बाबुराम–उपेन्द्र एकीकरणको दृश्य भद्दा लाग्यो-मदन राई (भिडियोसहित)

अन्तर्वार्ता

काठमाडौं । कृषि वैज्ञानिक मदन राई नयाँँ शक्ति पार्टीका नेता पनि थिए । नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकता हुँदा नेता राईलाई दृश्यमा देख्न सकिएन । पार्टी एकता भरहँदा उनी कहाँ गए त ? यो विषयमा नेपालआजसँग नेता राईले खास खुलासा गरेका छन् ।

उनले नयाँँ शक्तिमा हुँदा पनि खासै सक्रिय जिम्मेवारी लिएका थिएनन् । उमेर र विज्ञताको दृष्टिले उनलाई पार्टीले संगठनको खास काम दिएको थिएन । उनी आफैं पनि अभिभावकीय भूमिकामा रहन रुचाउथे ।

यसपटक पार्टी एकता भयो । एक सिटे नयाँ शक्ति अब सत्तारुढ दलमा रुपान्तरण भएको छ । नेता राई अहिले कृषि र राजनीतिलाई पछाडि राखेर अहिले शिक्षामा ध्यान दिइरहेका छन् ।

ललितपुर नक्खीपोटस्थित नेता राईकै कृषि नमुना घरमा गरिएको कुराकानीका क्रममा उनले आफू खोटाङमा हुँदा नै काठमाडौंमा पार्टी एकता भएको जानकारी दिए । संघीय समाजवादीको हतारोका कारण पार्टी एकता चाँडो भएको उनले उल्लेख गरे । यो एकता प्रक्रियामा विदेशी शक्तिको भूमिकालाई उनले अस्वीकार गरे ।

उनले आफू एन्टी कम्युनिष्ट भएको उल्लेख गरे । पार्टी एकताको क्रममा आफ्नै घरमा बेग्लै भेला भएको स्वीकार गरे । तर उनले आफू नेकपामा जाने कुनै तयारी नभएको स्पष्ट पारे ।

पार्टी एकताको दृश्य भद्दा रहेको राईले टिप्पणी गरे । भेलामा नेता र कार्यकर्ता भन्दा पनि मालिक र नोकरको जस्तो वर्ग देखिएको उनको ठहर छ ।

नेता राई बाबुराम भट्टराईका ठूला प्रशंसक पनि हुन् । उनले बाबुराम भट्टराई जति ज्ञानी कोही नभएको दावी गर्छन् । उनी भन्दा ज्ञानी र सक्षम अर्को कोही व्यक्ति भेटिएमा उनी उसकै पछि लाग्ने खुलेरै भन्छन् । उनी भन्छन् । ‘म त छेपारे हुँ, दहीचिउरे पनि हुँ ।’