सिद्धान्त अघि सारे । सन् १८४८ देखि नै कम्युनिष्ट पार्टीको घोषणापत्र सहित मार्क्स–एङ्गेल्स कठोर वर्गसघर्षमा थिए र यूरोपेली पुजीवाद सामु मार्क्सवाद सशक्त चुनौति बन्दै थियो ।

ग्यालिलियोले पृथ्वी घुम्ने बिचार अघि सारे । उनको बिचारमाथि शासकहरुले प्रतिबन्ध लगाए । प्रतिबन्धको डेढ दशकपछि पोपकै अनुमतिमा परिमार्जन सहित ग्यालिलियोको बिचार पुस्तकमा प्रकाशित भयो । पुस्तकले अध्यात्मवादमाथि हमला बोल्न थालेको देखेपछि अनुमति दिने इशाई पोपले पश्चाताप गरे । परमब्रह्मवादी धर्माधीशहरुको त्यस्तो रवैया हेर्दा मार्क्सवादले वर्गसघर्षको ज्वाला दन्काएको राजनीतिक परिस्थिति नभए विकासवादी सिद्धान्त अघि सारेको अभियोगमा डार्विन अवश्य दण्डित गरिने थिए । परन्तु मार्क्सवादको राजनीति डार्विनको भौतिक रक्षा गर्न सक्षम रह्यो ।

बुद्ध दर्शनको वैज्ञानिकता उजागर हुदै गएपछि विज्ञान र धर्म पक्षधर भनी यहाँ दुई खेमा उपस्थित हुने भयो । परमात्माको अस्तित्व अस्वीकार गर्ने बुद्ध दर्शनले लोक बाहिरको अलौकिक विचार स्वतः खारेज गर्छ । रुपान्तरित पदार्थको अनन्ततालाई जन्म र अवतारसँग जोड्ने हो भने त्यो पनि भौतिकवादभित्रै पर्छ । जसरी मार्क्सवादले महिला स्वीकार गर्छ, तर महिलावाद होइन । ठीक त्यसरी नै आत्माको रुपमा आत्मिक चिन्तन स्वीकार गर्छ, तर अध्यात्मवाद किमार्थ होइन । किनकि, ‘वाद’को स्थानमा द्वन्दात्मक भौतिकवाद हुनुपर्छ । अतः बुद्धमार्गीहरुले बुद्ध दर्शनलाई विज्ञानको तहमा आत्मसात गर्दा समतायुक्त समाजव्यवस्थाको माग निर्णायक बन्ने हुन्छ ।

वर्गसंघर्ष जारी रहँदासम्म वैज्ञानिक बुद्धको राजनीतिक सुरक्षा मार्क्सवादले जिम्मा लिनुपर्छ । मार्क्सवाद र बुद्ध दर्शनबीच समायोजन प्रक्रिया मानव जातिको केन्द्रीकरणको उत्कर्ष विचार हो । इतिहासमा जमीन केन्द्रीकरणमा सामन्तवाद र उद्योग केन्द्रीकरणमा पुजीवादले प्रगतिशील भूमिका खेले झैँ मानव जातिको साम्यवादी केन्द्रीकरणमा विपश्यना समायोजित मार्क्सवादले महान भूमिका खेल्ने निश्चित छ । बुद्ध दर्शनको वैज्ञानिकताको स्वीकृति एवं व्यवहारिक अभ्यासले नेपाली विशिष्टताको मार्क्सवादको विकासमा बृहत्तर आयाम सुदृढ गर्ने तथ्य त्यत्तिकै स्पष्ट छ ।

विशुद्ध धार्मिक विषय ठानेर नै हुनुपर्छ– मार्क्स, लेनिन तथा माओले बुद्ध दर्शन सम्बन्धी अध्ययन गरेको पाइदैन । परन्तु, धर्मको स्वरुप जस्तो छ, त्यस स्वरुपमा सुरक्षित रहदै आएको बुद्ध दर्शन विज्ञान हो, द्वन्दात्मक भौतिकवादको सजीव पूर्खा हो । बुद्ध दर्शनको विपश्यना अधिस्थान वस्तुतः मानिसको भित्री मनबारे अध्ययन गर्ने विज्ञान हो । अतः मार्क्सवादको तीन संघटक अङ्ग– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समतुल्य बुद्धको विपश्यनालाई चौथो अङ्गको स्थानमा स्वीकार गर्नुपर्छ । अब नेपाली विशिष्टतामा विकसित मार्क्सवादका सार्वभौम चार संघटक अङ्ग हुनेछन् । चार संघटक अङ्गको एकीकृत प्रहारबाट बहुसंख्यक जनताको दुःखको मुख्य कारकतत्व वित्तीय साम्राज्यवाद तथा त्यसका दलालहरु उम्कन पाउने छैनन् । यसरी मानव जातिको केन्द्रीकरणमा विश्वमा साम्यवादको विजय सुनिश्चित गरिन्छ ।

राज्यसत्ता र वर्गसंघर्षबारे बुद्ध दर्शन प्रत्यक्ष उपयोगी नदेखिन सक्छ । त्यसैले वित्तीय साम्राज्यवाद तथा दलाल पुँजीवाद विरुद्धको राजनीतिक संघर्षमा मार्क्सवादको स्थान प्रधान तहमा सुनिश्चित छ । शील, समाधि र प्रज्ञाद्वारा समताभाव निर्माणले मानिसको भित्री मनबारे सुक्ष्म अध्ययन गर्ने विपश्यना अधिस्थान बाहेक आजसम्म कुनै वैज्ञानिक विधि र प्रविधि उपलब्ध छैन । समाज विज्ञानको राजनीतिक विश्लेषणमा बुद्धको दर्शन अनित्यबोध, विचारधारा त्रिशरण, रणनीति दुःखको कारण निवारण, निरपेक्ष कार्यनीति विपश्यना अधिस्थान, लक्ष्य प्रकृति र मानववीच समतायुक्त समाजव्यवस्था एवं गृहस्थी उत्पादनकर्ता र भिक्षुहरु प्रचार तथा संगठनकर्ता रहेको अर्थतन्त्र देखिन्छ ।

अहिंसा बुद्धको रणनीति र कार्यनीति दुवै हो । मार्क्सवादले पनि खोजी–खोजी हिंसा गर्ने भनेको छैन । उत्पीडन अन्त्यको लागि प्रतिरोध संर्घष गर्दा राज्यद्वारा थोपरिने हिंसाको प्रतिरोधमा बल प्रयोग भनेको हो । बुद्धले पनि सामूहिक तथा व्यक्तिगत प्रतिरक्षा व्यवस्थाको आह्वान गरेकै छन् । अतः साम्यवादमा पुग्न मार्क्सवादले प्रधान तथा विपश्यनाले अभिन्न सहायकको भुमिका खेल्छ । राज्यको विलोपीकरण उप्रान्त बुद्ध दर्शन प्रधान बनेर जाने देखिन्छ ।

‘बुद्ध’ शब्द नै बुद्धि र विषयको बोध तत्वसँग सम्बन्धित छ । बुद्धत्व प्राप्त गरेर अनित्य जीवन र जगतबारे उच्चकोटीको बुद्धिमान ठहरिएकैले शिद्धार्थ गौतम ‘बुद्ध’ बनेको स्पष्ट छ । अतः नेपालमा जन्मेको बुद्ध र उनको वैज्ञानिक दर्शनलाई नजरअन्दाज गर्नु देशभक्त नेपालीका सामु लज्जाको विषय बन्छ । धर्मनिरपेक्ष गणतन्त्रमा धर्मको रुपमा मान्नेहरु पनि स्वतन्त्र छन् । विज्ञान स्वीकार गर्ने सबैले बुद्धको विपश्यना अधिस्थान अभ्यास गर्न अत्यन्तै जरुरी छ । पुजारीवादको बिरोध गर्दै माओवादी कम्युनिष्टले विपश्यना अधिस्थानलाई सर्वत्र स्थापित गर्न अग्रदस्ताको भूमिका खेल्दा चार संघटक अङ्गमा मार्क्सवादलाई स्थापित गर्न सकिन्छ । जसले विपश्यना विज्ञानलाई मार्क्सवादको चौथो संघटक अङ्ग स्वीकार गर्दैन, त्यस्तो मानिस माओवादी कम्युनिष्ट हुनै सक्दैन, भन्ने तथ्य बोध गर्नु पर्दछ ।

७५३ स्थानीय तहमा विपश्यना अधिस्थान सञ्चालन गरेर राज्यका सबै अधिकृत, जनप्रतिनिधि, दलनेता र पत्रकार समेतलाई बर्षमा दश दिनको विपश्यना अनिवार्य गराउँदा उनीहरुको कार्य सम्पादन उत्साह बृद्धि हुने तथा सामाजिक हत्या, हिंसा, वलात्कार एवं भ्रष्टाचार जस्ता अपराध घट्न सक्छ । र, जन्मस्थान नेपालबाट बुद्धको सम्मान पनि हुनेछ । भोक्ताभाव र कर्ताभाव मुक्त द्रष्टाभावमा उठेर जुनसुकै सुख र दुःखको घटनालाई समताभावमा ग्रहण गर्न सक्नु नै विपश्यना अधिस्थानको मुख्य र गाह्रो काम हो । परन्तु शील, समाधि र प्रज्ञाको माध्यमद्वारा आर्जित मुख्यतः समताभावले प्रकृति र मानव समाजको घटनावारे मानिसलाई राग र द्वेषरहित बुद्ध बनाउने हुन्छ ।

निष्कर्ष

प्रारम्भमा बुद्ध दर्शन पूर्व विज्ञान हो, भन्ने लाग्दथ्यो । ०४६ को आन्दोलनपछि मानिसहरु भाषा, लिपि, धर्म खोज्न लागे । किरात राई यायोक्खाको संस्थापक सदस्यको हैसियतमा ०४९ असारमा हामीले ‘राईहरु बुद्धिष्ट बन्नुपर्छ’ शिर्षक लेख लेख्यौ । तर ०४९ फागुनमा यायोक्खाको धरान सम्मेलनले ध्यान दिएन । जब नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरियो, तब मार्क्सवादको विकास प्राथमिकतामा पर्यो । नेपाली विशिष्टतामा मार्क्सवादको विकास कसरी गर्नेवारे विज्ञान चिन्तनका अभियन्ता क. तुलसीदास महर्जनसंग विस्तृत छलफल गरियो । क. महर्जनको बिचार थियो– ‘मार्क्सवाद र बुद्ध दर्शन जोड्नु पर्छ ।’ ०६५ देखि नै ‘तनाव व्यवस्थापनका लागि विपश्यना शिविर जानुस्,’ भन्ने चावहिल निवासी परमानन्द शाक्यको जोड थियो ।

अप्रिल २०१९ मा, दश दिने विपश्यना शिविरमा सहभागी बनेपछि प्रष्ट भयो, बुद्ध दर्शन मानिसको भित्री मनवारे अध्ययन गर्ने विज्ञान रहेछ ! अतः विपश्यना अधिस्थानको प्रयोगद्वारा प्रकृति र मानवीयताको रक्षा सघर्षमा खरो उत्रदै वर्गसघर्षमा विजय हासिल गर्ने लक्ष्यमा यो एकीकरण अर्थात समायोजन आलेख तयार गरियो । बुद्ध दर्शनलाई नितान्त परम्परागत धर्मसँग मात्र जोडेर हेर्नु वैज्ञानिकता हुन सक्दैन । २५ सय वर्ष अघि नेपालको लुम्बिनीमा जन्मेका शिद्धार्थ गौतम ‘बुद्ध’को राज्य सिंहाशन त्याग र वैज्ञानिक विचारको विकासका आधारमा, मानव तथा प्राणी जगतको कल्याणमा समर्पण कर्मलाई चीनस्थित माओ त्सेतुङद्वारा अभ्यास गरिएको महान् सर्वहारा साँस्कृतिक क्रान्तिसँग सहजै तुलना गर्न सकिन्छ । किनकि, विचार र व्यवहारको समग्रतामा शिद्धार्थ गौतम ‘बुद्ध’ एक महान् साम्यवादी हुन् ।

अन्त्यमा, ऐतिहासिक एवं संरचनागत कारणले विपश्यनालाई मार्क्सवादको चौथो संघटक अङ्गमै अधिस्थापित गर्नु उपयुक्त रह्यो । आफ्नो सार्वभौम स्वरुपको विपश्यना–विज्ञानलाई दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमध्ये कुन अङ्गअन्तर्गत राख्ने ? जबकि वैज्ञानिक ढङ्गले विश्वलाई हेर्ने, बुझ्ने र मुख्यतः बदल्ने अजेय मार्क्सवाद–लेनिनवाद–माओवादमा मानिसको भित्री मनबारे अध्ययन गर्ने विज्ञानको सर्वथा अभाव छ । चौथो संघटक अङ्गको स्थानमा विपश्यनाले यसरी त्यसको सशक्त आपूर्ति गर्दछ । यसो भनिरहँदा नै विश्व सर्वहारावर्ग र प्रगतिशील युवाहरुको प्रज्ञा प्रज्वलित भइरहेको अनुभूत हुन्छ ।

२०७६ बैशाख २४, काठमाडौं

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्